लोमान्थाङमा बल्ल पुग्यो मास्क
जोमसोम : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले कोराना भाइरस कोभिड–१९ रोकथाम तथा नियन्त्रणलगायतका सामाग्री खरिद गरेको छ। पालिकाले कोरोना भाइरसको अहिलेको अवस्थालाई मध्यनजर गर्दै करिब ५ लाख बराबरको औषधि खरिद गरेको जनाएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको कार्यक्रमका लागि चालु आर्थिक वर्ष ४ लाख बजेट बिनियोजन भए पनि ५ लाखको औषधि खरिद भएको र औषधि नपुगे थप औषधि खरिद गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए।
उनका अनुसार यसपटक पालिकाले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) २ थान, मास्क ५ सय थान, हातमा लगाउने पञ्जा (ग्लोब) २ थान, सेनेटाइजर ठूलो खालको ४ दर्जन र क्वारेन्टाइइनलाई आवश्यक सामग्री खरिद भएको प्रशासकीय अधिकृत पौडेल बताए। उनले कोरोना रोकथामलगायत सरकारले वितरण गर्ने ३५ थरीका औषधि समेत उपलब्ध गराइएको जनाए।
कोरोना रोकथाम तथा नियन्त्रण सामाग्री अभाव भएकाले समस्या परेको र उपलब्ध भएका सामाग्री पालिका पठाइएको उनले बताए। लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, छोसेर र छोनुप गरी ३ वटा स्वास्थ्यचौकी छन्। जसमा ३ स्थायी र २ करारका स्वास्थ्यकर्मी रहेको प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए। लोमान्थाङले कोरोना रोकथामका लागि हेल्थ डेस्क र क्वारेन्टाइन स्थापना गरिसकेको छ।
यस्तै पालिका र गाउँसमाजबाट कोरोना संम्बन्धि सचेतनामुलक कार्यक्रम गरेको लोमान्थाङ–५ का वडाअध्यक्ष नवाङकुङ्गा लामाले जानकारी दिए।