कोरोना नेगेटिभ बाबुरामको आइसोलेसनमै ज्यान गयो
बुटवल : खुबै चर्चाका साथ निर्माण गरिएको बुटवल धागो कारखानाको कोरोना विशेष अस्पतालमा जटिल समस्याका बिरामीको उपचार गर्ने उपकरण छैनन् । न त त्यहाँ राखिएका बिरामीलाई मानवीय व्यवहार नै गरिएको छ। आइतबार पाल्पा रिब्दीकोटका ३३ वर्षीय बाबुराम थापाको मृत्युपछि मात्रै अस्पतालभित्रको खास कुरा बाहिर आएको हो।
निरन्तर ज्वरो आउन थालेपछि कोरोना पो हो कि भन्दै ढुक्क हुन थापा चैत १३ गते एक्लै लुम्बिनी प्रादेशिक अस्पताल पुगेका थिए । प्रादेशिक अस्पतालले विदेशबाट फर्किएको र ज्वरो र सामान्य खोकी पनि देखिएपछि कोरोना विशेष अस्पतालमा पठायो । त्यहाँ अन्य ६ जना बिरामी प थिए । थापा अस्पताल गए तर उनको ज्वरो जाँचबाहेक अरु केही उपचार भएन । न त तीन दिनसम्म कोरोनाको परीक्षण नै गरियो ।
'मसँग भिडियो कल भएको थियो । केही जाँचेका छैनन् । टहरोमा एक्लै बसिरहेको छु भन्नुभएको थियो, 'थापाकी श्रीमती रिता थापाले अन्नपूर्णसँग टेलिफोनमा भनिन् । थापालाई घरमै हुँदा नै खाना रुचेको थिएन । अस्पतालमा भने खाए खाँ, नखाए घीचको को अवस्था रहेछ । उनीभित्र सुतिरहँदा ढोकामा खानाको थाल छाडेर जान्थे । उनलाई पानी खान मन थियो थिएन कसैले सोध्दैनथे । 'कुकुरलाई जस्तै थाल हुर्याएर जाँदा रहेछन्, 'थापाले शनिबार रितासँग भनेका थिए ।
थापा चैत ६ गते दुवईबाट नेपाल आएका हुन् । पाँच वर्षअघि दुवई पुगेका उनी त्यहाँ ट्याक्सी चलाउथे । विमानबाट झर्दा नै उनमा ज्वरो थियो । ज्वरोकै कारण उनी विमानस्थलमा आधा घण्टा रोकिनुपरेको थियो । जाँच गर्दा उच्च ज्वरो देखिएपछि विमानस्थलका स्वास्थ्यकर्मीले आधा घण्टा रोकेर फेरि ज्वरो जाँच गरेका थिए । 'विमानको एसीमा बसेर आउँदा ज्वरो बढेको होला । घरमा गएर थपक्क बस्नुहोला । ज्वरो आए अस्पताल जानुहोला,' विमानस्थलका कर्मचारीले भनेका थिए ।
पाँच वर्ष विदेशमा बसेका थापाको परिवार रुपन्देहीको सैनामैना सिसैडाडामा डेरामा बस्थे । घर आएपछि थापाले १० र ७ वर्षीय दुई छोरा र श्रीमतीसँग खुसी साटासाट गरे । थापालाई ज्वरो आउन कम भएन । मुर्गियाको मेडिकलमै जाँच गरे ।
टाइफाइड भएको भन्दै उनले औषधि खाए । ज्वरो रोकिएन । ज्यानमा थकान थियो । फेरि सरकारी हेल्थपोष्ट पुगे । हेल्थपोष्टबाट आराम गर्नुस् भन्ने सुझाउ आयो । दुई दिन घरमै बसे । मनले मानेन् । रितासँग भने, 'मलाई त ढुक्क नै भएन । कोरोना पो हो कि एकपटक ढुक्क भएर आउँछु ।'
अटो रिक्सा चढेर लकडाउन छिचोल्दै उनी प्रादेशिक अस्पताल पुगेका थिए । रिता पनि जान चोहकी थिइन् । तर बाबुरामले नै तिम्लाई भित्र बस्न दिन्न भन्दै रोकेका थिए । थापामा यसअघि कुनै रोग थिएन।श्रीमती रिता भन्छिन, 'अस्पतालले उपचारै नगरेका कारण उहाँ (श्रीमान्)को मृत्यु भयो, मरेपछि मात्रै जाँच गर्न थालियो। जाने दिन जाँच गरेको भए उहाँ बाच्नुहुन्थ्यो ।'
अस्पताल गएपछि उनीसँग बारम्बार कुराकानी भइरहेको थियो।आइतबार बिहानभर बाबुरामको फोन उठेन। रिता र उनकी आमाले निरन्तर फोन गरिरहेका थिए । नौ बजेतिर फोन उठ्यो, तर बाबुराम बोल्न सकेनन् । अह, अह मात्रै आवाज सुनियो । उनी डराइन्।
एकैछिनमा अस्पतालबाटै रितालाई फोन आयो। मोबाइलमा उहाँको बोली सुनिएन । डराउन पर्दैन भनियो । उनले फोन दिनुस् म कुरा गर्छु भनिन् तर फोन काटियो । १० बजेतिर फेरि फोन आयो । बिरामीलाई काठमाडौं लैजानुपर्ने भयो, दुई चारजना लिएर आउनुस् भनियो । साढे ११ बजेतिर उनी अस्पताल पुगिन्। श्रीमानलाई भेट्न पाइनन् । १ बजेतिर तपाईको श्रीमानलाई बचाउन सकिएन भन्दै चिकित्सक बाहिर आए । उनले डाको छाडिन् ।
अस्पतालमा खटिएका डा. सुदर्शन थापाले स्थिर बिरामीमा एक्कासी श्वासप्रश्वासको समस्या देखिएका कारण मृत्यु भएको बताए । 'उनलाई आइसीयुमा लैजाने तयारी हुँदाहुँदै मृत्यु भयो, 'उनले भने । उनमा निमोनियाजस्तै रोग देखिएको चिकित्सको भनाई छ । जसलाई उनीहरुले एलआरटिआई भएको भनेका छन्। जसले श्वासनलीको तल्लो भागमा समस्या देखाएको थियो ।
स्वासमा समस्या देखिएपछि भेन्टिलेटर आवश्यक हुन्छ । कोरोना अस्पतालमा त्यो सुविधा छैन । प्रादेशिक अस्पतालमा लगिएन । कोरोना आशंका भन्दै भेन्टिलेटरमा नलैजाँदा थापाले ज्यान गुमाएको उनकी श्रीमती आरोप छ। प्रादेशिक अस्पतालमा दुई भेन्टिलेटर र ७ आइसीयु छन् ।
तर उनमा कोरोना आशंकामा अमानवीय व्यवहार भएको भन्दै धेरैले आपत्ती जनाएका छन् । उपकरण नै नभएको अस्पतालमा बिरामी राखेर मार्ने काम भइरहेको धेरैले आरोप लगाएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अरु बेलाजस्तो बिरामीले डाक्टरको सामिप्यता नपाउने बताउँछन् । 'अहिलेको परिस्थिति पहिलेको जस्तो होइन, डाक्टरको सामिप्यता हुँदैन, जाँच मात्रै हुन्छ, 'उनले भने । तर उनले कोरोना अस्पतालमा बिरामीलाई आधारभूत सुविधा प्रदान गरिएको बताए।
श्रीमान्को शवसमेत हेर्न नपाएकी रिता मुर्गियास्थित डेरामै छन् । सोमबार बिहान अन्नपूर्णसँग टेलिफोनमा कुराकानी गर्दा उनका दुईछोराले 'मम्मी भोक लाग्यो' भनिरहेका थिए । रिताले भनिन्,'जग्गा किनेको तीन लाख ऋण छ । स्कुलमा फिस बुझाउन पाएकी छैन। छोराहरुले भोक लाग्यो मम्मी भन्छन् । म के खान दिऊ ?'
उनले श्रीमानको मृत्युपछि समवेदना दिने आफन्त पाइनन् । आइतबार अस्पतालकै गेटमा पल्टिएर दिन गयो । साँझ एम्बुलेन्समा घर पुगिन् । प्रादेशिक अस्पतालका अध्यक्ष भट्टराईले उनलाई घर पुर्याउन व्यवस्था गरिदिएका थिए ।
राहत कोष बनाएका प्रदेश र स्थानीय सरकारका प्रतिनिधिले उनको दुःख हेरेनन् । अस्पतालका अध्यक्षले जनप्रतिनिधिलाई खबर गरेका थिए । तर सोमबारसम्म पनि कसैले वास्ता गरेका छैनन् । कोरोना अस्पताल बनाएको बुटवल उपमहानगरपालिका र उनी डेरा बस्ने सैनामैना नगरका जनप्रतिनिधिले चाँसै नदिएको छिमेकी बताउँछन् । थापा बस्ने घरमा अन्य तीन परिवार बस्छन् । थापाको मृत्युपछि ती परिवार मात्रै होइन छिमेकी समेत त्रसित बनेका छन् ।