कोरोना संक्रमित युवतीसँगै आएका दोलखाका दम्पत्ती प्रशासनको सम्पर्कमा
चरिकोट : नोबेल कोराना भाइरस (कोभिड–१९) को पुष्टि भएकी किशोरीसँगै कतार एयरवेज विमानबाट नेपाल फर्केका दोलखाका २ जना काठमाडौं र दोलखा प्रशासनको सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आएका दुवैजना श्रीमानश्रीमती भएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।
नेपाल प्रहरीको साइबर क्राइम व्युरोले दुबैजनाको मोबाइल लोकेसनको ट्राभल हिस्ट्री र टावर कनेक्टिङ हिस्ट्रीलाई ट्रयाकिङ गर्दा उनीहरू दोलखा प्रवेश नगरेको दोलखाका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
प्रजिअ शर्माका अनुसार दुबैजना भक्तपुरको काँडाघारीस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरुमा कोरोना भाइरसको संक्रमणको कुनैपनि लक्षण नदेखिएको प्रजिअ शर्माको भनाई छ ।
उनीहरु दुबैलाई काठमाडौ प्रशासनले आफ्नो निगरानी र सम्पर्कमा ल्याई बिहीबार परीक्षण समेत गराउने तयारी गरेको प्रजिअ शर्माले जानकारी दिए ।