अर्घाखाँचीमा ५ जना आइसोलेसनमा, ४८ क्वारेन्टाइनमा
सन्धिखर्क : अर्घाखाँचीमा ५ जना आइसोलेसन र ४८ जना क्वारेन्टाइनमा रहेका छन् । ५ जना आइसोलेसनमा, ३५ जना क्वारेन्टाइनमा र १३ जना होम क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज वेल्वासेले बताए ।
अर्घाखाँचीबाट अहिलेसम्म ७ जनालाई बुटवल रिफर गरिएको छ । कोरोनाको आशंकामा उनीहरुलाई नमुना संकलनका लागि प्रादेशिक अस्पताल पठाइएको हो ।स्वाब परीक्षणमा ४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ । ७ जनामध्ये एकजनाको भने स्वाब नलिइ फिर्ता पठाइएको जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए ।
अर्घाखाँचीका स्थानीय तहहरु क्वारेन्टाइन निर्माणमा जुटेका छन् । जिल्ला विपद ब्यवस्थापन समितिको बैठकमा सबै स्थानीय तहमा क्वारेन्टाइन कक्ष निर्माण गर्ने निर्णय भएपछि स्थानीय सरकार पनि क्वारेन्टाइन कक्ष निर्माणमा जुटेका हुन् ।
अहिलेसम्म जिल्लाका ६ स्थानीय सरकारको पहलमा ४ सय ५७ क्वारेन्टाइन कक्ष निर्माण भइसकेका छन् । अरु पनि थप गरिँदै छ । प्रत्येक वडामा पर्ने गरी क्वारेन्टाइन कक्ष निर्माणमा उनीहरु जुटेका हुन् ।