‘लकडाउन’ मा भर्चुअल नाटक उत्सव

‘लकडाउन’ मा भर्चुअल नाटक उत्सव

काठमाडौं : ‘लकडाउन’ को गम्भीर समयलाई मध्यनजर गर्दै विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत १४ देखि भर्चुअल ‘रंगमञ्च महोत्सव’ हुने भएको छ। थिएटर मल-कीर्तिपुर र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल) ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेका हुन्।

‘कोभिड-१९ को महामारीले पैदा गरेको संकटको समयमा रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाइएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए। ‘तर यो महोत्सव ‘भर्चुअल’ हुनेछ। हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ’, उनले भने।

हरेक साँझ ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मल ९ बाट एउटा नाटक देखाइनेछ। थिएटर मलका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रंगमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो। यसले रंगमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ।’ महोत्सवको पहिलो दिन विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए।

‘यस्तो विपद्, दुःख र भिन्न वातावरणमा नेपाली रंगमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन। रंगमञ्च आफंैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ। त्यसकारण रंगमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन’, उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रंगप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गर्दैछौं। यसबाट थिएटरको वास्तविक आनन्द, अनुभूति र अनुभव लिन नसकिए पनि क्वारेन्टाइन अवधिलाई रंगमञ्चसँग जोडिरहन मद्दत गर्छ भन्ने विश्वास छ।’ उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’ मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रंगकर्मीलाई आग्रह पनि गरेका छन्।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव-२०७६’ अर्थात् ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ। महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालैपालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलियाले जानकारी दिए। उनले भने, ‘लाइभ स्ट्रिमिङ थियटर टाइम जस्तै ठिक समयमा हुनेछ र थियटरकै नियमहरू लागू हुनेछ।’ उनले लाइभ स्ट्रिमिङपछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्ट्याउनसमेत आग्रह गरे।

फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ। त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुन लागू हुने उनले बताइन्। उनी भन्छिन्, ‘हामीलाई थाहा छ, हामीले यो समयमा जे काम गर्दैछौं, रंगमञ्चका दर्शकको मनोभावना बुझरै गर्दैछौं। उहाँहरू जिम्मेवार हुनुहुन्छ भन्ने विश्वास छ। सिर्जनामाथिको सर्वाधिकारलाई उहाँहरूले सम्मान गर्नुभएको छ र गर्नु हुने नै छ।’

फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन्। अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए। उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ।’

नाटकको समयावधि एक घण्टादेखि दुई घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा सेयर गर्न सकिने उनले जानकारी दिए। लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ।

फेस्टिभलबारे बढीभन्दा बढी रंगमञ्चप्रेमीलाई सूचना पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा राख्न जानकारीमूलक प्रचार सामग्री तयार पारिएको पब्लिसिटी डिजाइन संयोजक सुजिता महर्जनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.