आलु, प्याज, ग्यास र रिचार्ज महंगोमा बेच्ने ११ पक्राउ
जनकपुरधाम : कोरोना (कोभिड-१९) भाइरस संक्रमणको समयमा कालोबजारी गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोरोना संक्रमण फैलिन नदिनसरकारले घोषणा गरेको लक डाउनको फाइदा उठाउँदै कालोबजारी गर्ने ११ जनालाई जिल्ला प्रशासन कार्यालय धनुषाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उप–महानगरपालिका १६ कपिलेश्वर बस्ने ५२ वर्षीय रामअनुठ ठाकुर, जनकपुर १२ बस्ने ३५ वर्षीय जित साह, जनकपुर ४ बस्ने ५० वर्षीय विनोदकुमार साह, सोही ठाउँ बस्ने ४८ वर्षीय कुशेश्वर चौधरी, ४३ वर्षीय राज किशोर यादवलाई पक्राउ गरिएको छ।
यसैगरी जनकपुर १ का ३१ वर्षीय गुलजार शेख, सोही ठाउँ बस्ने ३१ वर्षीय प्रमोद साह, जनकपुर ७ कै २८ वर्षीय अजय साह र सोही स्थानका २४ वर्षीय प्रविन साहलाई जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका सबैमाथि आलु तथा प्याजको बढी मूल्य लिएर विक्रिवितरण गरेको आरोप रहेको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
यसैगरी धनुषाकै जनकपुरधाम उप–महानगरपालिका ४ बस्ने कुनदन कुमार साहले १५ सयको सिलिण्डरलाई १७ सय र २६ वर्षीय विकाश कुमार महतोले ५० को रिचार्ज कार्ड ६० मा बेचेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।