पूर्वीय संस्कृतिलाई सम्झने बेला

पूर्वीय संस्कृतिलाई सम्झने बेला

कोरोना भाइरसले विश्वलाई नै आतंकित बनाइरहेको अवस्थामा हामीहरू त्यसको सम्भावित आक्रमणबाट जोगिन प्रतिरक्षात्मक उपाय खोजिरहेका छौं। अचेल हामीकहाँ सबैभन्दा बढी प्रवाहित हुने सन्देश हात धुने र एक–अर्कासँग निश्चित दूरीमा रहनुपर्ने बनेको छ। नमस्कारको मौलिक संस्कृतिलाई थोत्रो ठान्दै मिल्काएर अँगालो हाल्दै र हात मिलाउँदै आत्मीयता प्रदर्शन गर्न पुगेका हामीहरू यतिबेला उही नमस्कारको संस्कृतिका पक्षधर बनिरहेका छौं। यसले के देखाउँछ भने हाम्रो संस्कृति यथार्थमा पछौटे नभएर अग्रगामी थियो। हाम्रा पुर्खाहरूले बनाएका नियम–बन्धनहरू संकुचित नभएर हाम्रै हितका लागि थिए। जुन प्रचलन र नियम हाम्रा पूर्वजले मान्दै आएका थिए। तीभित्र कुनै न कुनै वैज्ञानिक कारण थिए होलान् तर त्यसलाई व्यवहारमा उतार्दा तिनको विश्वसनीयताको परीक्षण तथा प्रचार गर्ने प्रयास हामीले गरेनौं। सुरुमा अन्धानुकरण गर्‍यौं अनि क्रमशः अप्रभंशित र अपव्याख्या गर्दै अन्त्यमा छाड्दै आयौं। आफ्नो संस्कृतिलाई अन्धविश्वास र रूढिवादी मान्दै पाश्चात्य संस्कृतिको प्रभावमा हामीले अपनाइरहेको जीवनशैली कतै हाम्रा लागि घातक बनिरहेको त छैन ? यही प्रश्नका साथ अब हामीले हाम्रो संस्कृति र त्यसभित्रका सुसंस्कारहरूको खोजी गर्ने बेला आएको छ।

मलाई सम्झना छ केही दिनअघि कोरोना भाइरसको संक्रमणबाट जोगिन हात नमिलाउन तथा एकआपसमा निश्चित दूरी राख्न सन्देश प्रवाहित भइरहँदा विश्वविद्यालय नजिकै छात्राहरूको एक जमात भेट भयो र आपसमा पालैपालो अंकमाल गरिरहे। म अवाक् भएर ती अललारे युवतीहरूलाई हेरिरहेकी थिएँ जो आधुनिक सभ्यतासँगै आत्मियता प्रदर्शन गरिरहेका थिए। यस्तै केही समयअघि चमेना गृहमा देखेको दृश्य पनि अझै ताजा नै छ। आठ–दशजना छात्र–छात्रा एउटै समूहमा बसेर खाना खाँदै थिए। सबैले एक–अर्काको भागबाट खानाको स्वाद लिनुका साथै एउटै गिलासमा जुठो गरेर पानी पिइरहेका थिए। उनीहरूलाई न जुठोको मतलब थियो न त आपसमा पराईभावको नै, मानौं तिनीहरू एकै परिवारका सदस्य हुन् ! अत्यन्त निर्दोष थियो तिनीहरूको व्यवहार। हेर्दा अनौठो र रमाइलो सो व्यवहारलाई स्वास्थ्य र संक्रमणका दृष्टिले हेर्ने हो भने....? अहिलेको संभावित संक्रमणको अवस्थामा उपर्युक्त प्रसंग सम्झेर मात्र पनि झस्कनुपर्ने अवस्था छ। हाम्रो परम्परा र संस्कृतिमा न चुम्बन र अंकमालको छुट थियो न त हात मिलाउने आवश्यकता नै ! पतिपत्नीबाहेक जुठो खान बर्जित मानिन्थ्यो। पति रोगी भएको अवस्थामा भने पत्नीलाई उसको जुठो खाने वाध्यता थिएन। यति मात्र होइन बाहिरका मानिसले प्रयोग गरेका भाँडाकँुडा विशेष किसिमले माभ्mने (चोख्याउने) प्रचलनको साक्षी स्वयं पनि छु। यति मात्र होइन, हाम्रो संस्कृतिभित्र निर्मित कैयौं नियम तथा अनिवार्यताहरू आज आएर सार्थक बनिरहेका छन्।

आज हामीकहाँ व्यक्तिगत सरसफाइ तथा खानपिनका बारेमा जुन सचेतताको सन्देश प्रसारित भइरहेको छ त्यो त हाम्रा पूर्वजहरूले उहिल्यै गर्थे। बाहिरबाट आएपछि हातगोडा नधोई भित्र पस्न पाइँदैन्थ्यो। अझै पनि पाकाहरू बाहिरबाट आएपछि साना नानीहरूलाई छुनु हँुदैन भन्छन्। आगो–पानी छोएर मात्र छुनुपर्ने भन्ने मान्यता छ जसको अर्थ हो हात धोएर आगोमा सेकेपछि जिवाणुबाट निर्मलीकरण हुन्छ। यसले गर्दा साना नानीको संवेदनशील शरीरमा संक्रमणको खतरा रहँदैन। यसलाई पनि हामीले अन्धविश्वासकै नाम दिएका छौं ! शौचालय घरदेखि केही दूरीमा बनाउने, घरका पाका सदस्य त शौचालय जाँदा अलग्गै कपडा लगाएर जाने गर्दथे। साबुनको उपलब्धता नभएको समयमा पनि खरानी पानीले हात धुने चलन थियो किनकि खरानीमा किटाणु मार्ने क्षमता हुन्छ। जुत्ता–चप्पलले घरभित्र प्रवेश पाउँदैन्थ्यो, कारण त्यसका माध्यमबाट घरमा किटाणुले प्रवेश पनि नपाओस्। सर्वाधिक कडा नियम त भान्सामा हुन्थ्यो, खाना पकाउनेदेखि खानेलेसम्म निश्चित नियम पालना गर्नुपर्ने।

आफ्नो संस्कृतिलाई अन्धविश्वास र रूढिवादी मान्दै पाश्चात्य संस्कृतिको प्रभावमा हामीले अपनाइरहेको जीवनशैली कतै हाम्रा लागि घातक बनिरहेको त छैन ?

भान्सामा खाना पकाउनेले चोखो अर्थात् धोएको लुगा लगाउने, भान्सेबाहेक अन्यले भान्सामा प्रवेश गर्न नपाउने साथै भान्से पकाउने–खाने काम नसकिँदासम्म भान्सामै बसिरहनुपर्ने नियमहरूका पछाडि वैज्ञानिक कारण थिए। खाना दुषित नहोस् भनेर नै हरेक पल्टको भान्सा सकिएपछि लिपपोत गर्ने तथा पकाउनुअघि पनि भान्साका हरेक वस्तु धुने प्रचलन थियो। भान्सामा अन्यलाई प्रवेश गराउँदा उसका लुगा तथा शरीरमा किटाणु आउन सक्ने हुनाले त्यस्तो बर्जना आवश्यक ठानियो। खाना खान जाँदा हातखुट्टा धोएर धोती फेर्नुपर्ने र त्यो पनि सेतो ! सेतो कपडामा फोहोर देखिइहाल्ने हुँदा शुद्धताका लागि पनि उपयुक्त हुन्छ। परिवारमा साना केटाकेटी अभिभावकको जिम्मामा रहने हुँदा पाकाहरू त्यसरी नै चोखो लुगा फेरेर खाना खान्थे। छोरालाई निश्चित उमेर पुगेपछि व्रतबन्ध गरिदिएर तथा छोरीलाई गुन्युँचोलीको रीत पूरा गरेर यसप्रकारको अनुशासित जीवनशैलीमा आवद्ध गराइन्थ्यो। बाहिरको वा अपरिचित मान्छेलाई बाहिरै राखेर खान दिने तथा बास बस्न दिनुपरे पनि घरबाहिर मात्र दिने गरिन्थ्यो।

हाम्रो पूर्वीय सभ्यता र संस्कृतिको आरम्भको अवस्थामा सिलाएका लुगाको प्रचलन नभएको तथा केही पछिसम्म पनि त्यसको पर्याप्त उपलब्धता नहुनाले धोती–फरिया–पछ्यौराजस्ता कपडा उपयोग हुँदै आएकामा हामीले त्यसको अन्धानुरण गरिरह्यौ। महिलालाई सधैं एकसरो धोतीमा भान्सामा बसिरहन बाध्य पार्‍यौं, मलमूत्र त्याग गर्न नपाउने गरी एकल दायित्व सुम्पियौं जसका कारण भान्साको प्रचलन अव्यावहारिक ठानियो। जतिजति हामी आधुनिकतातिर उन्मुख हुँदै गयौं आफ्ना सांस्कृतिक मूल्यको त्याग पनि गर्दै गयौं। घर बनाउँदा भान्सा र शौचालय जोडेर बनाउन थाल्यौं। बाहिरबाट आएका लुगा मात्र होइन जुत्ता समेत लगाएर खाना पकाउने र खाने गर्नु, कैयौंजना भेला भएर साझा थालमा खानु मात्र होइन, जन्मदिनलगायतका उत्सवहरूमा केक काट्दै एकअर्काको जुठो खानुलाई आधुनिक सभ्यता मान्न थाल्यौं। हात धुनुभन्दा कागजले पुछ्दा गर्व थालेका हामी पुनः हात धुनुपर्ने यथार्थबोध गरिरहेका छौं।

मृत्यु संस्कारकै कुरा गर्दा पनि हाम्रो पूर्वीय परम्परामा शव मात्र होइन मृतकले प्रयोग गरेका लुगा–कपडा आदि पनि समेत जलाउने गर्नु, अन्तिम संस्कारमा सहभागी तथा सरसमान बिसर्जनमा सरिक पनि अलगै बस्ने र विधिपूर्वक स्नानादि गरेर चोखिने प्रचलन रोगी वा संक्रमित व्यक्तिबाट अन्यलाई जोगाउनका लागि हो भन्नेमा कसैको दुईमत नहोला। यस्तै निश्चित काम वा गतिविधमा सहभागी भएपछि नुहाउने, गहुँत आदिले शुद्ध हुनुपर्ने प्रचलन पछि छोइछिटोमा सीमित बन्दै गयो। बिहान ब्रह्ममुहुर्तमा उठेर स्नानादि गर्ने अनि जप–ध्यान–पूजा गर्ने प्रचलन आत्मिक शान्तिका साथसाथै सकारात्मक ऊर्जाप्राप्तिका लागि पनि हो। जहाँ पूजाआजा र आस्तिकता हुन्छ त्यहाँ सरसफाइ र शुद्धता पनि हुन्छ। हाम्रा पुर्खाहरूले भक्ष र अभक्ष वस्तु छुट्याउनुको कारण पनि स्वास्थ्य नै थियो तर कालान्तरमा हामीले त्यसको पनि बेवास्ता गर्न थाल्यौं। आफ्नो संस्कृतिभित्रका मूल्यहरूमा निहित सकारात्मक पक्षहरूप्रति वैज्ञानिक खोजी गर्ने आवश्यकता नदेखेका हामी सायद अहिले पश्चाताप गरिरहेका छौं !

हरेक समस्या र कठिनाइले नै मानिसलाई नयाँ–नयाँ पाठ सिकाउँछ। त्यसैले अहिले विश्वव्यापी रूपमा पैmलिइरहेको कोरोना भाइरसको संक्रमणबाट पनि हामीले सिक्नुपर्छ कि हाम्रै पुर्खाहरूले बनाएका रहेछन् प्रतिरक्षाका उपाय। तिनैको सही पालनाबाट पनि हामी सुरक्षित रहन सक्दारहेछौं। यस्ता महामारी एकपटक मात्र होइन, पटक–पटक देखिने गर्छन् किनभने भाइरस विभिन्न समयमा विभिन्न प्रकारमा देखिन्छ। त्यसैले अहिले हामी जसरी आपूm र आफ्नो परिवारलाई संक्रमणमुक्त राख्न प्रयासरत छौं, जुन जीवनशैली अपनाइरहेका छौं त्यसले निरन्तरता पाइरहनुपर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.