भोट भाषामा कोरोना सन्देश
जोमसोम : विश्वव्यापी महामारीका रूपमा फैलिएको नोबल कोरोना भाइरस ( कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्न मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका सक्रियताका साथ लागेको छ। पालिकाले सोमबारदेखि नेपाली तथा स्थानीय मातृभाषा अर्थात् भोट भाषामा कोरोनासम्बन्धी जनचेतनामूलक कार्यक्रम अघि बढाएको छ।
पालिकाले स्थानीयवासीलाई नेपाली तथा मातृभाषा दुवैको अनुकूल हुने गरी अडियो प्रचारप्रसार अभियान तीव्र बनाएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए। उनका अनुसार स्थानीय गुरुङ भाषालार्ई ङज्याप भाषा पनि भनिन्छ। विश्वलाई आतंकित पारेको नोबल कोरोना भाइरस फैलिन नपाओस् भन्ने उद्देश्यले सरकारका तर्फबाट गठन समितिको निर्णय अक्षरश कार्यान्वयन गर्न स्थानीय सरकार लागिपरेको अध्यक्ष गुरुङले बताए।
सोमबारदेखि पालिकाका जनप्रतिनिधि तथा कर्मचारीले वारागुङ मुक्ति क्षेत्रका गाउँगाउँमा कोरोनासम्बन्धी अडियो बनाउँदै सर्वसाधारणलाई सचेत गराउने काम गरेको पालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिए। उनले कोरोना नियन्त्रण गर्न पालिका र स्थानीयले समन्वय गरी अघि बढेको उल्लेख गरे।
पालिकाले देश विदेशमा रहेका मुस्ताङवासीलाई गाउँ नफर्की यथास्थानमा रहन अनुरोध गरेको सूचना अधिकारी सूर्य तिमिल्सिनाले बताए। उनका अनुसार जिल्ला बाहिर रहेका पालिकावासीलाई गाउँ फर्कनु परे अनिवार्य १४ दिन पालिकाले खडा गरेको क्वारेन्टाइनमा बस्नुपर्नेसमेत जानकारी गराएको छ। पालिकाले अडियो टेपमार्फत लक डाउनको पूर्ण रूपमा कार्यान्वयन गर्न, अति आवश्यक सेवाबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। यस्तै, पालिकाले हूलहुज्जत नगर्न र सामाजिक दूरी कायम गर्न भनेको छ। रुघा लाग्दा, ज्वरो आउँदा, श्वास प्रश्वासमा समस्या देखिए।
तुरुन्तै स्वास्थ्य चौकीलाई खबर गर्नसमेत पालिकाले सुझाएको छ।