कोरोना संकटमा एफएनसीसीआईको दुई करोड सहयोग
काठमाडौं : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि ‘लकडाउन’पछि सकारले राहत प्याकेज घोषणाको तयारी गरेको छ।
राहत प्याकेजका लागि नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले दुई करोड सहयोग गर्ने भएको छ ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा एफएनसीसीआईकी अध्यक्ष भवानी राणासहितका प्रतिनिधिले नगद ५० लाखको चेक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रदान गर्दै दुई करोड सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।
आइतबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा राहत प्याकेजको घोषणाको तयारी भएको छ । त्यसअघि बालुवाटारमा निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा एफएनसीसीआईले यस्तो प्रतिवद्धता जनाएको हो ।
सिंहदरबार छलफलमा अध्यक्ष राणासँगै शेखर गोल्छा, पशुपति मुरारका, उमेशलाल श्रेष्ठलगायतका व्यवसायी सहभागी थिए । एफएनसीसीआईले ५० लाख नगद र डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सहयोग गर्ने अध्यक्ष राणाले जानकारी दिइन् । एक जनाको दरले पाँच किलो चामल सहयोग गर्ने प्रतिवद्धता आएको राणाले बताइन् ।