ट्युबबाट महाकाली तरी भारतबाट नेपालमा
दार्चुला : विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड‐१९ कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनका कारण भारतका विभिन्न ठाउँमा आएर बाटोमै अलपत्र परेका नेपालीहरु दैनिक जसो महाकाली नदि तरेर नेपाल आउने क्रम जारी छ ।
भारतमा मजदुरी गरेर नेपालको दार्चुला, बैतडी, बझाङ, बाजुरा ,डडेल्धुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, बाके,सुर्खेत,कालिकोट र बर्दियाका नेपालीहरु दार्चुलाको नाका हुँदै नेपाल भित्रिरहेका छन्।
सवारीका साधन बन्द भएपछि पैदल हिडेरै दार्चुलाको नाकामा पुगेका उनीहरुलाई पुलमार्फत प्रवेश नदिएपछि कोही महाकाली नदिमा पौडेर नेपाल प्रवेश गरिरहेका भने कसैलाई भारतीय ले ट्युबमार्फत नदी तारी नेपाल प्रवेश गराइरहेका छन् ।
मंगलबार बिहान मात्रै भारतको ढुंगातोली तथा दार्चुलाको महाकाली नगरपालिका‐९ चुच्चैबाट १० जनालाई भारतीय नागरिकले ट्युबमार्फत नेपाल प्रवेश गराएको दत्तुका क्याम्पस प्रमुख रमेश चैसिरले जान्कारी दिए।भारतबाट संक्रमण यसरी अवैध रुपमा महाकाली तरेर आउनेहरू बिना चेकजाँच गाउँ पस्दा कोरोना संक्रमणको जोखिम झनै बढेको छ।
भारतका सीमानाकाहरुमा अलपत्र परेका आफ्ना नागरिकलाई नेपाल ल्याउनेबारे सरकारले कुनै निर्णय नगर्दा उनिहरु अवैध रुपमा नेपाल प्रवेश गर्ने क्रम जारी छ।
भारतको ढुंगातोली र नेपालको चुच्चैबाट नेपाल प्रवेश गरेका १० जना महाकाली नगरपालिकाको वडा नम्बर ९ मा पर्ने उलेनी लेकतिर गएको स्थानीय चैसिरले बताए। नेपाल प्रवेश गरेका उनीहरु दार्चुलाका हुन् वा छिमेकी जिल्लाहरुका हुन भन्नेबारे खुलेको छैन। भारतमा कोरोना संक्रमण फैलिरहेका बेला भारतबाट नेपाल प्रवेश गर्नेहरु सामान्य चेकजाँच नै नगरी गाउँतिर पस्नु ठूलो जोखिम रहेको दत्तुका स्तानीय गोबिन्द बताउछन्।