फोहोरले चरिकोट दुर्गन्धित
चरिकोट : सरकारले गत मंगलबारदेखि आह्वान गरेको लकडाउनपछि दोलखाको सदरमुकाम चरिकोटमा फोहोर नउठाउँदा दुर्गन्धित हुन पुगेको छ । गत मंगलबार बिहान ५ बजेदेखि 'लकडाउन' भएयता शुक्रबारसम्म ४ दिनदेखि फोहोर नउठ्दा चरिकोट दुर्गन्धित भएको हो । प्रशासनले 'लकडाउन'सँगै अत्यावश्यक सेवा प्रवाहमा छुट दिएको भए पनि फोहोर संकलन गर्ने ठेकेदार कम्पनीको गैरजिम्मेवारीको कारण फोहोर नउठ्दा सदरमुकाम र दोलखाबजार दुर्गन्धित हुन पुगेको हो ।
भीमेश्वर नगरपालिकाभरको फोहोर संकलन गर्ने ठेकेदार कम्पनी एडीबी फोहोर मैला कवाडी तथा प्रोसोसिङ अर्गानिक मल उत्पादन केन्द्रले ४ दिनदेखि फोहोर नउठाएँदा बजार दुर्गन्ध फैलिएको छ । विशेष गरेर बजारमा घर भएका नागरिक, फिल्डमा खटिएका सुरक्षाकर्मी र सञ्चारकर्मीलाई फोहोरले प्रत्यक्ष असर गरिरहेको छ । घर अगाडि फोहोरको कारण बरण्डामा समेत निस्कन गाह्रो भएको स्थानीय नवराज शिवाकोटीले बताए ।
सदरमुकाम चरिकोट, दोलखाबजार गरी दैनिक करिब एकटन फोहोर उत्पादन हुने गरेकोमा ४ दिनदेखि फोहोर थुप्रिँदा करिब ४ टन फोहोर ठेकेदारले उठाएका छैनन् । फोहोर उठाउने एडीबी फोहोर मैला कवाडी तथा प्रोसोसिङ अर्गानिक मल उत्पादन केन्द्रका सञ्चालक विनोद तामाङ लकडाउनमा फोहोरहरु निस्किँदैन र त्रासको कारण कर्मचारी नआएकोले फोहोर उठासन नसकिएको बताए ।
दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने, 'तत्काल संकलनको लागि निर्देशन दिन्छु ।' भीमेश्वर नगरपालिकाका कार्यकारी प्रमुख मानबहादुर खड्काले सामान्य अवस्थामा भन्दा केही कम फोहोर उत्पादन हुने भए पनि ठेकेदारले गैरजिम्मेवारीपन देखाएको बताए ।