कोरोना संक्रमणको त्रासले धमाधम मेडिकल बन्द
जाजरकोट : कोरोनाको त्रासले जिल्लामा मेडिकलसमेत धमाधम बन्द हुन थालेका छन्। दुई साता अघिसम्म जिल्लाको छेडागाड नगरपालिकामा मात्रै करिब चार दर्जन मेडिकल सञ्चालनमा थिए।
यतिबेला भने नलगाडको थलहमा रहेको डेभिड मेडिकल सेन्टरबाहेक सबै मेडिकल बन्द छन्। कोरोना संक्रमणको डरले धमाधम मेडिकलसमेत बन्द हुन थालेपछि जिल्लाको ग्रामीण क्षेत्रका स्थानीयको उपचार सेवा प्रभावित भएको छ। लकडाउनको अवधिमा पनि सेवा दिनुपर्ने मेडिकल सञ्चालकले सेवा बन्द गरेर घरतिर लागेपछि स्थानीयलाई सामान्य रोगको समेत उपचार पाउन सकस छ। गाउँका मेडिकल बन्द भएपछि उपचारमा समस्या भएको छेडागाड-५ का जयबहादुर थापाले बताए। जिल्लाभर तीन सयको हाराहारीमा निजी मेडिकल स्थापना भएका छन्। तर अधिकांश अनुमतिबिनै सञ्चालनमा छन्। अनुमति बिनै खुलेका मेडिकलले पनि सेवा दिँदै आएका थिए।
सरकारी स्वास्थ्य संस्थाले पनि सामान्य अवस्थामा अस्पताल नआउनु भन्ने सूचना जारी गरेपछि स्थानीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर छन्। कोरोना संक्रमण भएका बिरामीको उपचारका लागि व्यक्तिगत सुरक्षा सामग्री नभएको र संक्रमित आए आफैं जोखिममा पर्ने भन्दै निजी मेडिकल बन्द गर्नु परेको छेडागाड-५ थलहमा एक मेडिकल सञ्चालकले बताए। मेडिकलमा पर्याप्त औषधि नभएको र लकडाउनका कारण थप औषधि ल्याउन नसकिएको मेडिकल सञ्चालकहरुको भनाइ छ।
सक्रिय बन्दै स्थानीय सरकार
कोरोना भाइरसको महामारीसँग लड्न जिल्लाका स्थानीय सरकार सक्रिय बन्दै गएका छन्। जिल्लामा स्वदेश तथा विदेशबाट फर्किएकाको लगत संकलन गरी होम क्वारेन्टाइनमा राख्ने, गाउँ गाउँमा प्रतिकार समूह गठन गर्ने, विपद् व्यवस्थापन कोष स्थापना, कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ताा, विपन्न वर्गलाई खाद्यान्न उपलब्ध गराउने, जनचेतना फैलाउनेजस्ता पूर्वतयारीका कार्यक्रम गर्दै महामारीविरुद्ध स्थानीय सरकार सक्रिय बन्द थालेका हुन्।
भेरी नगरपालिकाले नगरभित्रका ५६ टोलमा टोलस्तरीय छरितो प्रतिकार कार्यदलसमेत गठन गरेको छ। जुनीचाँदे गाउँपालिकाले घरघरमा निःशुल्क साबुन वितरण गर्नेजस्ता सचेतनाका कार्यक्रम गरिरहेको छ। बारेकोट गाउँपालिकाले २० लाख र नलगाडले २१ लाखको कोरोना रोकथाम तथा नियन्त्रणका लागि विपद व्यवस्थापन कोष स्थापना गरेका छन् भने नलगाड नगरपालिकाले नगरभित्र बसोबास गर्ने भूमिहीन, दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदुरलाई प्रतिपरिवार एक बोराका दरले चामल राहत दिने निर्णय गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए।
किसानको दैनिकी उस्तै
सरकारले लकडाउन गरेको १० दिन बितिसक्यो। सहरी क्षेत्रका मानिस एकाधबाहेक घरभित्रै छन्। तर जाजरकोटका ग्रामीण भेगका मानिस कृषि पेशामा छन्। तिनको दैनिकीमा खासै परिवर्तन आएको छैन। यहाँका कृषक दैनिक तरकारी गोडमेल गर्ने, गाईवस्तुको हेरचाह र आहाराको जोहो गर्ने काममा व्यस्त छन्। तर, उनीहरु समूहमा हिँड्दैनन्।
भेरी नगरपालिका-४ का वडाध्यक्ष खम्बजंग शाहले भने, 'गाउँमा बाध्यता छ। पशुवस्तुलाई आहारा खोज्न पनि घरबाट निस्कनै पर्छ, काम नगरे खान पुग्दैन। त्यसैले लकडाउनले नछोएको हो।' नियमित घाँसदाउरा, गाईबाख्रा चराउन गोठालो जाने, कुटानीपिसानी लगायतका कार्य जारी रहेको बारेकोट गाउँपालिका-२ का वडाध्यक्ष द्धारिका बुढाले बताए। स्थानीय निर्मला भण्डारीले नयाँ मान्छेसँगको संगतदेखि सचेत भए पनि दैनिक काम नरोकिएको बताइन्।