सेल्फ क्वारेन्टाइनमा किताब

सेल्फ क्वारेन्टाइनमा किताब

काठमाडौं : कोरोनाका कारण देश लकडाउनसँगै राजनीतिक दलका नेताहरू घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’ मा छन्। दिनहुँ औपचारिक कार्यक्रम र भेटघाटमा व्यस्त रहने नेताहरू घरभित्रै सीमित हुँदा दिन कसरी कटाउँदै होलान् ? अधिकांश नेता र उनीहरूका सचिवालयमा कार्यरत सहयोगीहरू भन्छन्, ‘शारीरिक व्यायाम, योग गरेर अनि पुस्तकहरू अध्ययन गरी समय कटाइरहेका छन्।’

प्रधानमन्त्री केपी ओलीको राजनीतिक भेटघाट ठप्प छ। उनी महत्वपूर्ण निर्देशन टेलिफोनबाटै दिन्छन्। उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पुनः मिर्गाैला प्रत्यारोपणपछि आरामकै अवस्थामा रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमै कोरोना संक्रमित देखापरेपछि बालुवाटारमा भेटघाट बन्द गरेका छन्। प्रधानमन्त्री निवासको ३ नम्बर गेटमै ज्वरो नापेर, स्यानिटाइजर प्रयोग गरेर मात्र भित्र प्रवेश गर्न दिइन्छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी उच्च सतर्कता अपनाइएको प्रेस सल्लाहकार थापाले बताए।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले लकडाउनअघि नै भेटघाट बन्द गरेका थिए। उनी एक सातायता घरमै बसेका छन्। उनी इतिहास, राजनीतिक अर्थशास्त्र, साहित्य र दर्शनसँग सम्बन्धित किताब अध्ययन गर्ने, घरमै साइकल चलाउने, टेबलटेनिस खेल्ने र परिवारका सदस्यसँग समय बिताइरहेका छन्। प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार यसबीच अध्ययन गर्न दाहालले भ्याएका थिएनन्। ‘उहाँ राजनीतिक अर्थशास्त्रसँग सम्बन्धित किताब अध्ययनमा व्यस्त हुनुहुन्छ’, सापकोटाले भने, ‘अध्यक्षज्यूको दैनिक ६–७ घण्टा नै अध्ययनमा व्यतीत हुन्छ।’

खुमलटारस्थित दाहाल निवासको गेटमै साबुनपानी राखेर हात धुने व्यवस्था छ। ढोकापिच्छे पनि स्यानिटाइजर राखिएको छ। दाहालपत्नी सीताको बिरामीका कारण पनि उच्च सतर्कता अपनाइएको उनले सुनाए।

कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनपछि भेटघाट बन्द गरेका छन्। उनका सहयोगी भानु देउवाका अनुसार देउवाले पुस्तक पढ्न थालेका छन्। देउवा बढी राजनीति, समाजशास्त्रसम्बन्धी पुस्तक पढ्न रुचाउँछन्।

नेकपा वरिष्ठ नेता झलनाथ खनाल इतिहाससम्बन्धी ‘होमोसेपेन्स’ नामक पुस्तक अध्ययनमा व्यस्त छन्। मान्छेको उत्पत्ति कसरी भयो भन्ने विषयमा लेखिएको पुस्तक अध्ययन गरिरहेको नेता खनालले अन्नपूर्णसँग बताए। उनले अन्य किताब पनि अध्ययनका लागि जम्मा गरेको जानकारी दिए। ‘मसँग अरू किताब पनि छन्, ती क्रमशः समय पाउँदासम्म अध्ययन गर्ने योजना बनाएको छु’, उनले भने।

नेकपाकै अर्का वरिष्ठ नेता माधवकुमार नेपाल पनि ढाकाराम सापकोटाले लेखेको ‘नेपालका कम्युनिस्ट प्रधानमन्त्रीहरू’ नामक पुस्तक अध्ययन गरिरहेका छन्। उनी केही समय कम्प्युटरमा पनि टहलिने गर्छन्। उनको पनि बाह्य भेटघाट बन्द छ। अत्यावश्यक व्यत्तिासँग टेलिफोनमा सम्पर्क गर्छन्।

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने बालकृष्ण पोखरेलले लेखेको ‘खस जातिको इतिहास’ पुस्तक अध्ययनमा छन्। अध्ययनमा रुचि राख्ने नेता भट्टराई हातमा किताब र गोजीमा स्यानिटाइजर बोकेर बस्ने गरेका छन्। अध्ययनबाट मन बहलाउन उनी पत्नी हिसिला यमीसँग फिल्म हेर्छन्। लकडाउनपछि ‘गुड न्युज’ फिल्म सँगै बसेर हेरेको यमीले बताइन्। उनी पनि अध्ययन गर्न रुचाउने नेतृ हुन्। योग गर्ने, शारीरिक व्यायाम गर्ने, समय मिल्दा फिल्म हेरेर दैनिकी बिताइरहेको उनको भनाइ छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने हकिङसदेखि योगप्रसाद उपाध्यायको बायोग्राफीसम्मका पुस्तक पढिरहेका छन्। अबको अर्थ व्यवस्था कस्तो हुने भन्नेमा पनि उनले अध्ययन गर्न चाहेको बताएका छन्। ‘कोरोना महामारीले विश्व अर्थव्यवस्थामा के होला भन्ने चिन्ता बढेको छ’, उनले भने, ‘यसबारे पनि अध्ययन गर्ने गरी अर्थ राजनीतिको चिन्तनबारे अध्ययन गर्ने सोचिरहेको छु।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सद्गुरुको डेथ र दीपक चोपडाको मेटा हुयम्यान नामक किताब पढ्ने योजना बनाएका छन्। यी दुई किताब पहिलो चरणमा श्रेष्ठका रोजाइमा छन्। श्रेष्ठ अधिक किताब पढ्ने नेतामध्ये पर्छन्। अन्य दोस्रो पुस्ताका नेता पनि पुस्तक पढ्ने सामाजिक सञ्जाललाई नियाल्ने गरेको बताएका छन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.