रुपन्देहीमा भारतबाट आएका २९ जना क्वारेन्टाइनमा
भैरहवा : भारतको कोरोना प्रभावित शहरबाट आएका नेपालीलाई रुपन्देही जिल्लाको तीन वटा क्वारेन्टाइनमा राखिएको छ । भारतीय सीमा आएर रोकिएका विभिन्न जिल्लाका २९ जनाको उद्दार गर्दै स्थानीय प्रशासनले स्वास्थ्य सुरक्षाका लागि १४ दिनको क्वारेन्टाइनमा राखेको हो ।
भारतमा कोरोनो संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको रुपन्देहीका डिएसपी खड्ग बहादुर खत्रीले बताए ।
उनीहरू बुधवार साँझ सीमामा पुगेर अलपत्र परेका थिए । भारत पनि लकडाउन गरिएको कारण उनीहरू समस्यामा परेका थिए ।
‘भारतको विभिन्न शहरबाट सीमा आएर रोकिएका ७ जना महिला सहित २९ जनालाई स्वास्थ्य सुरक्षाको मध्यनजर गर्दै क्वारेन्टाइनमा राखिएको हो’, डिएसपी खत्रीले अन्नपूर्ण पोस्ट्सगँ भने, ‘चौध दिन चिकित्सकको निगरानीमा राखेर स्वस्थ रहेछन् भने मात्र उनीहरूलाई आ-आफ्नो गन्तव्यतर्फ जाने दिनेछौँ ।’
भारबाट आएका २९ जनामध्ये रुपन्देहीको शंकरनगर स्थित शारदा माविमा १० जना, शुद्धोधन गाउँपालिका स्थित यज्ञदोय उच्च माविमा ११ जना र अमवा स्थित जनता माविमा ८ जनालाई राखिएको उनले बताए ।