लकडाउन : दुवै देशका नागरिक अलपत्र

लकडाउन : दुवै देशका नागरिक अलपत्र

भैरहवा : कोरोना संक्रमण नियन्त्रण गर्न लकडाउन गरिएपछि नेपाल र भारत दुवै देशका नागरिक बाटोमै अलपत्र परेका छन्। रोजगारीका लागि एकअर्का देशमा रहेका उनीहरू घर फर्किन लागेका थिए। आ–आफ्ना नागरिकलाई उद्धार गरेर सुरक्षित रूपमा भित्र्याउन दुवै देशले तदारुकता देखाएका छैनन्।

दुवै देशका सीमानाकाबाट आवतजावत ठप्प छ। जसको मारमा सर्वसाधारण परेका छन्। दुवै देशमा लकडाउनका कारण न सवारीसाधन पाइएको छ न त कतै केही खानलाई खाद्यान्न। बजार पसल सुनसान छन्। उनीहरूसँग पानीको सहाराबाहेक अन्य केही उपाय छैन। भारतमा लकडाउनका कारण भारतको गजियाबादमा नेपाली नागरिक अलपत्र परेका छन्।

भारतीय सञ्चारमाध्यम एबीपी न्युजले देखाएको रिपोर्टअनुसार कोरोना त्रासले उनीहरू नेपाल फर्किन लागेका थिए। उनीहरू घर फर्किन मुम्बईबाट रेल चढी दिल्ली पुगेका थिए। त्यहाँबाट निस्किने बेला लकडाउनका कारण उनीहरू दिल्लीको सीमामा तीन दिनदेखि अलपत्र परेका हुन्। बास बसेको होटलबाट निकालिएपछि उनीहरू बाटोमा पुगेका छन्। एक महिलाले डेढ महिनाको बच्चा बोकेकी छन्। बच्चालाई दूधसमेत खुवाउन सकिएको छैन। घर हिँडेरै जानुको विकल्प नरहेको उनीहरूको भनाइ छ।

भारतको तमिलनाडुबाट पोखरा भ्रमणमा आएका ३२ जना घर फर्किन खोज्दा रुपन्देहीको सीमामा तीन दिनदेखि अलपत्र छन्। भारतमा आगमन बन्द गरिएपछि सीमामा खटिएका भारतीय सुरक्षाकर्मीले उनीहरूलाई मुलुक भित्रिन दिएका छैनन्।

बुटवल उपमहानगरपालिकामा सैलुन पसल चलाउँदै आएका दुई दाजुभाइ परिवारसहित भारत फर्किन खोज्दा अलपत्र परेका छन्। लकडाउनका कारण गाडी सुविधा पाइएको छैन। ठाउँ–ठाउँमा सुरक्षाकर्मीले रोक्छन्। बढ्दो गर्मीमा पैदलै घर फर्किन लागेका यी परिवारको एक जना सदस्यको खुट्टामा घाउ भइसकेको छ। खाजा पसलसमेत बन्द रहेकाले उनीहरू भोकभोकै छन्।

‘सैलुन पसल बन्द भएकाले परिवारलाई खाना खानसमेत समस्या परेपछि घर फर्किन लागेका हौँ’, बुटवलमा व्यवसाय गर्दै आएका भारतका रमेश ठाकुरले भने, ‘सीमाबाट जान दिएको छैन भन्ने सुनेका छौं तापनि जाँदै छांै हेरौँ के हुन्छ।’ दाजुभाइको छुट्टाछुट्टै परिवार छ। दुवै भाइ परिवारसहित पैदल घर फर्किन लागेका हुन्। डेरा लिएर बसोबास गर्दै आएका उनीहरूलाई स्थानीय जनप्रतिनिधिले मास्क वितरण गर्ने क्रममा मास्कसमेत नपाएको उनीहरूले गुनासो गरे। ‘हामी बुटवलमा व्यवसाय गरेर उपमहानगरपालिकालाई कर तिर्छौं तर आज विपद् परेको बेला मास्कसमेत हामीलाई दिइएन’, उनले भने। नेपाल वा भारत सरकारले आफूहरूजस्तै समस्या परेर अलपत्र परेकाहरूलाई उद्धार गर्नुपर्ने उनीहरूको भनाइ छ।

यस्तै, तिलोत्तमा नगरपालिकामा मजदुरीको काम गर्ने भारतका तीन युवा पनि अलपत्र परेका छन्। काम रोकिएपछि रकम अभावमा जीविकोपार्जन गर्न समस्या परेपछि उनीहरू पैदलै घर फर्किन थालेका हुन्। तर, सवारी साधन नपाइएपछि र सीमा रोकिएपछि उनीहरू अलपत्र छन्। ‘सडकमा प्रहरीले गाली गरेर डेरामा फर्केर जाऊ भनेपछि फर्कन थालेका थियौं’, अलपत्र परेका अजय चौहानले भने, ‘फेरि खै के सोचेर जाऊ भनेपछि अहिले घर जाँदै छौँ। तर, गर्मीमा भोकभोकै हिँडेर जान निकै समस्या परेको छ।’ उनले थपे, ‘सीमाबाट पनि जान दिइएको छैन भन्ने सुनेका छौँ तर जाँदै छौँ , फर्काइदियो भने फेरि आएर डेरामा पानीको सहारामा बस्ने बाहेक अन्य कुनै विकल्प हँुदैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.