आमा छट्पटाउँदै अस्पतालको प्राङ्गणमा, छोरा रुँदै डाक्टरको ढोकामा

आमा छट्पटाउँदै अस्पतालको प्राङ्गणमा, छोरा रुँदै डाक्टरको ढोकामा

जनकपुरधाम : धनुषाधामको मुलाबारीकी ४५ वर्षीय मरनी देवी सदा शुक्रबार बिहान सिकिस्त बिरामी भइन्। पहिलादेखि नै मुटुरोगी सदालाई ज्वरो आएर स्वास फेर्ने गाह्रो भयो।

बिरामी आमालाई छोरा कारी सदाले उपचारका लागि जनकपुरधाम उपमहानगरपालिका-८ स्थित गोदावरी मोर्डन अस्पतालमा भर्ना गराए। तर, त्यहाँ चिकित्सकहरुले मरनीलाई डाइगनोशिस गर्दा कोरोना भाइरस कोभिड-१९ भनेर लेखिदिए। यस अस्पतालमा उपचार सम्भव नरहेको भन्दै ‘रेफर टु बेटर सेन्टर’ पूर्जामा लेखेर प्रादेशिक अस्पताल जनकपुर लैजान सुझाए।

बिहान १० बजे कारी जेनतेन आमालाई अटोमा राखेर प्रादेशिक अस्पतालमा ल्याए। आइसियुमा भर्ना गराउन गए। तर, चिकित्सहरुले प्राइभेट अस्पतालको पूर्जा हेरेपछि बिरामी मरनीलाई आइसियुको ढोकामा समेत छिर्न दिएनन्।

आमाको स्वास्थ्य अवस्था बिग्रिदै गएको देखेपछि छोरा कारी भक्कानिदैं चिकित्सकहरुलाई गुहारे। तर, कसैले छुन समेत मानेन। उनले आमालाई अस्पतालको परिसरमा रहेको सेडमा सुताए र सहायता खोज्न चारैतिर दौडे। सोही बेला प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादव आइपुगे। आमाको अवस्था देखाउँदै कारीले मेसु यादवलाई आइसियुमा भर्ना लिइदिन अनुरोध गरे। तर मेसु यादवले पनि उनलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्दै अस्पतालबाट १२ किलोमिटर टाढा नगराइन-५ गंगुलीमा हाल निर्माणाधिन क्षेत्रिय क्वारेन्टाइनमा लैजान सुझाव दिए।

क्वारेन्टाइनसम्म लैजान एम्बुलेन्स चाहियो भन्दै कारी अस्पताल अगाडी उभिएका एम्बुलेन्स चालकहरु समक्ष पुगे। तर कसैले पनि उनको आमालाई एम्बुलेन्समा बोक्न मानेनन्। उनी रेडक्रसको भवनमा हानिए। तर, त्यहाँका चालकले पनि नगराइनसम्म लैजान मानेनन्। चारैतिरबाट हतास भएर कारी बिरामी छट्पटाउँदै गरेको आमा नजिकै गएर असमर्थ भई रुँदै बसे।

एकातर्फ कोरोनाको कुनै पनि लक्षण देखिए अस्पताल जानुस् भन्दै सरकारले आह्वान गरिरहँदा अर्कोतर्फ जनकपुर स्थित प्रादेशिक अस्पतालले रुघाखोकीका बिरामी देख्दा एम्बुलेन्सबाट ओर्लिनसमेत दिएको छैन्। ‘सेफ्टी इक्युपमेन्टनै छैन् चिकित्सकका लागि,’ मेसु यादव भन्छन्, ‘रुघाखोकी र ज्वरोका बिरामी आएपछि उनीहरुको ट्राभल हिस्ट्र हेरेर भर्ना गर्ने वा नगर्ने निर्णय चिकित्सकहरुले लिइरहेका छन्।’ ‘कोही यदि भारत वा अन्य देशबाट आएका छन् र कोरोनाको लक्षण देखिरहेका छन् भने त्यस्ता बिरामीलाई सोझै क्वारेन्टाइनमा लैजान भन्छौं।’

यता प्रदेश-२ को गंगुलीमा रहेको क्षेत्रिय क्वारेन्टाइनको अवस्था पनि दयनिय छ। लामो समयदेखि बन्द रहेको मिथिला आर्युवेद कलेजको भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको छ। कोठाहरुमा एक, दुई वटा बेड बाहेक कुनै मेडिलक उपकरण र चिकित्सक शुक्रबार बिहानसम्म उपलब्ध थिएनन्। प्रदेश-२ स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साह भन्छन्, ‘स्रोत साधनको निकै अभाव छ। यहाँ कसैलाई भर्ना गरियो भने उनीहरुको स्वाबको नमूना संकलन गरि टेस्टका लागि काठमाडौं पठाउँनुपर्छ। त्यहाँबाट आएको परिणामले पोजेटिभ देखायो भने उपचारमा लैजाने होइन् भने औषधी दिएर घर फर्काउछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.