स्वदेश भित्रिन नपाएपछि : रातारात महाकाली तर्दै नेपालतिर प्रवेश

स्वदेश भित्रिन नपाएपछि : रातारात महाकाली तर्दै नेपालतिर प्रवेश

दार्चुला : भारतमा कोरोना संक्रमण फैलिएपछि घर फर्किंदै गरेका नेपाली नेपाल प्रवेश गर्न नपाएपछि सीमा नाकामा अलपत्र परेका छन्। सरकारले सुरक्षित रूपमा घर फर्काउन चासो नदिएपछि उनीहरू ज्यानको बाजी थापेर रातारात महाकाली नदी तर्दै स्वदेश भित्रिन थालेका छन्।

दार्चुलापारिको भारतीय बजार धार्चुलामा जम्मा भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका नागरिक आइतबारदेखि महाकालीमा पौडी खेलेर, महँगोमा ट्युबबाट तारी मागेर आइरहेका हुन्। पारिबाट सोमबार राति मात्रै ५० जनाभन्दा बढी ट्युबबाट नेपाल छिरेको स्थानीयले बताएका छन्।

भारतको उत्तराखण्ड राज्यको कुमाउ, गढवालमा मजदुरी गरिरहेका नेपाली कोरोना त्रासका कारण फर्किन लाग्दा सीमामा अलपत्र परेका हुन्। त्यसमा दार्चुला, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, डोटी, अछाम, कैलाली, कञ्चनपुर, बाँके, सुर्खेत, कालिकोट र बर्दियाका बासिन्दा छन्। भारतमा पनि सवारी साधन ठप्प भएपछि हिँडेरै दार्चुलाको नाकासम्म आएका थिए। नेपाल प्रवेशमा सरकारले रोक लगाएपछि उनीहरू भारतका जैलजिबी, दत्तु, धाप, तिग्रम, बंगाबगडजस्ता ठाउँबाट रातारात महाकाली नदी तर्दै छन्।

भारतको ढुंगातोलीबाट दार्चुलाको महाकाली नगरपालिका‐९ चुच्चैसम्म मंगलबार झिसमिसेमै १० जनालाई भारतीयले नदी तराएको दत्तुका क्याम्पस प्रमुख रमेश चैसिरले बताए। उनीहरू महाकाली नगरपालिका–९ मा पर्ने उलेनी लेकतिर गएको उनले सुनाए।

कोरोना संक्रमण देखिएको भारतीय सहरबाट महाकाली तरेर आउनेहरू बिनाजाँच गाउँ पस्दा जोखिम देखिएको छ। दार्चुलाका नौ स्थानीय तहले भरपर्दो क्वारेन्टाइन व्यवस्थापन गर्न नसक्दा दुःख पाएको उनीहरूले बताएका छन्।

महाकाली तरेर रातारात नेपाल आउनेको संख्या झन्डै २ सयभन्दा नाघेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए। महाकालीको तीरै तीर रातभर सुरक्षाकर्मी खटाउन सक्ने अवस्था नभएको उनको भनाइ छ। ‘त्यही मौकामा उनीहरू महाकाली तरेर नेपाल आइरहेका छन्’, उनले भने।

श्रीबगड र दत्तुनजिकैको महाकाली तरेर सोमबार राति ४० जना नेपाल प्रवेश गरेको स्थानीय भोजराज जोशीले सुनाए। घर फर्किन लागेका नेपालीलाई चार–पाँच दिनदेखि सीमा नाकामा भोकभोकै रोकेकाले यस्तो अवस्था आएको उनको ठम्याइ छ।

धार्चुलामा रहेका नेपालीलाई भारतले व्यवस्थापन गर्ने भने पनि उनीहरूले क्वारेन्टाइनमा जान अस्वीकार गरिरहेका छन्। उनीहरू दिनमा एक–दुईपटक पुलघाटनजिक आएर ‘नेपाल लैजा’ भनेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

भारत सरकारले १ हजार नेपालीलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको उप जिल्ला अधिकारी अनिलकुमार सुक्केलले बताए। उनका अनुसार धार्चुलामा ४ र जौलजिबीमा १ गरी पाँच ठाउँमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.