सरकारलाई कांग्रेसका १७ सुझाव : भोलि होइन आजै काम गरौं

सरकारलाई कांग्रेसका १७ सुझाव : भोलि होइन आजै काम गरौं

काठमाडौं : कोरोना भाइरस कोभिड-१९ को सम्भावित संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि निरन्तर सरकारलाई खबरदारी गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले समयमै आवश्यक काम गर्न सरकारको ध्यानाकर्षण गराएको छ। कोरोना भाइरस नियन्त्रणका लागि सरकारलाई आफ्नो पूर्ण साथ र सहयोग रहेको दोहोर्‍याउँदै कांग्रेसले परिस्थितिलाई गम्भीरतापूर्वक ध्यान दिएर समयमै आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको हो।

कांग्रेसले शुक्रबार उपप्रधान तथा रक्षामन्त्री एवं नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले बुझाएको ज्ञापनपत्रमा समयमै आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता भएको उल्लेख छ।

‘नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पिपिई (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ,’ ज्ञापनपत्रमा भनिएको छ, स्वास्थ्य सामग्रीको अहिलेसम्म व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो। यो ज्यादै जोखिमपूर्ण रहेको छ।’

कांग्रेसले कोरोना महामारी मानव सभ्यताको लागि शताब्दीकै ठूलो चुनौती रहेको उल्लेख गर्दै नियन्त्रणका लागि सरकार गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी रहेको बताएको छ। त्यस्तै कोरोना नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आमनागरिकलाई पनि आग्रह गरेको छ। ‘सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रण सम्बन्धी कार्य भोली हैन आजै गर्न जरुरी छ। सबै नेपाली जनताले सजकता, धैर्यता र संयमता अपनाउन जरुरी छ,’ कांग्रेसले भनेको छ, ‘कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो। लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकहरुको दात्यिव हो। साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ,’ ज्ञापन पत्रमा उल्लेख छ।

महामारीको रुप लिँदै गएको कोरोना नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्नुपर्नेमा कांग्रेसले जोड दिएको छ। ‘सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ, यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ,’ कांग्रेसले भनेको छ। त्यस्तै लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुर मारमा परेको भन्दै उनीहरुलाई खाद्यान्नको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ। 

भारतमा विचल्ली परेका नेपालीहरुको उद्दार र रक्षाका गर्न सरकारको ध्यानाकर्षण गराएको छ भने संसारभर छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागिकुटनी तिक निकायहरुले सक्रियता बढाउनुपर्नेमा कांग्रेसले जोड दिएको छ। कांग्रेसले दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममा नै ध्यान पुर्‍याउनुपर्ने आवश्यकता औंल्याएको छ।

शुक्रबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले न्यून आय भएका, ज्यालादारी मजदूर र विद्यार्थीलाई मध्यनजर राहत कार्यक्रम ल्याउन माग गरेका छन्। उनले एक विज्ञप्ति जारी गर्दै राहत कार्यक्रम ल्याउन जोड दिएका हुन्। त्यस्तै सभापति देउवाले लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएकाले तीन महिनासम्मको बैंकको ब्यादजर मिनाहा गर्न सरकारसँग माग गरेका हुन्। ‘२० लाखसम्म ऋण लिएका साना व्यवसायीहरुलाई कम्तिमा तीन महिनाको व्याज मिनाहा गर्न र त्यसपछि निश्चित अवधिका लागि व्याजदर घटाउन माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ। उनले ठूला व्यवसायीको तीन महिनाको बैंकका ब्याजदर घटाउन र किस्ता बुझाउने अवधि तीन महिना सार्न पनि आग्रह गरेका छन्। सभापति देउवाले सञ्चारकर्मीहरुका लागि पनि राहत कार्यक्रम ल्याउन आग्रह गरे। 

कांग्रेसको १७ बुँदे ज्ञापनपत्र 
१) विश्वमा फैलेको कोरोना महामारी मानव सभ्यताको लागि शताब्दी कै ठूलो चुनौतीको रुपमा आइरहेको छ । यसको नियन्त्रणका लागि सरकार ज्यादै गम्भीर, संवेदनशील, दृढ र गतिशील हुनु जरुरी छ । 
२) सबै आम नागरिकले कोरोना नियन्त्रणका लागि सजकता र धैर्यता अपनाउनु आवश्यकता छ । 
३) कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीप्रति राज्य र आम नागरिकको पूर्ण साथ र सहयोग जरुरी छ । 
4) नेपाल सरकारले यस सन्दर्भमा आवश्यक चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्था गर्न नसक्नु सरकारको अकर्मण्यता हो । यो ज्यादै जोखिमपूर्ण रहेको छ । 
५) नेपाल सरकारले कोरोना नियन्त्रण सम्बन्धी चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको लागि आवश्यक पि.पि.ई. (पर्सनल प्रोटेक्सन इक्युपमेन्ट) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अबिलम्ब आयात गर्न अत्यावश्यक छ । 
६) कोरोना महामारी फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक कार्य हो । लकडाउनलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग पुर्‍याउनु सबै नागरिकहरुको दात्यिव हो । साथै सुरक्षा निकायलाई पनि गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न नितान्त जरुरी छ । 
७) यो महामारीलाई नियन्त्रण गर्न केन्द्रीय सरकारले प्रदेश सरकार र स्थानीय निकायहरुलाई समन्वयात्मक रुपमा अझै गतिशिल ढंगले परिचालन गर्न आवश्यक छ ।
८) सातै प्रदेशमा कोरोना परीक्षण प्रयोगशाला यथाशीघ्र सञ्चालन गर्न जरुरी छ । यसका साथै सबै प्रदेश र स्थानीय तहका स्वास्थ्य संस्थासम्म स्वास्थ्य उपकरण र सामग्रीको तत्काल प्रबन्ध गर्न अत्यावश्यक छ । 
९) कोरोना नियन्त्रणका लागि सामाजिक र निजी संघ÷संस्थाले चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा सामग्रीको व्यवस्थाको लागि गरिरहेको पहललाई सकारात्मक रुपमा लिई सरकारले यसका लागि प्रोत्साहन गर्न  र सहयोग पुर्‍याउन आवश्यक छ । 
१०) लकडाउनका कारणले दैनिक ज्यालादारी गर्दै जीवनयापन गरिरहेका श्रमिक, कृषि मजदुरलाई खाद्यान्नको व्यवस्था गर्न स्थानीय निकाय, व्यवसायीक र सामाजिक संघसंस्था तथा राजनैतिकर्मीहरुले समन्वय गरी गतिशिल भूमिका निर्वाह गर्न अत्यावश्यक भइसकेको छ । 
११) छिमेकी मित्रराष्ट्र भारतमा समेत लकडाउन भइरहेको अवस्थामा यात्राको क्रममा भारतमा विचल्लि परेका नेपालीहरुको उद्दार र रक्षाका लागि सरकारी निकाय गम्भीर बन्न जरुरी छ । 
१२) संसार भरी छरिएर रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षाको लागि हाम्रा कुटनीतिक निकायहरुले सक्रियता बढाउनु आवश्यक छ । 
१३) यो महामारीको नियन्त्रण गर्न रातदिन खटी रहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु धन्यवादका पात्र छन् । उनीहरुको जीवन रक्षा र स्वास्थ्य सुरक्षालाई सरकारले पहिलो  प्राथमिकता दिनु पर्दछ । यस्तै अहोरात्र खटिरहेका सुरक्षाकर्मी, प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको मनोबल बढाउन सरकार र जनस्तरबाट साथ दिन जरुरी छ । 
१४) कोरोना नियन्त्रणका लागि नेपाल सरकारले सम्पूर्ण शक्ति केन्द्रीकृत गरेर लगाउन र अन्तर्राष्ट्रिय सहयोग तत्काल जुटाउन अपरिहार्य छ । 
१५) कोरोना महामारी नियन्त्रणका लागि सरकारले नेपाल भरी नै लकडाउन गरिरहेको बेलामा दीर्घ रोगी तथा नियमित रुपमा चिकित्सकको परामर्शमा औषधि सेवन गरिरहेका विरामीहरु तथा अन्य रोगका विरामीहरुलाई उपाचारको आवश्यक प्रबन्ध गर्न जरुरी छ । 
१६) दैनिक उपभोग्य खाद्य पदार्थ आपूर्तिको व्यवस्था गर्न एवं फोहोर व्यवस्थापन गर्न सम्बन्धित सरकारी निकायले सयममा नै ध्यान पुर्‍याउनु जरुरी छ । 
१७) नेपाल सरकारले कोरोना भाइरस (कोभिड) नियन्त्रण सम्बन्धी कार्य भोली हैन आजै गर्न जरुरी छ । सबै नेपाली जनताले सजकता, धैर्यता र सम्यमता अपनाउन जरुरी छ ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारलाई हाम्रो पूर्ण साथ एवं सहयोग छ र सरकारले तत्काल उपरोक्त विषयमा गम्भीरतापूर्वक ध्यान दिएर उपयुक्त कदम चाल्नका लागि ध्यानाकर्षण गराउँदछौं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.