बिरामीको मृत्युपछि धागो कारखानामा १० आइसीयु कक्ष बनाइँदै
बुटवल : बुटवलमा बन्द रहेको धागो कारखानाको आइसोलेसन अस्पतालमा पाल्पा रिब्दिकोटका बाबुराम थापाको मृत्यु भयो । आइसोलेसन अस्पताल बनाउने समयमा नै चिकित्सकले यहाँ बिरामीको उपचार सम्भव नहुने बताएका थिए । जनप्रतिनिधि र अस्पताल विकास समितिको 'जबरजस्ती' मा खाली हल सफा गरेर बेड राखियो । उपकरण केही जोडिएनन् । लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ज्वरो र कोरोना हुनसक्ने जोखिमका बिरामी यही पठाउन थालियो । त्यहाँ पुग्नेमध्ये बाबुराम सातौं बिरामी थिए ।उनको उपचार नपाएर मृत्यु भयो।
आइसोलेसन अस्पताल हुनका लागि पूरा गर्नुपर्ने सामान्य मापदण्ड समेत पूरा नगर्दा दुःखद् घटना भएको चिकित्कहरु बताउँछन् । आइसोलेसन अस्पतालको प्रवक्ता डा. विष्णु गौतमका अनुसार यहाँ आइसोलेसन बेड नै छैनन्। 'धागो कारखानामा बनेको कोरोना विशेष अस्पतालमा आइसोलेसन बेड छैन, उनले भने, 'आइसोलेसन अस्पतालका लागि उच्च प्रविधि भएको कक्ष हुनुपर्छ ।'
डा. गौतमका अनुसार आइसोलेसन अस्पतालमा बिरामी राख्ने छुट्टै कक्ष हुनुपर्छ । अक्सिजन सिलिण्डरसमेत सकेसम्म छुट्टै बनाउनुपर्छ । काम गर्ने नर्स पनि छुट्टै हुनुपर्ने सामान्य मापदण्ड हो । त्यसोभए मात्रै चिकित्सक र बिरामीको सुरक्षित रुपमा उपचार गर्न सकिन्छ ।
अहिले धागो कारखानामा रहेको आइसोलेसन अस्पतालमा यी कुनै मापदण्ड छैनन् । एकजना मेडिकल अधिकृत र दुई नर्सले सबै बिरामीको रेखदेख गरिरहेका छन् । एकजना फिजिसियन डाक्टर समयसमयमा रेखदेख गर्न पुग्छन् । कोरोना पोजेटिभ बिरामी नदेखिएसम्म काम चलाउ भए पनि यस्तो अस्पताल जोखिम हुने चिकित्सक बताउँछन् । एउटा बिरामीबाट अर्का बिरामीमा संक्रमण फैलन सक्ने चिकित्सकको भनाई छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका फिजिसियन र अन्य चिकित्सकले धागो कारखानामा क्वारेन्टाइन मात्रै उपयुक्त हुने बताएका छन् । अस्पताल प्रशासनले आइसीयु जडान गरेर आइसोलेसननै बनाउने बताउँदै आएको छ । आइसोलेसन अस्पतालको विषयमा प्रादेशिक अस्पताल प्रशासन र चिकित्सक विभाजित भएका छन् ।
अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले आइसीयु जडान गर्ने बताए । त्यसको निरीक्षण समेत गरिएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले चारवटा आइसीयु जडान गरिदिने निर्णय गरेको छ । चिकित्सकले भने प्रर्याप्त पूर्वाधार र उपकरण भएका लुम्बिनी प्रादेशिक अस्पताल वा भैरहवाको भीम अस्पताललाई आइसोलेसन अस्पताल बनाउनुपर्ने सुझाव दिएका छन् ।
तर, धागो कारखानामा १० वटा आइसीयु कक्ष बनाउने प्रक्रिया थालिएको छ । आइसीयुका लागि पूरै पूर्वाधार नयाँ जडान गर्नुपर्नेछ । धागो कारखानाको हलमा अहिले पंखा समेत छैनन् । प्रादेशिक अस्पतालले आइसियुमा एयर कन्डिसन जडान गर्ने सुचना प्रकाशित गरिसकेको छ ।
भीम अस्पतालमा भेन्टिलेटर
भैरहवाको भीम अस्पतालमा आइसीयु र भेन्टिलेटर थपिदैछ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार २ भेन्टिलेटर र ५ वटा आइसीयु उपकरण जडान गरिएको हो । प्रदेश सरकारले भैरहवाको भीम अस्पताल, दाङको आर्युवेद अस्पताल र बाकेमा आइसोलेसन अस्पताल बनाउने निर्णय यसअघि नै गरेको छ ।
पाँच नम्बर प्रदेश सरकारले कोरोना परीक्षणका लागि तीन स्थानमा प्रयोगशाला बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रुपन्देहीको भैरहवास्थित गहुबाली अनुसन्धान केन्द्र, दाङको राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान र बाकेको भेरी अस्पतालमा प्रयोगशाला बनाउने निर्णय गरेको हो ।
प्रयोगशालाका लागि उपकरण आइसकेका छन् । तत्काल प्रयोगशाला सञ्चालन गरी परीक्षण थाल्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । बैठकले सीमा क्षेत्रमा अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्लामा पठाउने र क्वारेन्टाइनमा राखी खाने व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने निर्णय समेत गरेको छ ।
एम्बुलेन्स चालकका लागि १२ वटै जिल्लामा सुरक्षण सामग्री पठाइएको र त्यसको समुचित वितरण प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । त्यस्तै वाली भित्र्याउने समयमा प्रयोग हुने कृषि उपकरणको स्थानीय तहमा हिँडडुल गर्ने पास स्थानीय तहले नै उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।