कोरोना नियन्त्रण : स्वास्थ्यकर्मीलाई पीपीई सहयोग
भैरहवा : स्वास्थ्य सुरक्षा कवचको अभावमा जोखिमा बिरामीको उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई यहाँको एक संस्थाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) उपलब्ध गराएको छ ।
मुलुकमा कोरोनाको संक्रमित फेला परिरहे पनि सरकारले स्वास्थ्यकर्मीलार्इं हालसम्म पनि पीपीई उपलब्ध गराउन सकेको छैन । कतै पलाष्टी त कतै नर्मल पोलिथिन बेरेर दयनीय अवस्थामा स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिएका छन् ।
रिलायन्स फाइनान्सको सहकार्यमा लायन्स क्लब इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोरले रुपन्देही जिल्लाका विभिन्न स्वास्थ्य परीक्षण स्थल (अस्पताल, क्वारेन्टाइन) मा पीपीई प्रदान गरेको हो ।
विश्वमा कोरोना संक्रमण बढ्दै गइरहेको र मुलुकमा पनि देखा परेको अवस्थामा पनि स्वास्थ्यकर्मी जोखिममा काम गरिरहेको देखिएपछि उनीहरुलाई पीपीई उपलब्ध गराइएको लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ बी टु अन्र्तगत एरिया फोरका संयोजक विनोद खरेलले बताए ।
उनका अनुसार क्लबले बुटवल कोरोना विशेष (अस्थायी) अस्पताललाई चार थान, बुटवल लायन्स आँखा अस्पताललाई दुई थान, भीम अस्पताल भैरहवालाई तीन थान, लुम्बिनी र मर्चवारमा निर्माण भएका क्वारेन्टाइनका लागि दुई/दुई थान पीपीई प्रदान गरेको छ ।
त्यस्तै पाल्पा जिल्लामा र नवलपुरको सुनवल नगरपालिकालाई दुई/दुई थान प्रदान क्लबले जनाएको छ । क्लबले १७ थान पीपीई वितरण गएको जनाएको छ।
सोमबार रुपन्देहीको मर्चवार क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रमोद यादव, लुम्बिनीबाट निर्वाचित प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य फकरुद्दिन खान र क्लबले संयुक्त रुपमा पीपीई हसान्तरण गरेका हुन् ।
'स्वस्थ्यकर्मीले अस्पतालमा कोराना शंकास्पद बिरामी उपचार गरिरहेका छन् तर उनीहरुको सुरक्षाका लागि कुनै सुरक्षा कवच नै देखिएन,' संयोजक खरेलले भने, 'यस्तो दयनीय अवस्था देखेपछि हामीले स्वास्थ्यकर्मीलाई पीपीई प्रदान गरेका हौँ ।'
सरकारले सहरमा समेत आवश्यक साम्रगी पुर्याउन सकेको छैन । विकट क्षेत्रको झनै बेहाल छ । केही स्थानीय तहहरु क्वारेन्टाइन बनाउँदै छन् भने केही बनाउने क्रममा छन् । यस बाहेक उनीहरुले अन्य कुनै ठोस कदम चालेका छैन।
रुपन्देहीको मुख्य सहर भैरहवाको सरकारी भीम अस्पतालमा नै पीपीई छैन । त्यस्तै हालसम्म स्थानीय सरकारले समेत केही नगरेको विकट मानिने मर्चवार र लुम्बिनी क्षेत्रका पनि पीपीई नहुँदा समस्या पर्दै आएको थियो । तर, क्लबले यी स्थानका क्वारेन्टाइनलाई पीपीई उपलब्ध गराएको छ ।
'हामीले वितरण गरेको पीपीई संख्या थोरै होला,' संयोजक खरेलले भने, 'तर, बिरामीको सहज उपचार र स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षाका लागि हामीले जति सक्दो गर्यौँ र अगामी दिनमा पनि गर्नेछौँ ।'