बलात्कारको ४ महिनापछि भागेर उजुरी दिन आइन् किशोरी
कालिकोट : आफन्तबाटै बलात्कृत भएकी एक किशोरीले चार महिनापछि जल्ला प्रहरी कार्यालयमा आएर उजुरी दिएकी छन्। जिल्लाको शुभकालिका गाँउपालिका निवासी १५ वर्षीया किशोरीले आफूलाई चार महिनाअघि बाजे नाता पर्ने व्यक्तिले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी हुन्।
आफन्तबाटै बलात्कृत किशोरीलाई परिवारले उजुरी गर्न दिएको थिएन्। परिवार र आफन्तले गाउँमै मिलापत्र गराएर सामसुम पार्न खोजे पनि भागेर सदरमुकाम मान्मा आई मंगलबार जाहेरी दिएकी हुन्। जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी श्यामबाबु ओलियाले ‘मुद्दा नगर’भनेर फर्काउन आएका किशोरीका हजुरबाले सही गर्न नमानेपछि किशोरी आफैंले जाहेरीमा हस्ताक्षर गरेको बताए।
नातामा हजुरबा पर्ने शुभकालिका गाउँपालिका–७ काफलकाटियाका ३५ वर्षीय मलिराज शाहीले गत मंसिर १८ गते जबर्जस्ती करणी गरेको आरोप किशोरीले लगाएकी छिन्। गाउँमा छैटी हेर्न जाँदा बाटोमा पछाडीबाट छोपेर गाईको गोठमा लगी जबरजस्ती करणी गरेको पीडित किशोरीले बताइन्।
जाहेरीपछि स्वास्थ्य परीक्षण गरी सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकेको डीएसपी ओलियाले जानकारी दिए परिवारले मुद्धा नगर भन्दाभन्दै आफूले नमानी उजुरी गर्न आएको उनले जानकारी दिइन्।
पीडित किशोरीका अनुसार बलात्कार भएपछि गाउँमा कचहरी बसेको र त्यहाँ सबैले क्षमा दिनुपर्छ भनी सुझाव दिएका थिए। ‘घटना मिलाउन पटक–पटक गाउँका आफन्तसहित अगुवा बसी पाँच लाख रुपैयाँ दिने भनेर मिलापत्र गरिएको थियो। मैले त्यस कुरामा सहमति जनाइनन्’ उनले भनिन्। डीएसपी ओलियाका अनुसार आरोपित शाही हाल काठमाडौंमा छन्।
शाहीले जबरजस्ती करणी नगरेको दाबी गरेका छन्। पीडित बालिका जिल्ला सदरमुकाममा सामाजिक सेवा केन्द्र सोसेक नेपालद्धारा संचालित महिला तथा बालबालिका सेवा केन्द्रमा आश्रय लिएर बसेकी छन्। एक हप्ता पुग्न लाग्दा पनि बालिकालाई जिम्मा लिन उनका कोही परिवार तथा आएका छैनन्।