कोभिड-१९ कोे सन्त्रास र समाधान

कोभिड-१९ कोे सन्त्रास र समाधान

सबैभन्दा महत्वपूर्ण काम महामारीबाट छुट्कारा पाउनु हो, अब सरकारलाई गल्ती कमजोरी गर्ने छुट छैन


महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसले सर्वत्र आतंक खडा गरेको छ । आज विश्वमा सर्वत्र यसैको चर्चा चलिरहेको छ । अरू भाइरसभन्दा भिन्न प्रकृतिको र ज्यादै संक्रामक भएकाले यसबाट केही महिनामै संसारभर ठूलो जनधन क्षति भइसकेको छ । अझै कति क्षति हुने हो, त्यो अड्कल गर्न पनि कठिन छ । एक्काइसौं शताब्दीको उत्तरार्धमा फैलिएको यो महामारी आमेजनको जंगलको आगोझैं फैलिँदा पनि वैज्ञानिक यो ताण्डव हेरिरहन वाध्य भएका छन् । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको यो महामारी थोरै समयमा विश्वव्यापी रूपमा फैलिएर यसबाट मानवजातिको रक्षा कसरी गर्ने भन्ने चुनौती बन्न पुगेको छ । अहिलेसम्म विकास भएको आयुर्विज्ञान यस प्रकारका महामारीभन्दा निकै पछि परेको सर्वत्र चर्चाको विषय बनेको छ ।

अहिलेसम्म यसको उपचार गर्ने औषधि पत्ता लागेको छैन । यसको खोप वा औषधिको अनुसन्धानमा वैज्ञानिक दिनरात लागिरहेका छन् । उनीहरू यो महामारी नियन्त्रण गर्ने उपाय पत्ता लगाएर मानव जातिको कल्याण गर्न कहिले सफल हुने हुन्, सफलताको किरण कतै देखिइहाल्छ कि भन्ने आसा लिएर विश्वका करोडौं मानिस प्रतिक्षारत छन् ।

दुइटा मोडेल

कोभिड–१९ को महामारीको प्रकोपको अवस्था विभिन्न रूपमा देखापरेको छ । चीन, जापान, दक्षिण कोरिया आदि देशमा यसको संक्रमण सीमित र सुधारोन्मुख हुँदै गएको छ । चीनमा त केही दिनदेखि संक्रमण र मृत्यु हुने रोगीको संख्या शून्यमा झरेको, मानिसहरू सामान्य कामकाजमा फर्कन थालेको र जीवन सामान्य बन्दै गएका समाचार आइरहेका छन् । यो अवस्थामा आउनका लागि ती देशले लागू गरेका उपचार विधिको अध्ययनबाट दुइटा मोडेल भएको पाइएको छ । चीनले ‘जनकफ्र्यु वा लकडाउन’ को विधि अपनायो भने दक्षिण कोरिया, जापान आदि देशले सम्पूर्ण देशलाई एकैपटक लकडाउन नगरी आंशिक लकडाउन गर्दै जाँचलाई र उपचारलाई व्यापक बनाउने विधि अवलम्बन गरे । अर्कातिर, इटाली, अमेरिका, स्पेन आदि देशमा यो महामारी घट्नुको साटो विकराल हुँदै गएको छ ।

यस्तो संगीन अवस्थामा पनि उपचारमा सामेल नहुने अस्पताल र तिनका सञ्चालकमाथि कडा कारबाही गर्नुका साथै अस्पताललाई राष्ट्रियकरण गरेर सञ्चालन गर्नुपर्छ ।

विश्वस्तरमा मर्नेहरूको संख्या अहिले आएर चीनकोभन्दा पनि इटालीको बढी भइसकेको छ । अमेरिकाको स्थिति पनि विकराल बन्दै गएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका बन्दका लागि बनेको होइन’ भन्ने भनाइ जबरजस्त रूपमा उठाएपछि अमेरिकामा लकडाउन जारी राख्ने वा हटाउने भन्ने विषयमा ठूलो विवाद चलिरहेको छ । अमेरिकामा यो महामारीको प्रकोपका दौरानमा मात्र बेरोजगारको संख्या ३० लाख पुगिसकेकाले यसलाई थेग्न नसक्ने बताउँदै ट्रम्पले यसलाई हटाउन जोड दिइरहेका छन् ।

नेपालमा यहाँको सरकारका गलत नीति र फितलो कार्यान्वयनका कारण संक्रमितको वास्तविक स्थिति अन्यौलमा परेको देखिएको छ । यस बीचमा भारतलगायतका संक्रमित देशबाट नेपाल आउनेको संख्या ९ लाख पुगेको तथ्यांकले बताउँछन् । सरकारसँग उनीहरूको जाँच गर्ने र क्वारेन्टाइनमा राख्ने नीति र योजना नभएका कारण तिनीहरू नेपालका विभिन्न भागमा पुगिसकेकाले यो महामारी अनियन्त्रित रूपमा फैलिने खतरा कायम छ । यसलाई नियन्त्रण गर्न लकडाउन गर्ने र संक्रमितलाई क्वारेन्टाइनमा राखी उपचार गर्नुसिवाय अरू विकल्प देखिँदैन । तर, यो काम तीव्रता र व्यापकतामा गरिनुपर्छ । युद्ध स्तरमा गरिनुपर्छ । यसमा हुने ढिलाइ वा लापरबाही क्षम्य हुन सक्दैन ।

युद्ध स्तरमा सबै स्रोत साधनको पूर्ण परिचालन

लकडाउन संक्रमितबाट संक्रमण फैलाउनबाट रोक्न र व्यवस्थित रूपमा उनीहरूको उपचार गर्ने एउटा कारगर विधि हो । तर, यो आफैं नै उपचार भन्ने ठान्नु गलत हो । लकडाउन गरिसकेपछि संक्रमितको स्थितिको पहिचानका लागि र उपचारका लागि व्यापकरूपमा डाक्टर, नर्स र स्वास्थ कार्यकर्ता परिचालन गर्नुपर्छ । चीन सरकारले वुहानमा देशका अन्य स्थानबाट ४० हजार डाक्टर, नर्स र स्वास्थकर्मी परिचालन गरेको सन्दर्भलाई हामीले बिर्सनु हुँदैन । ढिलो त भइसक्यो । योभन्दा पनि ढिलो गर्ने अधिकार सरकारलाई र कसैलाई पनि छैन । यो वा त्यो बहानामा काममा कमी आउन दिन पाइँदैन । अहिलेसम्म भएका त्रुटि र गल्तीको समेत क्षतिपूर्ति हुनेगरी सम्पूर्ण जनशक्ति, देशको सम्पूर्ण आर्थिकलगायतका स्रोत, औषधि र अन्य उपचारका साधनको व्यापक परिचालन गर्नुपर्छ । सरकारी र गैरसरकारी, निजी सबै अस्पताललाई उपचारका निमित्त परिचालन गर्नुपर्छ । यस्तो संगीन अवस्थामा पनि उपचारमा सामेल नहुने अस्पताल र तिनका सञ्चालकमाथि कडा कारबाही गर्नुका साथै अस्पताललाई राष्ट्रियकरण गरेर सञ्चालन गर्नुपर्छ । फिल्डमा चौबीसै घन्टा र जोखिम मोलेर काम गर्ने डाक्टर, नर्स र सबै स्वास्थ्यकर्मीलाई इन्सुरेन्स गर्ने र विशेष भत्ता र सुुविधा दिने घोषणा गर्नुपर्छ ।           

लकडाउनमा सबैभन्दा बढी मार दिनदिनै कमाएर खानुपर्ने श्रमिकमा परेको छ । भोक उनीहरूका लागि अर्को कोरोना बन्न पुग्दैछ । यसको निमित्त सरकारले अविलम्ब राहत र प्याकेजको घोषणा गरिहाल्नुपर्छ । यसमा ढिलाइ गरिनु हुन्न ।

राष्ट्र नै संकटमा परेको अवस्थाको फाइदा उठाएर कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेमाथि कडा कारबाही गरी लुकाएर राखेको सामान जनतामा वितरण गर्नुपर्छ । आवश्यक वस्तुको अभाव हुन कुनै पनि हालतमा दिइनु हुँदैन । आवश्यक वस्तु सस्तो मूल्यमा सरकारले उपलब्ध गराउनुपर्छ । खरिद गर्न नसक्नेलाई सररकार आफैंले उपलब्ध गराउनुपर्छ ।

कोभिड – १९ बाट मुक्ति सम्भव छ

यो भाइरस आफैं उत्पत्ति हुने किसिमको होइन । यो संक्रमित भइसकेको मानिसबाट संक्रमण हुने खालको हो । यो हावाबाट सर्ने भाइरस पनि होइन । मानिसको मानिससँगको सम्पर्कले सर्ने भएकाले यसमा सतर्कताको ठूलो महत्व हुन्छ । हतोत्साह, निरास र लापरबाही गरेर यसको सामना गर्न सकिँदैन । साहस, सतर्क र अनुशासित भएर यसको सामना गर्न सकिन्छ । अहिलेसम्म विदेशमा संक्रमित भएकाहरूमा मात्र यो संक्रमण देखिनु, नेपालमै भएका नेपालीमा नदेखिनु पनि राम्रो र उत्साहजनक पक्ष हो । तर, जाँच ठीकसँग नगरिएकाले पनि यस्तो हुन सक्ने भएकाले सतर्कता र सक्रियता आवश्यक छ ।

माथि सरकारलाई केही सुझाव दिने पनि प्रयास गरिएको छ । अन्य संस्थाबाट र विज्ञहरूबाट पनि यस्ता सुझाव आएका छन् । सरकारले धेरै गल्ती, कमजोरी गरिसकेको छ । अब गल्ती कमजोरी गर्ने छुट छैन । हाम्रा लागि यतिखेर सबैभन्दा महत्वपूर्ण काम यो महामारीबाट छुट्कारा पाउनु हो । सरकारले गरेका कामको विस्तृत मूल्यांकन त गरिने नै छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.