सामुदायिक एम्बुलेन्स चलाउन निर्देशन
काठमाडौं : उपचार अभावमा यसै साता ३ बालबालिकाको ज्यान गयो। बिरामी आफ्ना बालबालिकालाई कहाँ र कसरी लैजाने भन्ने अभिभावकको अलमलले अस्पताल पुर्याउन ढिलो हुँदा उनीहरूको मृत्यु भएको अभिभावकको भनाइ छ। लकडाउनले यातायातका साधन पाउन कठिन भएको र एम्बुलेन्सले पनि बिरामी बोक्न नमानेको ती अभिभावकको गुनासो छ।
पत्रकार गोविन्द चौलागाईंले एम्बुलेन्स नपाएर एक जना चिनजानका व्यक्तिलाई अस्पताल लैजानुपर्दाको पीडा केही दिनअघि सामाजिक सञ्जालमा लेखेका छन्। बौद्ध बस्ने एक जना अशक्तले अस्पताल जान एम्बुलेन्स नपाउँदा आफूलाई गुहारेको र चिनजानका कारण मात्र एम्बुलेन्स अस्पताल जान मानेको उनले उल्लेख गरेका छन्।
कोरोना संक्रमणबाट जोगिन लकडाउन भएपछि एम्बुलेन्सले बिरामी बोक्न नमान्दा बिरामी र आफन्त मर्कामा परेका छन्। कोरोना संक्रमणका कारण अन्य रोगका बिरामी पनि अस्पतालले भर्ना गर्न नमानेको र त्यही कारण एम्बुलेन्सले पनि सुरक्षाको कारण देखाउँदै बिरामी बोक्न नमानेको पीडित बताउँछन्।
बिरामी ओसारपसारमा एम्बुलेन्सको समस्या देखिएपछि भूमिसुधारमन्त्री पदमा अर्यालले सहकारी संस्थाबाट सञ्चालित सहकारी अस्पतालका एम्बुलेन्सलाई बिरामी ओसारपसारमा प्रयोग गर्न सहकारी अभियन्तालाई निर्देशन दिएकी छन्। देशभरि नेटवर्क भएका सहकारी संस्थाका अभियन्तासँग मंगलबार छलफलमा उनले बिरामीलाई अधिकतम सेवा दिन र एम्बुलेन्स सेवा प्रभावकारी बनाउन सहकारी अस्पताललाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।
‘कोरोना संक्रमणको राष्ट्रिय संकटबाट सिंगो देशलाई मुक्त गर्न सहकारी संघसंस्थालाई आ–आफ्नो स्थानबाट भूमिका खेल्नुहोस्,’ मन्त्री अर्यालले निर्देशन दिएकी थिइन्। सहकारी अभियन्ताले एम्बुलेन्स चालकले सुरक्षाका कारण ज्वरो र रुघाखोकीका बिरामी बोक्न आनाकानी गर्ने गरेको बताए। मन्त्री अर्यालले एम्बुलेन्स चालकलाई आवश्यक सुरक्षा सामग्रीसहित काममा खटाउन पनि अभियन्तासँग आग्रह गरेकी थिइन्। उनले सहकारी बैंक र सहकारी संस्था आंशिक रूपमा खोलेर सर्वसाधारणको जीविकोपार्जन, औषधोपचार सेवा दिन र कोरोनासम्बन्धी जागरण कार्यक्रम गर्न पनि निर्देशन दिएकी थिइन्।
यता, सर्वोच्च अदालतले निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्न मंगलबार निर्देशन दिएसँगै बिरामी ओसारपसारमा उपत्यकाका सबै एम्बुलेन्सले सेवा दिने संयुक्त एम्बुलेन्स चालक संघले जनाएको छ।