लकडाउनमा रक्तआपूर्ति
कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रन्त बनाउँदै लगेको छ। पछिल्लो समय यो अमेरिका र यूरोपमा व्यापक विस्तार भइरहेको छ। नेपाललाई पनि यसले गाँज्दै लगेको छ। दिन–प्रतिदिन संक्रमितको संख्या गुणनको रफ्तारमा बढिरहेको छ। यसले पुर्याएको मानवीय क्षतिको संख्या र तथ्यांकले यो भाइरस अत्यन्त खतरनाक सावित गराइरहेको छ।
तर, रोकथाको उपाय खोज्दै चीनलगाय राष्ट्रले क्षेत्रगत र कतिपयले सिंगो देशमै लकडाउन घोषणा गरेका छन्। हामी पनि त्यही बाटोमा गएका छौं। अचानक लकडाउन गरिँदा आ–आफ्ना देश फर्कने क्रममा बीच बाटोमै अलपत्र परेका समाचार सुन्नु, पढ्नु र देख्नु परिरहेको छ। यस्तो अवस्थामा राज्यको दायित्व र कर्तव्य के हो त ? लकडाउनसँगै तिनको यथोचित व्यवस्था भने गरिनुपर्छ।
न्यूनतम् मूल्य र मान्यतासमेत पूर्णरूपले बोध हुन नसकेको हाम्रो यो परिवेशमा हामी लकडाउन बेहोरिरहेका छौं। यसलाई कफ्र्युसँग तुलना गरेको पाइन्छ। एकाबिहानै दैनिक उपभोग्य सामग्री किन्ने र बेच्नेको भिड देख्न पाइन्छ। साँझमा फेरि त्यस्तै दृश्यहरू देखिन्छ। राज्यले नागरिकलाई विषयगत ज्ञान दिलाउन विलम्व गर्दाको परिणाम हो यो।
अवस्था र आवश्यकतालाई ध्यान दिँदै नागरिकको जिउधनको रक्षार्थ सरकार अपवादलाई छोडेर निर्मम बन्नुपर्ने समय पनि आउन सक्छ। एक्कासि घोषणा गरिएको लकडाउनले यही आाभास गराउँछ। कहिले सार्स त कहिले स्वाइनफ्लु त कहिले बर्डफ्लु भने त कहिले इबोलाजस्ता व्याधिले हामीलाई सताइरहन्छन्। कोरोना त्यसकै पछिल्लो शृंखला मात्र हो।
अनुशासित भएर नियममा बसेको खण्डमा कोरोनालाई सहजै पार लगाउन सकिन्छ। यसले महामारीको रूप लिनुमा खेलाँची नै मुख्य दोषी हो। यसका लागि चीन र दक्षिण कोरियाबाट सारा विश्वले पाठ सिक्नुपर्छ। यसको न्यूनीकरण र निर्मूल पार्न कसरी राज्य नागरिकमाथि उत्तरदायी भएर लाग्नुपर्छ भनेर गहनतापूर्वक लाग्नुपर्छ।
खासमा कोरोना भाइरसको प्रकृति र प्रवृत्ति केलाउनेभन्दा त्रासमा समाजलाई डोर्याएको पाइन्छ। फलस्वरूप यसले महामारी र आतंकको रूप लिन पुग्यो। र, आज हामी सबै लकडाउन पालना गर्दै होम क्वारेन्टाइनमा बस्न बाध्य छौं।
सबैभन्दा ठूलो कुरा त बिरामीलाई रगत र रगतबाट तयार पारिएका रक्त–तत्वहरूको उपलब्धता कहाँबाट कसरी गर्ने भन्नेमा कसैको चसो देखिँदैन। लकडाउनको अवस्था छ। स्वयंसेवी रक्तदाताहरू होम क्वारेन्टाइनमा छन्। बिरामीका आफन्त रगत र रक्त–तत्व जोहो गर्न भौतारिनुपर्ने स्थिति छ। यसतर्फ सरकारको कुनै चिन्ता वा योजना देखिँदैन। पर्दाखेरि नै हो सेवा गर्नुपर्ने। तर, यहाँ यस्तो छैन। पीडामा रमाउनेहरू धेरै छन्। यस्तो अवस्थामा हामी स्वयंसेवी रक्तदाता लकडाउनको पर्वाह नगरि होम क्वारेन्टाइनमै बसेर वा रक्त सञ्चार सेवासम्म पुगेरै पनि रक्तदान गरि जीवन बचाउनबाट विमुख हुने छैनौं। बिकल्परहित मानव रगत र रक्त–तत्वहरूको मूल स्रोत हामी स्वयंसेवी रक्तदाता हौं। सेवा पुर्याउन हामी कुनै कसर बाँकी राख्ने छैनौं।
(कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन्)