कहिले अन्त्य होला कोरोना कहर
काठमाडौं : ‘कोरोना भाइरसको महामारी कहिले शान्त होला ? ’ यो गम्भीर प्रश्न र जिज्ञासा पेचिलो बन्दै गएको छ। विश्वभरका मानिस यसैको जवाफ खोजिरहेका छन्। विज्ञ र नेताहरू यसको उपचारका उपाय खोजिरहेका छन्।
एलर्जी तथा सरुवा रोग विशेषज्ञहरू यो संक्रमण झन् खराब बन्दै जाने बताउँछन्। विश्व स्वास्थ्य संगठनका सदस्य वाल्टर रिकिआर्दीका अनुसार यही समर सिजनमा सामान्य जीवनशैली फिर्ता हुनेछ। वाल्टरसँगै केही विज्ञले यो महामारीलाई दुई दशकअघिको सार्स महामारीसँग तुलना गरेका छन्। जुन महामारी जुन महिनासम्म अन्त्य भइसकेको थियो।
कोरोना भाइरस गर्मीयाममा फैलन नसक्ने पनि विज्ञहरूको तर्क छ। सोही अनुरूप एकीकृत रूपमा काम गरेमा यो गर्मी मौसमभरि कोरोना भाइरसको महामारी अन्त्य हुन सक्ने विज्ञहरूको सुझाव छ।
तर, यी विश्लेषणका पछि खास प्रमाण र वैज्ञानिक आधार भेटिएका छैनन्। ‘यूएस एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट्स ग्लोबल हेल्थ सेक्युरिटी एन्ड डेभलपमेन्ट युनिट’का पूर्वनिर्देशक तथा अमेरिकी विज्ञ डेनिस कोर्रोल यस्ता टिप्पणीलाई राजनीतिक अभिव्यक्ति मात्रै ठानेका छन्।
साथै, कोरोना भाइरसको अवधिलाई चीनको वुहानमा कति समयसम्म टिक्छ भन्ने कुराले निर्धारण गर्ने बताउँछन् डेनिस। चीनमा संक्रमणले चरम रूप पार गरिसकेको छ। तर, नयाँ संक्रमण पनि देखिने क्रम जारी छ। तैपनि, मौसमी गिरावट आउनसक्नेमा विज्ञहरू सहमत छन्।
मे महिनासम्म सामान्य जीवनशैलीमा फर्कने पनि विज्ञहरूको भनाइ छ। त्यसो त मेमा पनि अन्त्य हुने पनि अनुमान मात्रै हो। बटलर विश्वविद्यालयका पब्लिक हेल्थ स्पेसलिस्ट तथा सहप्राध्यापक ओग्बोन्नाया ओमेन्काका अनुसार प्रायःजसो फ्लु चिसो मौसममा सुरु भएर गर्मी मौसममा अन्त्य हुन्छन्। विज्ञहरू कोरोना भाइरस पनि यही नियमअनुसार चल्नेछ भन्नेमा आशावादी छन्।
अस्ट्रेलिया भने गर्मी मौसमका बाबजुद कोरोना भाइरसको सामना गरिरहेको छ। यसबाहेक अफ्रिकी मुलुकमा समेत संक्रमण देखिन थालेको छ। फिजिसियन तथा अमेरिकी प्राध्यापक मेलिस्सा नोलन पनि रिकिआर्दीको विश्लेषणमा सहमत छिन्।
उनका अनुसार अप्रिल अन्त्य र मेको सुरुसम्म संक्रमणले चरम रूप लिइसक्नेछ। विभिन्न मुलुकले चालेका कडा कदमले न्यूनीकरण हुनेमा उनको विश्वास छ। तर, कोरोना संक्रमण कहिलेसम्म फैलनेछ भन्ने कुरालाई दैनिक व्यवहार र आनिबानीले निर्धारण गर्ने अधिकांश विज्ञ सहमत छन्।
साथै, यस्तो अवस्थाप्रति आममानिसको व्यवहार र चलाखीले पनि संक्रमणको आयु घटाउने विज्ञहरूको भनाइ छ।
०००
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको प्रभावलाई १२ हप्ताभित्र बदल्नसक्ने प्रभाव दिएको पनि एक हप्ता भयो। बीबीसीका स्वास्थ्य तथा विज्ञान संवाददाता जेम्स ग्यालागरले आफ्नो बीबीसीको रिपोर्टमा भनेका छन्, ‘आगामी तीन महिनामा संक्रमणको संख्यामा कमी आउन थाले पनि त्यसको अन्त्यभन्दा निकै टाढा हुनेछौँ। यसको प्रभाव अन्त्य हुन निकै समय लाग्न सक्छ। सम्भवतः वर्षाैं लाग्न सक्छ।’
जेम्सका अनुसार हाल अपनाइएको प्रतिबन्धहरूको रणनीति दिगो हुन नसक्ने र यसले सामाजिक र आर्थिक क्षति डरलाग्दो हुनेछ। कोरोना भाइरसबाट निकासको खोजी विश्वभर भए पनि उपाय निस्किसकेको भने छैन। साथै, यो लोप हुने कुनै लक्षण पनि देखिएको छैन।
तत्कालका लागि केही निकासका उपाय भेटिए पनि दिगो समाधान नै होला कि नहोला भन्ने यकिन छैन। युनिभर्सिटी अफ एडिनबरा सरुवा रोगका प्राध्यापक मार्क वुलहाउसले बीबीसीका लागि भनेका छन्, ‘यो विषय यूकेमा मात्र हैन, कुनै पनि देशसँग योजना छैन। यो ठूलो वैज्ञानिक र सामाजिक चुनौती हो।’
कोरोनाबाट निकासका लागि विज्ञहरूले खासगरी तीन उपाय सुझाएका छन्, खोपको विकास गर्नु, रोग प्रतिरोधी क्षमता बढाउनु र दैनिक व्यवहार र आनीबानी बदल्नु। तर, यी तीनै सुझाव तत्कालका लागि पहलको स्तरमा मात्रै छन्।
खोप बनाउन कम्तीमा एक वर्ष
अमेरिकामा पहिलो पटक एक व्यक्तिलाई खोप परीक्षण गरिएको छ। त्यसो त, खोप विकासका लागि विश्वभरका वैज्ञानिक तल्लीन छन्। बीबीसीमा उल्लेख भएअनुसार कम्तीमा १२ देखि १८ महिनासम्म खोप विकास भइसक्नेछ। जसको प्रयोगले मानिसमा रोग प्रतिरक्षा क्षमता बढाउनेछ। साथै, ६० प्रतिशत मानिसलाई कोरोना भाइरस प्रतिरोधी बनाइएको खण्डमा पनि उक्त भाइरस फैलन नसक्ने बीबीसीको रिपोर्टमा उल्लेख छ।
बेलायती विज्ञ सर प्याट्रिक भाल्सेन्सका अनुसार कोरोना भाइरसको समयरेखा अहिले नै ठ्याक्कै भन्न सकिँदैन। तर, संक्रमणविरुद्ध रोग प्रतिरक्षा क्षमता बढाउनु अर्को उपाय हो। केही विज्ञ के ठान्छन् भने, अझै केही वर्ष यो भाइरसले आक्रमण गरिरह्यो भने मानव शरीरमा यसको प्रतिरोधी क्षमता पनि स्वतः बढ्दै जानेछ।
त्यतिन्जेलसम्म विश्वको ठूलो जनसंख्या संक्रमणबाट ग्रसित भइसकेको हुनेछ। त्यसो त, डब्लुएचओ सम्बद्ध विज्ञहरू यो भाइरस २ वर्षसम्म कुनै न कुनै रूपमा रहिरहने तर्क गर्छन्। यद्यपि, वैकल्पिक उपायको पनि अभ्यास भइरहेको छ। जुन आममानिसको दैनिक व्यवहार र आनीबानी परिवर्तनबाट पनि सम्भव छ। हाल ‘होम क्वारेन्टाइन’ वा ‘आइसोलेसन’ मा राख्ने काम यही उपायको अभ्यास हो।
(एजेन्सीहरूको सहयोगमा)