सधैं हतारिने अमेरिकाबासी जीवनको दौडबाट सुस्ताएका छन्
सपनाको देश अमेरिकामा आफ्ना विविध सपना पूरा गर्न मानिसहरू दिनहुँ भागदौड गरिरहेका देखिन्थे। लाग्थ्यो उनिहरूसँग बोल्ने, खेल्ने, खाने, रमाइलो गर्ने कुनै समय छैन। बोल्दा पनि पैसा पर्ला जस्तो गरी उनीहरू कुँदिरहेका हुन्थे। उनीहरूको मनभित्र एउटै चाहना हुन्थ्यो एकदिन परिवारका साथमा सुखले जिन्दगी काटौंला। त्यो अनिश्चित दिनको प्रतिक्षा गर्दै मानिसहरू दिनरात कुँदिरहेका हुन्थे।
मानिसलाई स्वरोजगार हुन सिकाएको देश अमेरिकामा २१ बर्ष पुगेका जवानदेखि बुढेसकालको ज्यान घिसारिरहेकाहरू समेत कतै भागिरहेको दौडिरहेको देखिन्थ्यो। लाग्थ्यो उनीहरू छुट्नै लागेको बस वा रेल भेटाउन दौडिएका हुन्। यसरी कुँदिरहने देशका तिनै मान्छेहरू यतिबेला चुपचाप घरभित्र बसिरहेका छन्। लाग्छ उनीहरू थाकिसके। अनि जीवनको दौडलाई उनीहरूले बीच बाटोमै ‘गीभ अप’ गरे। कोरोनाको कहरले उनीहरू घरभित्रै बन्द कोठामा थुनिएका छन्।
अहिले यहाँका मानिसहरू अनुभूति गरिरहेका छन्, त्यो भागदौडले कहीँ नपुगिने रहेछ। मानिसका बीचमा प्रेम सद्भाव दिनप्रतिदिन हराउँदै गइरहेको भान हुन्थ्यो। पछिल्ला दिनमा कोरोना महामारीको त्रासले मानिसमा जीवनप्रतिको बुझाइ र सोचाइमा परिवर्तन गराइदिएको छ। ठन्डा दिमागले सोचेर हतार नगरी आफू र आफ्नो परिवारका साथमा स्वास्थ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने रहेछ भन्ने महशुस गराइरहेको छ।
अहिले यहाँ दैनिक हजारौं कोरोना संक्रमित थपिइरहेका र दैनिक सयौंले ज्यान गुमाएका खबरहरू आइरहेका छन् । विश्वभरका मुलुकलाई उछिन्दै कोरेना संक्रमणमा अमेरिका पहिलो भएको खबर त पुरानो भइसक्यो।
बिगत दुई सातदेखि म आफैं पनि सेल्फ क्वारेन्टाइनमै बसिरहेको छु।
अमेरिकामा रहेका नेपाली समुदायका व्यक्तिहरू पनि सेल्फ क्वारेन्टाइनमा बसेर परिवारकासाथ रमाइलो गर्दै पुस्तक पढ्दै, दिन कटाइरहेको सुनाउँछन्। सबैले अमेरिका बसाइमा परिवारका सदस्यसँग बसेर यसरी लामो बिताएको पहिलो पटक रहेको बताए ।
पर्वतका दिपक रिजाल अमेरिका आएको सात वर्ष भयो, जहिले भागदौडको जिन्दगी, काम, घर, व्यवसाय अनि सामाजिक कामले उनलाई दिन कटेको पत्तै हुँदैनथ्यो। परिवारका सदस्य एक ठाँउमा बसेर खाना खानका लागि हप्ता दिन कुनुपर्ने अमेरिकाको यर्थाथ हो। अहिले कोरोना कहरका कारण रिजालको सपरिवार दुई सातादेखि घरमै छ।
अमेरिकामा करिब आठ वर्ष बिताएका पोखराका राजु भण्डारीको अनुभव पनि उस्तै छ। मनमा कोरोनाको डर छ, तर लामो समयपछि भण्डारीको परिवारले लामो सास फेरेर घरमा परिवारका साथ रमाउन पाएको छ।
भण्डारी भन्छन्, हामी दुःखद क्षणमा छौं, तर यसले हामीलाई कसरी जीवनयापन गर्नु पर्ने रहेछ भन्ने अनुभूति दिलाएको छ। भण्डारी सम्झन्छन्,‘अमेरिका आएको तीन दिनदेखि काममा दौडिन सुरु गरेको हुँ, म्याराथनको धावक जस्तै निरन्तर दौडिरहेँ गन्तव्यको खोजीमा।'
लामो समयदेखि अमेरिकामा रहेका जनसम्पर्क समितिका नेता प्रमोद सिटौला भन्छन्,‘यतिबेला समयले मानिसलाई मानव भएर कसरी बाँच्ने भन्ने अनुभूत पनि गराएको छ।’ अहिले घरमा बसेर म धार्मिक किताब पढ्दै गरेको उनले जानकारी दिए। ‘भागवत् गीता पढिरहेको छु, अनि केही समय योगलाई पनि छुट्टाएको छु।’ उनले भने।
अप्ठ्यारोमा परेको नेपाली समुदायलाई सहयोग गर्नका लागि समेत काम गरिरहेको सिटौलाले जानकारी दिए।
प्रवासी नेपाली मञ्चका नेता सञ्जय थापा पेशाले इन्जिनियर हुन्। भागदौडको दैनिक जीवनले त्रासमै भएपनि रेष्ट पाइरहेको उनले बताए। उनी अहिले परिवारका साथमा सिनेमा हेर्ने, योग गर्ने, गरिरहेका छन्। नेपालमा परिवार र साथीभाइसँग कुरा गर्ने राजनीतिक तथा आर्थिक बिषय समेटिएका पुस्तक पढेर दिन बिताइरहेको उनले बताए। अहिले कोरोनाबाट संक्रमित भएकाहरूलाई सहयोग गर्ने काममा समेत व्यस्त रहेको थापाले जनाए।
‘दैनिक मानिस मरेका र प्रभावित भएकाहरूको समाचार लेख्नुको पीडा मनमा छ’, पत्रकार किशोर पन्थी भन्छन्, ‘कोरोना महामारीले पारेको असर, प्रभावितहरूले लिनसक्ने सुविधा लगायत जनचेतनाका सामाग्रीहरू सम्प्रेषण गरिरहेको छु।’ पुस्तकहरू पढ्ने अनि सिनेमा हेर्ने, परिवारका साथमा फोनमा कुराकानी गरेर उनले क्वारेन्टाइनका दिनहरू बिताइरहेका छन्।
लोकगायक रामप्रसाद खनाल अमेरिकामा १२ वर्ष बिताउँदा यसअघि कहिलै पनि यति लामो समय घरमै बसेर परिवारसँग समय नबिताएको सुनाउँछन्। यस्तै उनले यसरी डर र त्रासमा समय बिताएको अनुभव पनि पहिलो भएको बताए। व्यवसायमा संलग्न रहेका गायक खनालले यो परिस्थितिको अन्त्य होस भन्दै परिवारका साथमा घरमै बसेर पुस्तक पढ्ेर समय समय कटाइरहेका छन्।
अक्सर मानिसहरूका बीचमा रहने नेकपा निकट नेता राधाकृष्ण देउजा अमेरिकाको अवस्था देखेर डर पैदा हुने गरेको बताउछन्। ‘यो अवस्था यहाँका नेताहरूको कम्जोरीले आएको हो।’ देउजा भन्छन्।, ‘अहिले परिवारकासाथ मन परेका पुस्तक पढ्ेर समय बिताइरहेको छु।’
अधिकारी अन्नपूर्ण पोस्ट्का अमेरिका प्रतिनिधि हुन्।