संक्रमित युवतीसँगै आएका दुई युवा भेटिए
मलंगवा : कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवतीसँगै कतार एयरवेजको विमानबाट नेपाल आएका दुई युवा सर्लाहीमा फेला परेका छन्। एक जना कविलासी नगरपालिकाको पिपरियामा र अर्को बलरा नगरपालिकाको अर्नाहा गाउँमा फेला परेका हुन्।
कतारबाट युवती सवार प्लेनबाटै गत चैत ४ गते काठमाडौं झरेका थिए। युवाहरुको घरलाई सुरक्षा निकायले ‘सिल’ गरेको छ। प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक विनोद राज श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंहसहित सुरक्षा अधिकारी एवं स्वास्थ्यकर्मीको टोलीले युवकसहित घरपरिवारका सदस्यलाई स्वास्थ्य परीक्षण गरेको छ। स्वास्थ्य परीक्षणबाट युवक र परिवारको सबै सदस्यहरुको स्वास्थ्य अवस्था सामान्य देखिएको प्रमुख जिल्ला अधिकारी प्रजिअ जिसीले बताएका छन्।
कुनै पनि प्रकारको लक्षण अहिले देखिएको छैन्। युवकको घरलाई पूर्ण रुपमा लकडाउन गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मी टोली खटाई २४ सै घण्टा निगरानीमा राखेका छौं। नगरपालिकाको समन्वयमा स्थानीय गाउँलेहरुको पनि ज्वरो परीक्षणलगायतका लागि स्वास्थ्यकर्मी खटिएको उनले जानकारी दिए। माथिल्लो निकायले १४ दिनसम्म बाटो हेर्नु भनेको छ। कुनै समस्या देखिए मात्र काठमाडौं पठाउनु भन्ने निर्देशन आएको प्रजिअ जिसी बताएका छन्।
६५२ नम्बरको उक्त प्लेनबाट सर्लाही ठेगाना भएका चार जना भएपनि दुई जना भने काठमाडौंमै बसिरहेका प्रजिअ जिसीले जानकारी दिएका छन्। दुई जनाको सर्लाही सिसौट ठेगाना भए पनि उनीहरु पहिला नै काठमाडौं बसाईं सरिसकेको प्रजिअ जिसीले बताएका छन्।