व्यापारीले घरघरमा खाध्यान्न पुर्याउने
रौतहट : जिल्ला सुरक्षा समिति रौतहटको आइतबारको निर्णयपछि सोमबारबाट लक डाउन थप कडा पारिएको छ । दैनिक उपभोग्य समाग्री बजारक्षेत्रमा घरघरमा नै पुर्याउने व्यवस्था मिलाइएको छ ।
सदरमुकाम गौर र चन्द्रपुरमा अति आवश्यक खाध्यान्न लकडाउनको समयमा व्यापारीले घरमा नै पुर्याउने व्यवस्था गरिएको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए । आइतबारदेखि लकडाउन पूर्णरुपमा पालना गराउन सुरक्षाकर्मी सकृय भइ लागेका छन् ।
बिनाकाम सडकमा फेला परेकालाई सडकमै उठबस गराउने, पुसअप गराउने, घाममा उभ्याउने जस्ता सजाय सुरक्षाकर्मीले दिन थालेका छन् । गौर तथा चन्द्रपुर बजारमा सामान घरघरमा पुर्याउनका लागि व्यापारीसंग समन्वय गरिएको छ । गौर बजार क्षेत्रमा १८ वटा किराना पसल र चन्द्रपुरमा ३५ वटा किराना पसललाई अनुमति दिने निर्णय भएको छ ।
इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरमा उपसचिव चेतराज बरालको संयोजकत्वमा बसेको बैठकले चन्द्रपुर नपा क्षेत्रमा उक्त निर्णय गरेको हो ।
उद्योग वाणिज्य संघको समन्वयमा दैनिक उपभोग्य सामाग्री घरमा पुर्याएर बिक्री गर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । जिम्मेवारी पाएका व्यवसायीले प्रचलित मूल्यमा समानको बिक्री गर्नु पर्नेछ ।
गौर तथा चन्द्रपुर क्षेत्रमा उपभोक्ताको सहजताका लागि स्थानीय प्रशासनले पायक पर्ने पसलको नाम र फोन नम्बरसमेत सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको सक्रमण फैलिन नदिन गरिएको लकडाउन धेरैले हल्कारूपमा लिएको पाइएकाले कडाइका साथ सुरक्षाकर्मी खटाइएको र व्यापक प्रचारप्रसार गरीएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।
जिल्लाको गरुडा, चन्द्रपुर, गौरमा लकडाउन उलघन गर्ने एकसयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्ता नियन्त्रणमा लिएको सवारी साधन लकडाउन सकिएपछि फिर्ता गरिने छ ।
अत्यावश्यक उपभोग्य सामग्री र औषधि उपचारका लागि बाहेक अन्य गतिविधि, आवतजावत जिल्लाभर निषेध गरिएको छ ।