विपश्यना
यो वसन्त ऋतु
धम्महल बाहिर फुलिरहेछन् अविरसरी आरु
जादु छर्दै मुस्कुराउँदैछन् रुखका चेपबाट सेताम्य सुनाखरी
हासिरहेछन् उसैगरी रातै र सेतै पिटुलिया
भर्खर चिउला उमार्दै छन्
नास्पाती, पैयुँ र सुन्तलाका बोटहरु
अझै उँभो जान खोज्दै छन्
लप्सी, धुपिसल्ला र काइँयोका रुखहरु ।
मास्तिर तपस्वीझैं बसेको छ शिवपुरी
तल्तिर सुतिरहेछन् बूढानीलकण्ठ
पर्तिर बगिरहेछ विष्णुमति
पारिपट्टि सुसाइरहेछ सुरम्य वनेली
राताम्ये फुलिरहेछ- गुराँस
डाली-डाली गाइरहेछ-कोकिलकण्ठी
हरिया पातहरु उस्तै रहँदैनन्- समय आएपछि झर्छन्
रुख सँधै नाङ्गा रहँदैनन्- बेला आएपछि पाउलिन्छन्
फूल उसैगरी फुलिरहँदैन ओइलिएर झर्छ
बसन्त सकिएपछि कता हराउँछ कोइली ?
सायद जीवन यस्तै हो
सुख छ दुःख पनि छ
जीवन छ मृत्यु पनि छ
म घरि-घरि प्रकृतिसँग मौन संवाद गरिरहेछु
यो तपोभूमिमा
मनभरि दुःख बोकेर आउने दुःखी आत्माहरु
दुःख यतै पहाडको फेदीमा बिसाउँछन् र
फूलझैं हलुका भएर जान्छन्
धम्महलभित्र
आँखा चिम्लेर म आफैंलाई नियालिरहेछु
शरीरमा
संवेदनाहरु छिनछिनमा उत्पत्ति हुन्छन् र उत्तिखेरै बिलाउँछन्
तरङ्गहरु तत्काल उठ्छन् र उत्तिखेरै हराउँछन्
यही हो शास्वत् सत्य/यही हो बुद्धत्व
जीवन प्रकृतिजस्तै बदलिरहन्छ हरक्षण
सम्झन्छु आज
यत्रो समय त्यसै खेर गएछन् वर्षहरु
बेलगाम छोडिदिएछु चित्तको चङ्गा
र जता-जता जान्छ ऊ त्यतै लागेछु म
उत्तर आफूसँगै
आनन्द आफूसँगै
दिमागभरि प्रश्नको जङ्गल उमारेर
बाहिर कता भौंतारिएको हुँला म
ज्ञानको खोजीमा भ्रान्तिको भारी बोकेर
मरी-मरी कता हिँडेको हुँला म