फुर्सदमा डिजिटल लाइब्रेरी
काठमाडौं : कोरोना भाइरसको संक्रमणले गत सातादेखि सबै विद्यालय बन्द छन्। विद्यालय जाने केटाकेटी घरमा रहँदा अभिभावकलाई पनि तनाव छ।
छोराछोरीहरूलाई रचनात्मक गतिविधिमा कसरी संलग्न गराउने भन्ने पीर धेरै अभिभावकहरूमा होला। अनि बालबालिका पनि कहिले कोरोनाको डर सकिएला? स्कुल लाग्ला र साथीभाइहरूसँग गफ गर्न पाइएला भनेर औंला भाँचिरहेका होलान्।
विद्यालय बन्द रहेको हालको अवस्थामा केटाकेटीका लागि डिजिटल लाइब्रेरी रामबाण हुन सक्छ। द एसिया फाउन्डेसनले ‘डिजिटल लाइब्रेरी’ को एप २०१७ सेप्टेम्बरबाट ल्याएको हो। बुक फर एसियाकी प्रबन्धक समिरा राजभण्डारी श्रेष्ठका अनुसार ‘लेट्स रिड’ नामक् एप डाउनलोड गरेपछि यसमा अफ लाइनमा पनि भिजिट गर्न सकिन्छ। ‘डिजिटल लाइब्रेरी’मा हाल करिब तीन हजार एक सय पुस्तक छन्। जसमा करिब दुई सय नेपाली पुस्तक रहेका छन्।
कलंकीकी अनु सिग्देलले भन्छिन्, ‘छोराछोरीलाई सिर्जनात्मक बनाउन आउट कोर्सको पुस्तक निकै महत्वपूर्ण छ। तर सबै किन्न सकिँदैन, न त स्कुलले जुटाउन सक्छ। यस्तोमा निःशुल्क पढ्न पाइने डिजिटल लाइब्रेरी महत्वपूर्ण छ। अहिले कोरोनाका कारण घरमै बस्नु पर्दा मेरो छोराले डिजिटल लाइब्रेरीमा बालकथा पढिरहेको छ।’
डिजिटल लाइब्रेरीमा प्रायः अंग्रेजी भाषाका बालपुस्तक छन्। भाषामा ज्ञान हुनेहरूको लागि भने यसमा एसियाका लाओस, थाइल्यान्ड, भियतनामलगायत देशका १६ भाषाका पुस्तक उपलब्ध छन्। कतिपय नेपाली भाषाका किताब अंग्रेजीमा पनि पढ्न सकिन्छ। यसको विशेषता भनेकै कुनै मौलिक भाषाको कृति छानेर आफू अनुकूलको भाषामा पढ्नु हो। जस्तो कि दुर्गालाल श्रेष्ठका बालगीतका पुस्तकहरू नेवारी, नेपाली र अंग्रेजी भाषामा उपलब्ध छन्। नेवारी र डगौरा थारु भाषाका करिब एक सय पुस्तक पनि डिजिटल लाइबे्ररीमा राखिएको छ। बुक फर एसियाकी प्रबन्धक समिराका अनुसार अब नेपालका अन्य भाषाका पुस्तक पनि डिजिटल लाइबे्ररीमा राखिनेछ।
डिजिटल लाइबे्ररीमा १५ वर्ष मुनिकालाई लक्षित गरी लेखिएका बालपुस्तक यहाँ छन्। इन्टरनेट राम्रो नभएको हिमाली जिल्लाका शिक्षकहरूले डाउनलोड गरी प्रिन्ट गरेर पनि यी पुस्तक प्रयोग गर्ने सुविधा दिइएको छ।
‘लेट्स रिड’ले डिजाइन गरेको एउटा पोस्टरमा नारा छ : लेखौं, लेखौं, लेखौं। प्रश्नहरू सोधौं। वरिपरि शब्दहरूले घेरौं। पुस्तकहरूको बारेमा कुरा गरौं। कतिपय बालबालिका अभिभावकका मोबाइलमा गेम हेरेर मात्रै समय बिताउँछन्। तिनका लागि ‘लेट्स रिड’ को डिजिटल लाइबे्ररी निकै उपयोगी हुन सक्छ। सिर्जनात्मक ज्ञानको लागि यसमा अभिभावकहरूले पनि सघाउनु पर्छ।
स्टोरी टाइम इन् नेपाल
त्यस्तै, कोरोनाका कारण बालबालिका घरमै थुनिएपछि ‘स्टोरी टाइम इन् नेपाल’ले ‘फेसबुक लाइभ’ मार्फत उनीहरूका लागि हरेक दिन कथा सुनाउने भएको छ। मंगलबारदेखि हरेक दिन दिउँसो ३ बजे लेखक तथा कथाकारले ‘फेसबुक लाइभ’ मार्फत आफूलाई मनपर्ने कथा सुनाइरहेका छन्।
‘स्टोरी टाइम इन् नेपाल’को फेसबुक पेजमा पहिलो कथा कवि तथा सञ्चारकर्मी रूपेश श्रेष्ठले कथा सुनाएका छन्। त्यस्तै, माया थापा, यशु श्रेष्ठ, शाश्वत पराजुली, मोनिका प्रधान, कृष्णदीप सिग्देल, चैतलक्ष्मी श्रेष्ठ, ध्रुव घिमिरे, राजीवधर जोशीलगायतले पालैपालो कथा वाचन गर्नेछन्। कथावाचन अवधि आधा घण्टाको हुनेछ।
कार्यक्रम संयोजक राजीवधर जोशीका अनुसार यसअघि ‘स्टोरी टाइम इन् नेपाल’ फेसबुक पृष्ठमा ‘कथालय’ले कथावाचन गतिविधिका भिडियो राख्दै आएको थियो। विद्यालय बन्द भएका बेला कथावाचन गतिविधि उपयोगी हुने आयोजक आशारत छ।