कोरोना जाँच्ने ल्याबका प्राविधिक भन्छन् : हामी आफैं असुरक्षित छौं (भिडियो)
पोखरा : कोरोना भाइरस (कोभिड १९) परीक्षण गर्ने मेसिन पोखरा ल्याइएको छ। संघले ७ वटै प्रदेशमा मेसिन पठाउने क्रममा गण्डकीका लागि हेलिकोप्टरमार्फत पिसिआर मेसिन मंगलबार पोखरा पठाएको हो।
मेसिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा स्थापना भएको छ। तर प्राविधिकहरुले भने भाइरस परीक्षणका लागि आफूहरु असुरक्षित रहेको बताएका छन्।
अस्पतालको प्रयोगशालाका प्राविधिकले भाइरस परीक्षण गर्दा लगाउनुपर्ने पोसाक, मास्क, सेनिटाइजर लगायत सामग्री नभएको बताएका छन्। प्राविधिक पशुपति महतो भन्छन्, ‘हामीलाई कुनै तालिम पनि दिइएको छैन।’
तालिम दिने बेला अरु-अरुलाई दिइएको र अहिले काम आफूहरुले गर्नुपरेको गुनासो पनि महतोले गरे। ‘हामी कसरी बाँच्ने भनेर तालिमै दिएको छैन’, उनले भने, ‘प्रदेशले ११ वटै जिल्लाका प्राविधिकलाई तालिम दिएको छ, तिनीहरुचाहिँ घरमा बस्ने, अनि काम गर्ने बेलामा हामीलाई मात्रै।’
अर्का प्राविधिक काशीनाथ लामिछानेले काम गर्न आफूहरु सबै तयार रहे पनि सुरक्षा नभएको बताए। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै कोरोना भाइरस जाँच्ने मेसिन राख्दा अरु बिरामीको अरु रोगको परीक्षण रोकिने उनले बताए। ‘कोरोना जाँच्न यो ल्याब नै सिल गरेर राख्नुपर्छ, अरु कुनै परीक्षण गर्न मिल्दैन’, उनले भने, ‘अब अरु बिरामीले के गर्ने ?’
डायलासिस गर्नेसम्मका बिरामीको ल्याब परीक्षण नियमित भइरहेको उनले बताए। प्रसूति, मधुमेह, थाइराइड लगायत दर्जनौं नमुना परीक्षण भइरहेको उनले जानकारी दिए। ‘के अब ती बिरामीलाई बाँच्ने अधिकार छैन ?’ उनले भने।
स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले प्रयोगशालाका पर्याप्त जनशक्ति रहेको र अब परीक्षण सुरु हुने जानकारी गराए।
काठमाडौंबाट आएका विज्ञले मेसिन स्थापना गरेपछि काम सुरु हुने उनले जनाए। उनका अनुसार पहिल्यैदेखि प्रयोगशालामा रहेको पुरानो मेसिनलाई पनि बनाएर कोरोना परीक्षणका लागि तयार पारिँदैछ।