कोरोना त्रास र नेपाल
रोगले न बूढो बुझ्छ न त बालक, कोरोना संसारव्यापी त्रासको विषय बनेको बेला पैसाको मात्र के काम ?
एक मित्रले गुनासो पोखेका थिए, ‘हाम्रो मुलुक कहिल्यै नबन्ने भयो।’ यो गुनासो पोखेको पनि करिब ४० वर्ष भयो। त्यतिबेला उनको यो भनाइ सुन्दा मेरो मन कुँडिएर आएको थियो। त्यतिबेला लागेको थियो, ‘प्रजातन्त्र र जनसहभागिताको सरकार भए त विकास स्वतः भइहाल्छ। उनले किन त्यस्तो तिक्तता पोखेको होलान्।’
नेपालमा विकास नहुनुको पहिलो कारण लोकतान्त्रिक सरकार नभएरै होलाजस्तो अनुभूति हुन्थ्यो। २०४७ पछि जनताद्वारा निर्वाचित सरकार गठन भयो। यतिका वर्ष बिते तर मुलुकको विकासले कछुवाको गतिलाई उछिन्न सकेन। हामीसँगसँगै स्वाधीन भएका मुलुकले ठूलो फट्को मारिसके तर हामी जहाँको तहीं। मेरा मित्रलाई तत्काल रिस उठेर त्यस किसिमको अभिव्यक्ति दिनुपर्ने कारण रहेछ उनको कारखानाको एक कर्मचारीको गतिविधि। ती कर्मचारीका बाबुको बारम्बारको अनुरोधमा ठाउँ खाली नहुँदानहँुदै पनि उनले तत्कालीन अवस्थामा प्रतिमहिना दुई हजार पाँच सयको दरले बेतन दिने गरी उसको छोरालाई काममा लगाइदिएका रहेछन्। महिना पुगी रकम पाएको भोलिपल्ट ती कामदारले १५ सयको जुत्ता र एक हजारको पेन्ट लगाएर काम गर्न आएछ। ती मित्रले भने सिंगो परिवारलाई सहयोग हुन्छ भनेर नोकरी दिएका रहेछन्।
यतिखेर मलाई त्यही कुराको स्मरण हुन्छ। मुलुक विकासको गति जुन रफ्तारमा चल्नुपथ्र्यो त्यसअनुसार चल्न सकेन। हामीजस्ता उमेर पुगेकाको बाँच्ने दिनको गन्ती हुन लागिसकेको छ। त्यसो त नेपालीमा एउटा भनाइ प्रचलित छ, ‘मरेपछि जोसुकै राजा होस्।’ हरेक मुलुकको आआफ्नो चरित्र हँुदोरहेछ। त्यही चरित्रले मुलुकको विकास हुने÷नहुने निर्धारण गर्दो रहेछ। मुलुक विकासको निम्ति शासक मात्र पनि एउटा तत्व होइन रहेछ। मुलुकको उत्थानमा नागरिकको पनि ठूलो भूमिका हुँदोरहेछ। द्रुत विकासको निम्ति अर्को पहिचान रहेछ आम जनताको चरित्र, स्वभाव, जुझारुपन, परि श्रम, मुलुकप्रतिको निष्ठा, माया, आस्था र समर्पण। त्यसको एउटा उदाहरण हो, इजरायल। यहुदीहरूले इजरायल बनाउने क्रममा विदेशबाट फर्कंदा माटो बोकेर ल्याउँथे अरे। आज त्यो मरुभूमि राष्ट्र तरकारी उब्जाएर निर्यात गर्छ। हाम्रो पहिचान भनेको भूपरिवेष्ठित राष्ट्र हनु पनि हो। यस्ता प्रकृति भएका राष्ट्रको विकास हुने÷नहुनेमा छिमेकी राष्ट्रको पनि महत्वपूर्ण भूमिका रहन्छ। संसारमा हाम्रो मुलुक मात्र भूपरिवेष्ठित होइन अरू धेरै राष्ट्र पनि छन्। तथापि ती राष्ट्र हाम्रोभन्दा राम्रो विकास गर्न सफल छन्। हाम्रो अर्को पहिचान हो, युवा विदेशी सेनामा भर्ती हुने। जो नेपाली युवाको रोजगारीको मार्ग बनेको छ।
आजभोलि अधिकांशको पेसा अन्यत्र विदेशी भूमिमा वैदेशिक रोजगारमा जानु हो। नेपाल सरकारले त्यही रोजगारबाट प्राप्त हुने विप्रेषणलाई लिएर गौरव पनि गर्दै आएको छ। परिणामतः बिदेसिएको नेपालीको हैसियत यस देशको नागरिकता हो तर रोजीरोटीको सवालमा उसले विदेशी भूमिमा आत्मनिर्भर हुनुपर्छ। तिनका परिवार नेपालमा हुन्छन्, बसोबासको भूमि यहीं हुन्छ तर जीउनका निम्ति उसले वैदेशिक रोजगार नामक पेसामा निर्भर हुनैपर्छ। यसरी शरीरमा ताकत भएसम्म नबिदेसिए परिवारको मुखमा माड लाग्दैन। त्यसैले आम युवा बिदेसिन विवश छन्। नेपालको प्राकृतिक सौन्दर्य हेर्दा अरूका निम्ति स्विजरल्यान्ड देखिए पनि यहाँका जनताको भोको पेटले कहिले महसुस गर्न पाउँदैन। नेपाली युवाले बिदेसिने परिपाटी उहिलेदेखिकै हो। पुरानो समयदेखि हाम्रा मानिस मुगलान रोजगारीको निम्ति जान थालेका हुन्। जंगबहादुर राणाले मुलुकको अस्तित्व कायम राख्न ब्रिटिसलाई खुसी पार्ने हेतुले नेपाली युवा सुम्पिएकै कारण ती ब्रिटिस सेनामा भर्ती भएर गएका हुन्। त्यसबेलादेखि गल्लावाला भर्तीका लागि गाउँगाउँ धाउन थालेका हुन्। त्यसबेला नेपालमा रोजगारीको अभाव हुँदा नेपाली युवाले १५ वर्षको उमेरमै ढाँटेर पनि ब्रिटिस सेनामा भर्ती भएर लड्दा लड्दै सहादत प्राप्त गरे तर अरूकै लागि। अहिले पनि यो क्रम जारी छ। बेलाबेलामा मृत्युको खबर पनि सुन्नुपर्छ। अरूका निम्ति इमानदारीपूर्वक लड्ने अनि उसले दिएको रासन र दानापानीले नेपालमा जहानपरिवार पाल्नुपर्ने वाध्यता हुन्छ।
म धरानमा बसेको बेला एक सेवानिवृत्त ब्रिटिस सेनाले भन्ने गर्दथे—बहिनी अब हामी त जवानी जति अरूका निम्ति खर्चेर बुढेसकाल यता बिताउन आउने त हो नि। जब अशक्त भइन्छ अनि मुलुकले हामीबाट के सेवा पाउने ? नेपाली हिजोआज भारतीय सेनामा पनि जान तँछाडमछाड गर्छन्। एक परिचितले आफ्नी पत्नीको माखो मुन्द्रो सबै बेचेर भारतमा आफ्ना डिप्लोमा पास गरेको भाइलाई भारतीय गोर्खा सेनामा भर्ती गर्न भनी लिएर जानै लागेको बेला मैले तिनलाई सोधें। होइन तपाईंको भाइ त पढेकै छन्, बरु रोजगारी नेपालमा खोज्नु नि। उनले भने, के काम पाउँछ र यहाँ ? मैले भनें, होइन भारतमा लडाईं भइरहन्छ काश्मीरको बोर्डरतिर पुगियो भने त आतंककारीले गर्दा मर्न÷मारिन सकिन्छ। मैले उनीसँग फेरि अर्को प्रश्न राख्ने आँट गरिनँ। मनमा दोस्रो प्रश्न पनि आएको थियो— भाइ मारिन पनि सक्छ भन्ने चिन्ता लाग्दैन ? उसले मेरो पहिलो प्रश्नको जवाफ यसरी दिएको थियो, आम्मै.....! के कुरा गरेको युद्धमा मर्यो,आतंककारीले मारिदियो भने त झन्डै एक सवा करोडभन्दा बढी नगद पैसा नै आउँछ। परिवारलाई कति सुविधा दिन्छ कति भारत सरकारले।
यही कारणले हामीमा मुलुकप्रति जिम्मेवारी बन्ने सोचको विकास नभएको त होइन ? राणा र पञ्चायतकालको कुरा छाडौं देशमा बहुदल आएको पनि तीस वर्ष जति भयो, कुनै पनि सरकारले आजसम्म नेपालीलाई आफ्नै मुलुकमा रोजगारीको व्यवस्था गर्न सकेन।
सरकारले लकडाउन गरे पनि हामीले आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ, अत्यावश्यकबाहेक कुनै काममा बाहिर ननिस्किँदा हाम्रै भलो हुनेछ।
आजभोलि हाइस्कुल पास गरेपछि नै विद्यार्थी नेपालमा बस्न र पढ्न चाहँदैनन्। यहाँको आम मानिस वैदेशिक रोजगारबाट मात्र घरव्यवहार सुिध्रन सक्छ भन्ने धारणा राख्छन् र उसको पहिलो लक्ष्य हुन्छ— रोजगारीका लागि विदेश जानु। त्यहाँ रोजगारी गर्न जाने ९० प्रतिशतको घरव्यवहार बिग्रेको छ भने बाँकीको सुधार। महिला पुरुष मारिएका छन्, दुर्घटनामा परेको कारण अझ परिवारको निम्ति तिनै रोजगारीमा जाने व्यक्ति कतिपय अवस्थामा स्वयं बोझ बनेका छन्। तापनि त्यहीं नगए जीवन नै नचल्ने आम मानिसको अवधारणा पाइन्छ। यसरी बराबर बिदेसिएकै कारण मुलुकप्रतिको माया र जिम्मेदारीबाट विस्तारै पलायन भएको देखिएको छ।
संसारभर कोरोना भाइरसको बिगबिगी छ। संसारको १८० बढी देशमा यो महामारी फैलिएको छ। मृतकको संख्या एघार हजार नाघिसकेको छ र तीन लाख बढी मानिस संक्रमित छन्। यो महामारी चीनबाट सुरु भयो। फैलिँदा पनि धनी÷गरिब राष्ट्र केही नभनी सर्वत्र फैलिएको छ। कतिपय मुलुकमा नागरिक चेतनशील छन्। त्यहाँ सफासुग्घर पनि त्यत्तिकै हुन्छ। वातावरण हाम्रोभन्दा स्वच्छ पनि छ। पढेलेखेका मानिसको बाहुल्य भएको मुलुकमा नै प्रथमतः भयावह हुनेगरी संक्रमण व्यापक रूपमा देखियो। संसारमा यस्ता किसिमको प्रकोप कोरोना मात्र होइन कयौं पटक अन्य महामारी आएका छन्। कहिले प्लेग, हैजा, स्वाइन फ्लु, इवोला र कहिल बर्ड फ्लुजस्ता अनेक रोग आएकै हुन्। जसलाई मानव जातिले जितेरै अघि बढ्दै आएको छ। मलेरिया, फाइलेरिया, हात्तीपाइले, शीतला माइ, चेचक, हैजा र स्वाइन फ्लु त नेपालले पटकपटक बेहोरेर जित्दै आएको हो। बेलाबेला ती रोगले पटकपटक दोहोरिएर÷तेहेरिएर हमला गरेका पनि छन्। औषधी बनेकाले ती महामारी उपचारबाट निको बनाउन सम्भव भयो। कोरोनाको औषधी अहिलेसम्म बनेको छैन। सर्वत्र चर्चा छ, अहिलेसम्म पशुपतिनाथको कृपाले नेपाली बचेका छन्। तर विदेशबाट आएकी एक नागरिकमा देखिएपछि त्रास बढेको छ।
चीनले विस्तारै रोगसँग लड्ने क्षमता बढाएकाले क्रमशः मत्थर हुँदै गएको छ भने भारतमा बढ्दै गएको छ। नेपालमा पनि यसको असर पर्न थाल्यो भने यो महामारीको हमलालाई थेग्न सक्ने तागत नेपालीसँग हुने छैन। किनकि हामीमा विगतका घटनाबाट शिक्षा लिने बानी छैन। ०७२ मा भूकम्प आयो। झन्डै एक प्रकारले त्यो प्रलय नै थियो। नौ हजारभन्दा बढीले ज्यान गुमाए। त्यो प्रलयले दिएको पीडाले गर्दा करिब त्यसबेला जनतामा एकता कायम भएको थियो। तसर्थ आम जनताबीच आपसी सहयोगी भाव देखिएको पनि थियो। हुनेको कुरा छाडांै, नहुनेले पनि भएसम्म नुनको ढिक्कोसम्म पनि फोडेर बाँडेका थिए। दुःखमा एकअर्कालाई साथ दिए र सहयोग गरे तर अहिले त्यो ०७२ को दुःखका दिनलाई सबैले चटक्क बिर्सिएका छन्।
हुन त ०७२ को भूकम्पमा सत्तामा हुने र तिनीहरूको नजिक हुनेले चारआनालाई बाह्र आना बनाउन छोडेका थिएनन्। पाल र अन्य आवश्यक सामग्री खरिदमा बेइमानी, बाहिरबाट आएको सहायता राशीमा घोटाला, विदेशबाट आएको वस्तुगत र सहयोगलाई वितरण नगरी सडाएर नष्ट गर्नेजस्ता नकारात्मक क्रियाकलाप भएकै हुन्। जुन मुलुकमा दैविक प्रकोप पर्दा वा महामारी हँुदा कात्रोको पनि व्यापार हुन्छ, त्यहाँ अरू कुराको के आशा गर्ने ?
हाम्रो पहिलो कर्तव्य कोरोना भाइरसलाई भरसक प्रवेश गर्न नदिनु थियो तर प्रवेश भइसकेकाले अब त्यसलाई फैलिन नदिन सबैले आआफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आवश्यक छ। व्यापक फैलियो भने हामीले त्यसलाई नियन्त्रणमा ल्याउन ठूलो मूल्य चुकाउनुपर्ने छ। पूर्वाधारको नाममा हामी गाउँगाउँसम्म सहयोग पुर्याउन सक्ने छैनौं। हामीसँग पर्याप्त मात्रामा यस्ता सरुवा रोगसम्बन्धी अस्पताल छैनन्,सम्बन्धित विज्ञ चिकित्सकको अभाव छ, औषधी पुर्याउन सकिन्न। तसर्थ सकेसम्म सञ्चारमाध्यम, र अनलाइनमार्फत यसबाट बच्ने उपायका बारेमा शिक्षा दिने सफासुग्घर भई बस्ने, भिडभाडमा आवातजावत नगर्ने, खानपानमा पानी र झोलपदार्थ धेरै खाने र साबुन पानीले हात धुने। सरकारले लकडाउन गरे पनि हामीले आआफ्नो कर्तव्य पूरा गर्नुपर्छ। अत्यावश्यकबाहेक कुनै काममा बाहिर ननिस्किँदा हाम्रो भलो छ।
स्यानिटाइजर र मास्कको तस्करी र उच्च दाममा बिक्री र बजारमा आवश्यक वस्तु लुकाउने आदि जस्ता कार्य मरेमाथि कात्रोको व्यापार भनेजस्तै भएकै छ। जबजब आमजनताबीच संकटको अवस्था आउँछ त्यतिखेर तस्कर र माफिया सल्बलाउँछन् र मुर्दामाथि पनि व्यापार गर्न सुरु हुन्छ। किनकि उनीहरूलाई न जनतासँग माया हुन्छ न त मुलुकसँग।
उनीहरूको एकसूत्रीय धर्म भनेको सक्दो लाभ बटुल्नु हो। तर फेरि रोग त रोग हो, त्यसले न बूढो बुझ्छ न त बालक। संसारै मरेको अवस्थामा पैसाको के काम ? संसारलाई रोग भएको बेला महामारीले यो पैसावाला रहेछ यसलाई चाहिँ संक्रमण नगरी छोडांै भनेर छोड्नेवाला छैन। तसर्थ चाहे सरकारले होस् वा समाजका जानिफकार मानिस किन नहुन् तिनले मुलुकभित्रका तीन करोड जनताको जीवन जोगाउन हरेक प्रयास गर्नुपर्छ।