कोरोना आशंकामा धौलागिरी अस्पताल भर्ना गरिएका बिरामीको रिपोर्ट नेगेटिभ
बागलुङ : कोरोना भाइरसको संक्रमण भएको आशंकामा धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेशन वार्डमा भर्ना गरिएका एक युवाको रिपोर्ट नेगेटिभ आएको छ । भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका ती बिरामीको कोरोना भाइरससँग मिल्दो लक्षणसहित अस्पताल पुगेपछि चिकित्सकले तत्कालै उनलाई आइसोलेसनमा राखेका थिए ।
लगत्तै उनको थ्रोर्ट स्वाब निकालेर काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचका लागि पठाइएको थियो । बिहीबार आएको उनको रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरी अञ्चल अस्पताल बागलुङबा निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए ।
'यस्ता बिरामी आएमा हामी तत्काल आइसोलेसनमा राख्छौं र आवश्यक जाँच अघि बढाउछौँ। यस्तो लुकाउनु हुन्न भन्नेमा हामी सचेत छौँ, 'डा. पोखरेलले भने, 'यसले जिल्लामा ठूलो भय र सन्त्रास पैदा गरेको थियो, अब कम हुनेछ तर घरभित्रै बसेर सुरक्षित हुन भने जरुरी छ ।'