धादिङमा भारतबाट आएका २५ जना क्वारेन्टाइनमा
धादिङ : तीन दिनअघि भारतबाट फर्किएका नीलकण्ठ नगरपालिका ६ भोर्लेका ९ युवा सदरमुकामको क्वारेन्टाइनमा भर्ना भएका छन् । भारतमा कोरानाको संक्रमण फैलिएको र त्यहाँबाट आउनेमा पनि कोरोना लागेको हुनसक्ने आशंकामा उनीहरुलाई क्वारेटाइनमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु प्रसाद रिजालले बताए ।
त्यस्तै भारतबाटै आएका धादिङको गोगनपानीका १६ युवालाई गल्छि गाउँपालिका ६ बैरेनीमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । १६ जना युवामध्ये एकजनालाई ज्वरो आएपछि सबै जनालाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद ज्ञवालीले जानकारी दिए ।
उनीहरु सबैलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिनेछ । क्वारेन्टाइनमा राखिएका युवालाई खानाको व्यवस्था गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ।
धादिङ जिल्लाका सबै स्थानीय तहले आफ्नो मातहतका स्वास्थ्य चौकी र विद्यालयमा बाहिरी जिल्लाबाट आएका र विदेशबाट आएकालाई निगरानीमा राख्नको लागि क्वारेन्टाइमा वार्ड बनाएका छन् । ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोद तिमल्सेनाले भने, 'पालिकाका ७ वटै वार्डका एउटा-एउटा विद्यालयमा क्वारेटाइन कक्ष बनाएका छौँ, आफ्नो वडा तथा गाउँमा कोही विदेशबाट आएका भए तत्काल क्वारेन्टाइनमा ल्याउन वडा सदस्य, स्वास्थ्यकर्मी र स्वयसेविकालाई खबर गरेका छौँ ।'
जिल्ला सदरमुकाममा बनाइएको क्वारेन्टाइन।तस्बिर : अन्नपूर्ण