कोरोना त्रास : कालिकोटका देवताले लिन मानेन् बली
कालिकोट : विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरस त्रासले कालिकोटका स्थानीय कूलदेवताको शरणमा पुग्न थालेका छन् । कोरोनाको महामारी जिल्लामा नआओस् भनी भाकल गर्दै जिल्लावासी जिल्लाका हरेक बस्तीमा रहेका मष्टोदेवताको थानमा गएर आआफ्नो कूलदेवताको पूजा गर्न थालेका हुन्।
जिल्लाको खाँडाचक्र नगरपालिका २ पोरीपाल्नीको बस्तीमा रहेको नैनल देवताको थानमा धामी, झांग्री, स्थानीय भद्रभलादमी र स्थानीयवासी भेला भए। झण्डै २ सय जना जति नागरिकको सहभागीतामा नैनल देवताको पूजा गरी कोरोनाको महामारी भगाउन भाकल गरे ।
गाउँवासीले प्रत्येक घरबाट एक सय रुपैयाँका दरले रकम जम्मा गरेर १३ हजार जम्मा पारी देवताका लागि बोका पनि किनेर लिएका थिए । स्थानीय चन्द्रजंग मल्लले भने, 'थानमा पूजा गरेर सबैले कोरोना नआहोस भनी भाकल गरे । स्थानीयले पैसा उठाएर खरिद गरी लिएको बोकालाई पानी पाती हाले । तर बोकाले पर्छिदै पर्छिएन् ।
बिहीबार बिहान ११ बजेबाट बोका पर्छाउन सुरु गरिएको बेलुका ७ बजेसम्म स्थानीय देवताको थानमै भेला भएका थिए । तर बोका पर्छिदै पर्छिएन् । उनले भने, 'सुरुवातमा लिएको बोकामा कुनै समस्या भएर नपर्छिएको होकी भनेर तीनवटा बोका फेरियो । तर कुनै बोकाले पनि पर्छिएन् ।यहाँको परम्परा र हिंदु संस्कार अनुसार देवताको थानमा होस् या घरमा कुनै शुभ कार्यका लागि पशुबली दिँदा पानी पाती(अक्षेत्ता, पानी र पाती) हाल्ने प्रचलन छ।
हरेक व्यक्तिले अक्षता पाती सात पटक टाउकोमा मुन्सिएर बोकाको घाँटीमा हाल्दा आफ्नो बिराम पनि काटिने धार्मिक तथा सामाजिक विश्वास छ । तर पानी पाती हाल्दा बोकाले आनन्दले पर्छिन्छ । अर्थात बोकाको घाँटिदेखि शरीरसम्म फालिएको अक्षत्ता र पाती भुइमा फाल्छ । यसरी पुरै शरीर हल्लाएर बोका पर्छिएन भने बली दिन मिल्दैन् ।
नैनेलदेव देवताको थानमा पनि त्यस्तै भयो । सबैले पानी पाती हालेर पशु बली दिनका लागि देवतालाई चढाए । तर बोकाले पर्छिदै पर्छिएन् । त्यहाँका धामी तथा पूजारीले कोरोनाको महामारी रोक्न नसकिने संकेत गरी बोकाले नपर्छिएको अर्थात देवताले बोका खान नमानेको भनेर साँझ फर्किए ।
शुक्रबार पनि स्थानीयलाई देवताको थानमा भीड लाग्न नदिएर धामी तथा पूजारीले मात्र बली दिने प्रयास गर्ने मल्लले बताए । यदी यस पटक बली लिन देवताले नमाने जेठ पूर्णिमाको बेला बली दिने गाउँलेले सल्लाह गरेका छन् । कोरोनाको महामारी रोक्न दिन खोजिएको बली देवताले खान नमानेपछि स्थानीय थप त्रसित भएका छन् । उनीहरुले कोरोनाबाट जोगिन उच्च सतर्क रहनुपर्ने बताएका छन् ।
जिल्लाभरी देउतालाई चढाए १० बली
जिल्लामा कोरोना भाइरसको महामारी नओस् भनेर १० वटा बली चढाइसकेका छन् । सबैभन्दा बढी तिलागुफा नगरपालिकामा मात्र ७ वटा बली दिएका छन् । स्थानीय नविन हमालका अनुसार तिलागुफावासीले कोरोनाको महामारी रोकियोस भनी भाकल गर्दै कालिका, मालिका र बाबीराको थानमा ७ वटा बोका काटेका छन् । अझ पूर्णिमाको दिन काट्ने भनेर गाउँ गाउँमा बोका किनेर राखेका छन् ।
गाउँमा कोरोनाको महामारी नआहोस् भनेर यहाँका स्थानीय नागरिक देवताको शरण परेका छन् । यस्तै बिहीबार खाँडाचक्र नगरपालिका ८ पाखामा पनि स्थानीयले कुलदेवता निंलाशैनीको थानमा बली दिएका छन् ।
खाँडाचक्र नगरपालिका ८ का वडा अध्यक्ष आदीचन्द चौलागाई, ९ का वडा अध्यक्ष गोबिन्दबहादुर मल्ल, ८ का नेपाली कांग्रेसका वडा सभापती सन्तोस मल्ललगायत स्थानीय नागरिकको सहभागीतामा कोरोनाको महामारी नहोस भनी भाकल गरेर पशुबली चढाए ।
यस्तै एक हप्ताअगाडि जिल्लाको रास्कोट नगरपालिका ७ पुच्छे गाउँमा कुलदेवता मष्टो धलपुरोको थानमा स्थानीयले पशुबली दिए । जिल्लाको महावै गाउँपालिकामा पनि महाभूको थानमा गएर स्थानीयले बली चढाए । यहाँका स्थानीय नागरिकले हिजो आज दैनिक रुपमा जिल्लाभरी नै आआफ्ना कुलदेवताको थानमा जाने पुजा गर्ने र कोरोनाको महामारी नहोस भन्दै बली दिने गरेका छन् ।