लकडाउनका सकारात्मक पक्ष
कोभिड—१९ (कोरोना भाइरस) को माध्यमबाट विश्वभर महामारीको स्थिति फैलिँदो छ। महामारी अर्थात् कुनै भाइरसद्वारा फैलिने संक्रमण जसको कुनै समय र सीमितता अड्कल र अपेक्षा गर्न सकिन्न। अझ भनौं जसको रोकथामको तत्काल कुनै औषधि उपचार भेटिन्न केवल आआफ्नो तरिकाले स्वस्थ र सुरक्षित रहने उपाय अपनाउनुको विकल्प हुँदैन। करिब तीन महिनाअघि चीनको वुहानबाट फैलिएको यो विश्वव्याधी आज संसारका अधिकांश राष्ट्रमा फैलिएको छ। यसबाट बच्न र संक्रमण हुन नपाओस् भनेर नेपालमा अहिले सरकारद्वारा लकडाउनको माध्यम अपनाइएको छ। धेरैजसो मानिसको बाध्यता, व्यापार व्यवसाय, नोकरी स्वास्थ्य, सञ्चार क्षेत्रको कर्तव्य, रोजीरोटी आदिको लागि दैनिक घरबाट बाहिर ननिस्की सुख थिएन। त्यसैअनुरूप बाहिर निस्किन बानी परेकालाई केही समयको लकडाउन वास्तवमै असहज लागेको होला तर यो समय धेरैको अन्तरालमा एकपटक आउने हुँदा यसलाई धेरै तरिकाले सकारात्मकरूपमा लिनुपर्छ।
आज हामीलाई बोध भएको छ सहजरूपमा बाहिर हिँड्डुल गर्न पाउनु पनि कति महत्वको कुरा रहेछ। मानवीय स्वभाव नै त्यही हो कि जे कुरा हामीसँग छ त्यसको महत्व हामी थाहा पाउँदैनौं। जे छैन त्यसको लागि गुनासो गर्दै प्राप्तिको लागि दौडधुपमा लागेका हुन्छौं। अस्तित्वले विनामूल्य उपलब्ध गराएका हजारौं उपहारप्रति हामी कहिल्यै अहोभावले भरिएका छौं त ? प्रकृतिले उपलब्ध गराएका ती सब सुविधा हामीले अनुदानको रूपमा मात्र लिएका थियौं, अहोभावको रूपमा लिएका थिएनौं। अस्तित्वको अगाडि हाम्रो भूमिका कोरोना भाइरसको कणभन्दा पनि सानो हो तर हामी सोच्ने गर्दछौं मैले गरेर यो सब संसार चलिरहेछ। मैले गरेको आविष्कार, मेरो व्यापार, मेरो राजनीति, मेरो विज्ञान, मेरो उपलब्धि आदि आदि। एक अर्थमा त सही हो, आफ्नो काम, सफलता र उपलब्धिप्रति सन्तुष्ट हुन सक्नु सकारात्मक हो। तर, अस्तित्वको रचना, उसको खेल हामीलाई बेलामौकामा मात्र थाहा हुन्छ। हाम्रो हातबाट सम्भव नभएका कुरा आखिर अस्तित्वकै कृपा रहेछ। प्रकृतिलाई ख्याल राख्दै कुन समयमा के हुनेवाला छ उसले नै जान्दछ, हामी त केवल साक्षीका पात्र मात्र हौं।
यतिबेला हामी धनी र गरिब के हो, सम्पन्नता र विपन्नता के रहेछ भनेर समानरूपमा देख्न थालेका छौं।
आज झट्ट हेर्दा लाग्छ व्यक्तिगतरूपमा हाम्रो कारणले यो कोरोना र यसभन्दा अगाडिका भाइरस फैलिएका होइनन् तर सामूहिकरूपमा भन्नुपर्दा मानवीय जीवनशैलीकै कारण यस्ता संक्रमण फैलिने हुन्। मानिसलाई अत्याधुनिक सुख, सुविधा, गाडी, नयाँ–नयाँ उपकरणको प्रयोग, बढ्दै गएको फास्टफुडलगायत खानपानको तरिका, दौडधूप आदि कारणले व्यक्तिगतरूपमा तनाव बढ्दै जानु र प्राकृतिकरूपमा मौसममा प्रतिकूलता र प्रदूषण बढ्दै जाँदा यस्ता संक्रमण फैलिने हुन्। जब मानिसले प्रकृतिमाथि कब्जा जमाउन खोज्छ तब उसले पनि आफ्नो रहस्यात्मक खेल प्रस्तुत गर्छ। अहिले पनि हामी हिसाब गरिरहेका हुन्छौं यो समयमा घर बस्दा यति हानि, यति नाफा, व्यापार व्यवसाय चौपट भयो, पैसा कसरी पुर्याउने आदि आदि मनले सुख दिएको छैन। जे छैन त्यसप्रति ध्यान जानु आफ्नो स्वभावबाट बाहिर भाग्नु हो। जन्म लिएपछि यो शरीर एकदिन छोड्नैपर्छ यो शास्वत सत्य हो तर अहिले हामीलाई यो महामारीले जोगाओस् भन्ने नै छ। गहिरिएर हेर्दा आजको दिनसम्म हामी स्वस्थ छौं, घरमा छौं, परिवारसँग छौं भन्ने कुराप्रति अहोभाव व्यक्त गरेको खोइ ? आजको यो समय हामीसँग जे छ त्यसप्रति धन्यवाद व्यक्त गर्दै खुसीसाथ घरमा रमाउनुको विकल्प छैन।
आज घरमा सपरिवार छौं। परिवार साथमा नहुनेहरू पनि जहाँ छौं सुरक्षित छौं। आफ्नो घर, बगैंचा, करेसाबारी, खेलमैदान भएका चिजको उपयोग गर्ने समय हामीलाई मिलिरहेको थिएन। हामीहरू आफ्नै कामकाजमा व्यस्त थियौं। आज परिवार भएर सँगै ती चिजको उपयोग गर्न पाउँदा महत्वपूर्ण कुरा त यो पो रहेछ भनेर बोध गर्न पाएका छौं। खेलौंला, लेखौंला, प्रयोग गरौंला भनेर ल्याएका चिज भण्डारमा थन्किएका थिए होलान्। ती चिजको उपयोग गर्ने समय आएको छ। भिडबाट एक्लिएर आफू र आफ्नो परिवारसँग समय बिताउने अवसर मिलेको छ। घर बस्न पाए त यो गर्थें, त्यो गर्थें, बगैंचामा रमाउँथे, २÷४ वटा फूल र तरकारीका बोट रोप्थें भन्ने योजनालाई साकार पार्ने समय आएको छ। वृद्ध आमाबा र साना केटाकेटीलाई समय दिन नसक्नेलाई कति सुमधुर वातावरण मिलेको छ। एकापसमा भलाकुसारी गर्ने र आफ्ना सिर्जनतात्मकतालाई साकार रूप दिन पाइने समय आएको छ। सधैं भागदौड र तनावमा समय बिताउन बाध्य हुनेलाई आत्म एकान्तमा रमाउने समय उपलब्ध छ। योग, ध्यान, संगीत, अध्ययन, लेखपढमा समय दिन नभ्याउनेका लागि सुवर्ण अवसर बनेर आएको छ। आफ्ना सिर्जनात्मकता र घरमै बसेर गर्ने कामका योजना बनाएकालाई आफैंमा डुब्ने, आफैंलाई जान्ने, आत्मस्मरणमा जागृत हुने समयको रूपमा उपलब्ध भएको छ।
वातावारण प्रदूषण हुँदाको पीडा हामीले खेपेका थियौं। हाम्रै कारण सिर्जित वातावरण प्रदूषणले नजानिँदो तरिकाले हामीलाई नै असर पुर्याइरहेको थियो। आज हाम्रो घरबाहिर मात्र स्वच्छ, सफा छैन, पूरै विश्व नै स्वच्छ, सफा भएको छ। बढ्दै गएका सवारीसाधनको चाप, व्यस्त सडक, धुवाँधुलोले वनजंगल, पशुपन्छीमाथि नै अन्याय भएको थियो। आज जता हेर्यो त्यतै शान्त, स्निग्ध, सुन्दर, स्वच्छ देख्दा लाग्छ हामीले खोजेको वास्तविकता त यो पो रहेछ। जीवनका हरेक आयामलाई पुनर्मूल्यांकन गर्ने अवसर प्राप्त भएको छ। लकडाउन पहिले हामी सबैसँग जुटेर पनि एक्लिएका हुन्थ्यौं, आफ्नै मात्र स्वार्थ र काममा व्यस्त हुन्थ्यौं भने आज हामी एक्लिएर पनि एक अर्कामा, विश्वभरिकै मानवसँग जोडिएका छौं।
आज हामी संसारभरका मानिसले, को गरिब, को धनी, को उच्च, को निच सबैले एकै नियम र अनुशासन मान्न तयार भएका छौं। सबैले एक अर्काका लागि प्रार्थना गरेका छौं। आफ्नो कारणले अरूलाई संक्रमण नहोस् भनेर सचेत छौं। विश्व स्वास्थ्य संगठनले दिएका अधिकारिक सूचना र सुरक्षाका उपायलाई संसारभरिका मानिसले एकसाथ पालना गरेका छौं। हामीले आजसम्म अवमूल्यन गर्दै आएका प्रकृतिका उपहार, अस्तित्वको कृपा, मानव सहयोग सबैप्रति आज धन्यभागी भएका छौं। धनी के हो, गरिब के हो, सम्पन्नता र विपन्नता सब समानरूपमा देख्न थालेका छौं। जीवनको वास्तविकता, चाहना र जीवन बाँच्ने तरिका आजको समयले बताइदिएको छ। हामीलाई चाहिएको केवल स्वस्थ जीवन र सुरक्षित वातावरण रहेछ, यसको व्यवस्थापनमा मात्र कुशलता हासिल गर्न सके मानवीय गुणवत्ता झल्किने रहेछ, यसलाई बोध गर्न सकेका छौं आज हामीले।
मनका क्रियाकलापलाई सुक्ष्मरूपमा साक्षी भएर हेर्ने अभ्यास गरौं भन्दै जागरुक बन्ने अभ्यास गर्दैछौं अहिले हामी। मन, शरीर र कर्मप्रतिको सजगता मात्र नभएर जीवनको प्रकृतिप्रति नै सजगता अपनाउनु जागरुकता हो। मस्तिस्कमा सबै सूचना प्राप्त भएर पनि हृदयको सुन्नु, अन्तरात्माको जान्नु र निर्णय लिनु जागरुकताको अभ्यास हो। सामाजिक सूचना, घटना, परिस्थिति र क्रियाकलापप्रति मनले बनाएको धारणा र मान्यता छाडेर आफ्नो स्वभावको पहिचान, स्वप्रमाणिकता र स्वनिर्णयमा जिउने साहस गर्नु जागरुकताको परिणाम हो। मनका खेल, मनका चञ्चलता, मनका कल्पना, मनको वकालतलाई बोधपूर्ण हेर्नु र चेतनाको स्तरबाट आफूलाई सजग राख्ने कला नै जागरुक रहने कला हो। कुनै पनि घटना, परिस्थिति, प्रतिकूलताप्रति प्रतिकार र नकारात्मक दृष्टिले नहेरी वास्तविकता जान्न खोज्नु र आफूले सकेजति सकारात्मक सहयोग पुर्याउनु जागरुकता हो। शान्त, सौम्य, प्रेमल, निर्मल र मौन अवस्था त हरेक घटना र परिस्थितिलाई जस्तो छ त्यस्तै रूपमा देख्ने कला हो जागरूकता, आज हामीले आफूलाई जागृत राख्ने अवसर पाएका छौं।