सीमाबाट आयात घट्यो, निर्यात ठप्प

सीमाबाट आयात घट्यो, निर्यात ठप्प

भैरहवा : रुपन्देहीको सिमानाका बेलहिया (भैरहवा) बाट सामान आयात घटेको छ । भारतमा पनि लकडाउन गरिएकाले सीमासम्म मालवाहक गाडी पुग्न सकेका छैनन् । सीमामा पुगेका गाडी भने निर्वाध आइरहेका छन् ।

लकडाउनपछिको ५ दिनमा यस नाकाबाट विभिन्न सामग्री बोकेका चार सय १० वटा मात्र मालवाहक गाडी भित्रिएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले जानकारी दिए । जबकि यस नाकाबाट दैनिक करिब ५ सय मालवाहक गाडी भित्रिने गरेका थिए । तर, अहिले कोरोनाको संक्रमण र त्रासले दैनिक सय हाराहारीमा मात्र मालवाहक गाडी नाकाबाट भित्रिरहेका छन् ।

उनका अनुसार भारतबाट लकडाउन भएको दिन मंगलबार ८० वटा, बुधवार ९३ वटा, बिहीवार ९६ वटा र शुक्रबार एक सय ४१ वटा मालवाहक गाडी यस नाकाबाट मुलुकमा भित्रिएका हुन् ।

बिहीबारसम्म सीमापारी करिब ६ सय हाराहारीमा गाडी लामबद्ध थिए । त्यही गाडी अहिले भित्रिरहेका छन् । अहिले सीमापारि करिब ३ सय हाराहारीमा मालवाहक गाडी छन् । भारत लकडाउन रहेको र यहाँ पनि राजस्व बुझाउनका लागि सम्बन्धित बैंक (राष्ट्रिय वाणिज्य बैंक) सम्म जान नसक्दा आयातमा कमी भएको सूचना अधिकृत लम्सालले बताए ।

‘हामी स्ट्यान्डबाई छौँ, भारतबाट आएका गाडी हामीले धमाधम पास गरिरहेका छौँ’, उनले भने, ‘आयातकर्ता पनि घरमै बसिरहेकाले सामग्री आयात गर्न राजस्व बुझाउनका लागि बैंकसम्म जान सक्ने अवस्था नहुँदा पनि सामग्री आयातमा कमी भएको देखिएको छ ।’

यस नाकाबाट विशेष गरी पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, चामल, कोइला, एमएस ब्लेड, जिरा, धनिया, मकैको दानालगायत आयात भइरहेको छ ।

एलपिजी ग्यास अभाव हुने भन्दै सर्वसाधारणले बढी भण्डारण गर्न लागे पनि यस नाकाबाट भने विगतभन्दा बढी एलपिजी ग्यास आयात भइरहेको छ ।

‘पहिलाभन्दा अहिले एलपिजी ग्यास बढी आयात भइरहेको छ’, सूचना अधिकृत लम्सालले भने, ‘अन्य सामग्री आयातमा कमी भए पनि ग्यासको आयातमा कमी भएको छैन ।’

आयातको कमी भएसँगै लकडाउन भएदेखि यस नाकाबाट निर्यात ठप्प भएको छ । भैरहवा नाका हँुदै मुलुकबाट विभिन्न ३९ वस्तुको निकासी हँुदै आएका छन् । यस नाकाबाट भारतमा जडीबुटी, तेजपत्ता, चाउचाउ, बियर, जुत्तासुठो, अम्लिसो, रद्दी कागज, सिसाबोतलजस्ता कवाडी सामान, तारपिन तेल, कत्था, प्लास्टिक बोरा धागोलगायत निकासी हुने गरेको छ ।

‘नेपाल–भारत दुवै मुलुकमा लकडाउन भएकाले अहिले यस नाकाबाट निकासी शून्य छ’, उनले भने, ‘मंगलबारदेखि यस नाबाट पारी (भारत) केही गएको छैन । अब सम्भवतः लकडाउन खुलेपछि नै निकासी होला ।’ आयातमा कमी र निर्यात शून्य भएसँगै कार्यालयबाट हुने राजस्व संकलनसमेत प्रभावित भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.