किरियापुत्री पनि क्वारेन्टाइनमा

किरियापुत्री पनि क्वारेन्टाइनमा

सुर्खेत : गाउँमा भाइको मृत्यु भयो । भारतको नैनितालमा रहेका दैलेखका देउमले लोहारलाई पनि खबर पुग्यो । उक्त खबर सुन्नेबित्तिकै देउमले भाइको किरिया गर्न भन्दै नेपाल फर्किए । तर नेपालमा लकडाउनका कारण उनी कञ्चनपुरको गड्डाचौकी नाकामै रोकिए । नाकामै अलपत्र परेपछि उनी बिचबाटोमै भाइको किरियापुत्री बस्न बाध्य भएका छन् ।
    
नाकामा रोकिएका देउमलेसहित ५९ जना कर्णालीबासीलाई प्रदेश सरकारले आइतबार मात्र उद्दार गरेर सुर्खेत ल्याएको छ । भारतमा मजदुरीका लागि गएका दैलेख आठबिस नगरपालिका वडा नम्बर १ घर भएका देउमले गाउँमा भाइको मृत्यु भएपछि फर्किएका हुन् । 

देउमलेका भाइ पदम विकको केहीदिनअघि गाउँमै मृत्यु भएको थियो । धार्मिक संस्कारअनुसार भाइको काजकिरिया गर्न भन्दै फर्किएका उनी लकडाउनका कारण समयमै गाउँ पुग्न सकेनन् । 

जसका कारण उनी बिच बाटोमै किरियापुत्री बसेका हुन् । किरियापुत्री बसेकै अवस्थामा देउमलेसहित अन्यलाई प्रदेश सरकारले उद्दार गरी सुर्खेत ल्याएको छ । कोरोनाको संक्रमण फैलिएको भारतबाट आएका कारण उद्दार गरिएकालाई वीरेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ । 

वीरेन्द्रनगरस्थित अशोका होटलमा रहेको क्वारेन्टाइनमा किरियापुत्री बसेका देउमलेसहित जुठो बारेका अन्य तीनजना आफन्त पनि छन् । क्वारेन्टाइनमा बसेका देउमलेले किरियापुत्री बसेका कारण नुन खाएका छैनन् । भारतबाट आएका र कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उनीहरूलाई स्वास्थ्य परीक्षण गरेर क्वारेन्टाइनमा राखिएको प्रदेश सरकारले जनाएको छ ।

‘भाइको दाहसंस्कार गर्न पाइनँ, समयमै घरमा पनि पुग्न सकिनँ’ किरियापुत्री बसेका देउमलले भने,‘बन्दले गर्दा बिच बाटोमै किरियापुत्री बसेको हुँ, घरमै पुगेर काजकिरिया गर्न पाएको भए हुन्थ्यो । १४ दिनसम्म क्वारेन्टाइन बस्नुपर्छ भन्छन्, यहाँभन्दा त बरु गाउँमा जान दिएको भए काम सकेर घरभित्रै बस्ने थियौं ।’ 

आफूहरू सरकारको अभियानलाई साथ दिन तयार रहेको भन्दै घरसम्म पुग्ने व्यवस्था मिलादिन उनले सरकारसँग अनुरोध गरे । उनले भने,‘यस्तो अवस्थामा क्वारेन्टाइनमा कसरी बस्ने ? बरु घर जान पाएको भए किरिया गरेर घरबाट बाहिरै निस्कने थिएनौं ।’ 

प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले विशेष परिस्थितमा सरकारले गाउँमा पुर्‍याउने जनाए । उनले भने,‘किरियापुत्री बसेको असामान्य अवस्था हो, यसमा हामी गम्भीर छौं । प्रदेश सरकारले उहाँलाई स्थानीय तहसँग समन्वय गरेर गाउँ जाने वातावरण बनाउने छ, सम्वन्धित नगरपालिकामा पनि क्वारेन्टाइन बनेकाले उहाँलाई त्यहाँ पठाइनेछ ।’ गाउँमा पठाइए पनि त्यहाँ रहेका स्वास्थ्यकर्मीले उनीहरूको निगरानी गर्ने मन्त्री रावलको भनाइ छ । भारतबाट फर्किएकालाई सुर्खेतसहित विभिन्न जिल्लामा हाल क्वारेन्टाइनमा राखिएकोसमेत मन्त्री रावलले जानकारी दिए ।                    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.