गाउँपालिकाले वितरण गर्यो मजदुरलाई खाद्यान्न
बागलुङ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले देशभर गरेको लकडाउनका कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई काठेखोला गाउँपालिकाले सहयोग गरेको छ ।
गाउँपालिकाभित्र दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउँदै आएका श्रमिक मजदुरको विवरण संकलन गरी दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको हो । गाउँपालिकाभित्र १ सय ५० को हाराहारीमा दैनिक ज्यालादारी गरेर जिविका चलाउने श्रमिक मजदुर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिकले बताए ।
काठेखोला गाउँपालिकाले वडा नम्बर २ भिमापोखराबाट दैनिक ज्याला मजदुरी गर्ने १३ परिवारलाई चामल, दाल र नुन प्रदान गर्न थालेको छ । कोरोनाले ल्याएको संकट सामना गर्न लक डाउन गरिएको र दैनिक कामकाज ठप्प हुँदा तत्कालका लागि प्रति परिवार २५ केजी चामल, ३ केजी दाल र दुई पोका नुन राहत स्वरुप प्रदान गरिएको छ ।
लकडाउनका कारण बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।
काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको आशंका भएका बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था समेत गरेको छ । शंकास्पद बिरामीको उपचारको लागि सहज, छिटो छरितो स्वास्थ्य सुविधा प्रदान गर्न एम्बुलेन्स सेवा संचालनमा ल्याएको हो ।
भाइरसको संक्रमणको लक्षण देखिएको बिरामीलाई स्थानीय स्वास्थ्य चौकीको सिफारिसमा निशुल्क सेवा प्रदान गरिनेछ । यो अन्य खालका बिरामीको हकमा भने लागू हुने छैन। गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवाका लागि ९८५७६२६२११ र ९८६३७९६९९९ मा फोन गर्न सक्नेछन् ।