न्युयोर्कः नोभल कोरोनाको ‘न्यू एपिसेन्टर’

न्युयोर्कः नोभल कोरोनाको ‘न्यू एपिसेन्टर’

बिरामीको उपचारका लागि अत्यावश्यक सामग्रीकै अभाव छ। संक्रमितको संख्या चुलिँदै जाँदा डाक्टरहरूले कसलाई बचाउने र कसलाई मृत्युको मुखमा छोडिदिने भन्ने कठोर र अमानवीय निर्णय लिनुपर्ने अवस्था छ।


कोरोना निको भएपछि पनि छैन सुख

फतेही दरहान अस्पतालबाट निस्केर सोझै घर पुगे।

न्युयोर्कको क्विन्सस्थित अस्पतालको बेडमा उनले एक्लै दुई साता बिताएका थिए। मृत्युको मुखैमा पुगेर फर्केपछि उनले कल्पना गरेका थिए, घरमा तामझामपूर्वक मेरो स्वागत होला।

सानो अपार्टमेन्टको ढोकाभित्र छिर्नै लाग्दा उनले आफ्ना तीन बालबच्चा देखे। तिनका आँखामा आफ्नो बुबाको अँगालोमा कसिने उत्कट आकांक्षा देखिन्थ्यो। तर, दरहानले आफूलाई मुस्किलले रोके। 

‘म त जमेजस्तै भएँ,’ ३४ वर्षीय दरहान भन्छन्, ‘म उनीहरूलाई अँगाल्न चाहन्थेँ। तर, त्यो सुरक्षित हुन्छजस्तो लागेन। अब कहिले उनीहरूलाई अंकमाल गर्दा सुरक्षित महसुस हुन्छ, मलाई थाहा छैन।’

कोरोना भाइरस संक्रमितहरूलाई सामान्य जीवनमा फर्किन कति मुस्किल छ, दरहानको यो सन्देहले नै देखाउँछ। कोरोनाले न्युयोर्क महानगरमा जीवनको हरेक आयामलाई बदलिदिएको छ। 

दरहान क्विन्सका पहिला बासिन्दा थिए, जसको कोरोना भाइरस परीक्षणमा पोजिटिभ नतिजा आएको थियो। करिब एक महिना उपचारमा बिताएर निको भइसकेपछि पनि उनलाई लाग्छ, उनी आफ्ना बालबच्चालाई छुन सक्दैनन्। 

अझ उनको मुख्य कष्ट यो होइन। 

बिरामी हुनुअघि उनी उबर चलाउँथे। अहिले उनको त्यो जागिर गुमेको छ। अब के गर्ने, उनलाई थाहा छैन। बचतले कतिञ्जेल खर्च टर्छ, त्यो पनि उनलाई थाहा छैन। 

‘म साह्रै चिन्तित छु,’ उनी भन्छन्। 

दरहानजस्तै कोरोनालाई जितेर बाँचेकाहरू थुप्रैले बल्ल त्यसको प्रभाव महसुस गर्न थालेका छन्। कतिले रोजगारी गुमाएका छन्, कतिले गम्भीर एन्जाइटीजस्ता मानसिक समस्यासँग जुध्नु परिरहेको छ। 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको नयाँ निर्देशिकामा कोरोना भाइरसबाट निको भइसकेकाले के गर्ने भन्नेबारे उल्लेख छ। जसअनुसार औषधि नखाई बस्दा छ दिनसम्म पनि ज्वरो वा अन्य लक्षण देखिएन भने कोरोना संक्रमणबाट मुक्त भएकाले आफूलाई आइसोलेट गर्न जरुरी छैन। तर, कोरोना नयाँ भाइरस भएकाले अधिकारीहरूले यसबारे दिने सल्लाह–सुझाव पनि परिवर्तन भइरहेको छ। त्यसैले यो रोगबाट आतंकित भएका दरहान कुनै जोखिम मोल्न चाहँदैनन्। 

उनको अपार्टमेन्टमा जम्मा दुई वटा बेडरुम छन्। एउटामा उनकी पत्नी अनि तीन सन्तान, अली, हादिल र सारा सुत्छन्। आफू अर्को बेडरुममा सुत्छन्। अरू बेला पनि उनी परिवारका सदस्यभन्दा कम्तीमा छ फिट टाढै बस्छन्। खाना खाँदा अथवा एकै कोठामा हुँदा उनी एउटा कुनामा बसेका हुन्छन्, अरू अर्को कुनामा।

यमनबाट बसाइँ सरेर अमेरिका आएका दरहान भन्छन्, ‘मलाई छोराछोरीसँग खेल्न मन लाग्छ। उनीहरूसँगै बसेर टीभी हेर्न मन लाग्छ।’ तर, उनलाई डर छ, कतै भाइरस आफ्नो शरीरमा अझै बाँकी त छैन ! त्यसैले उनी तिनको नजिक जान सक्दैनन्। बरु अर्को कोठामा बसेर फेसटाइममार्फत कुराकानी गर्छन्।

‘मृत्युको मुखमा पुगेर फर्केर आएँ,’ उनी भन्छन्, ‘जिन्दगीमा फर्केर आएँ। अहिले घरमै बसिरहेको छु। तर, अझै लाग्छ, त्यो दुःस्वप्न सकिएकै छैन।’

वास्तवमा युद्धमा ज्यान गुमाउने र घाइते हुने सैनिकले जस्तो पीडा भोग्छन्, अहिले विश्वभर कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मीको मानसिक अवस्था त्यस्तै छ।

दरहानको उपचार फेब्रुअरी २८ मा सुरु भएको थियो। ज्वरो बढ्दै गएपछि, सास फेर्न अप्ठेरो हुँदै गएपछि उनी त्यो दिन फार रकवेस्थित सेन्ट जोन्स हस्पिटलको आकस्मिक कक्षमा भर्ना हुन पुगेका थिए। तर, केही घण्टापछि उनलाई त्यहाँबाट डिस्चार्ज गरियो र भनियो– ‘फलोअपमा प्राथमिक उपचारसम्बन्धी डाक्टरलाई देखाउनू।’ 

तर, जब उनी घर फर्किए, उनलाई बस्न गाह्रो हुन थाल्यो। उनको अवस्था झन्झन् बिग्रिँदै गयो। छाला पोल्न थाल्यो, मानौँ नसामा रगत होइन, आगो बगिरहेको छ। कुनै अदृश्य चक्कु फोक्सोमा बारम्बार रोपिएझैँ महसुस गरे। 

‘यसअघि जिन्दगीमा मलाई कहिल्यै पनि त्यस्तो महसुस भएको थिएन,’ दरहानले भने, ‘मलाई थाहा भइसकेको थियो, यो रोग बेग्लै हो। त्यसबेला मैले सोचेँ, कतै कोरोना भाइरस त होइन ?’

उनी फेरि सेन्ट जोन्स हस्पिटल गए। डाक्टरहरूले भाइरस परीक्षण गरे। नभन्दै कोरोना पुष्टि भयो। लगत्तै अस्पतालका ४० जना स्टाफ र उनको परिवारका सदस्य दुई सातासम्म आइसोलेसनमा बस्न बाध्य भए। तर, गत शुक्रबारसम्ममा कसैमा पनि कोरोना पोजिटिभ देखिएको छैन। 

अस्पतालका चिफ मेडिकल अफिसर डा. डोनाल्ड मोरिस पहिलो बिरामी निको पार्न सफल भएकोमा खुशी व्यक्त गर्छन्। तर, बिरामीको संख्या बढ्दै जाँदा पहिलो बिरामीको जस्तै अरूको पनि उपचार गर्न चुनौतीपूर्ण रहेको उनले बताए। उनको अस्पतालमा २ सय ५७ बेड छन्। अहिले बेडको अभाव त छ नै, अत्यावश्यक स्वास्थ्य सामग्री पनि अभाव भइरहेको छ। 

‘आधारभूत सामान आपूर्तिका लागि पनि हामीले अरू अस्पतालसँग प्रतिस्पर्धा गरिरहेका छौँ,’ डा. मोरिस भन्छन्, ‘हामीसँग पर्याप्त स्रोत छैन। बिरामीको संख्या हरेक मिनेट थपिइरहेको हुन्छ।’

दरहानले ट्याक्सी चलाउन थालेको दुई महिना मात्र भएको थियो। घरमा नौ वर्ष, दुई वर्ष र छ महिनाका बच्चा भएका उनी कमाएर घरखर्चमा पत्नीलाई सहयोग गर्न चाहन्थे। उनले ट्याक्सी चलाउन सुरु गर्दा न्युयोर्कमा कोरोना भाइरस देखिएकै थिएन। ट्याक्सीका यात्रुबाटै आफूलाई भाइरस सरेको हुनसक्ने उनको अनुमान छ। 

‘कुन चाहिँ यात्रुबाट स¥यो, मलाई ठ्याक्कै थाहा छैन,’ उनी भन्छन्, ‘म धेरैजसो समय कारमै बिताउँथेँ।’

उबरका एक प्रवक्ता एन्ड्र्यु हसबनले कोरोना भाइरस पोजिटिभ देखिएका वा क्वारेन्टिनमा बस्न बाध्य ड्राइभरहरूलाई केही समयसम्म नगद सहयोग गर्ने जानकारी दिए। पूरै निको भइसकेका ड्राइभरले काममा फर्किन निवेदन दिनसक्ने पनि उनले बताए। यद्यपि, महामारीका कारण यो व्यवसाय लगभग ठप्प छ। 

अनिल सुब्बा नामक एक जना उबर ड्राभइरको गत मंगलबार मृत्यु भयो। विमानस्थलबाट एक यात्रुलाई गन्तव्यसम्म पु¥याएपछि उनलाई कोरोनाको संक्रमण देखिएको थियो। 

दरहान यो रोगबाट बच्न सफल भएकामा आफूलाई भाग्यमानी ठान्छन्। जसले न्युयोर्कमा हजारभन्दा बढीको ज्यान लिइसकेको छ। 

अस्पतालको एकान्तवासमा १६ दिनसम्म आफूले भोगेको पीडा उनी स्मरण गर्छन्। हर समय उनको तापक्रम सय डिग्रीभन्दा माथि थियो। जसले पूरै शरीर जलेजस्तो महसुस गर्थे। खास गरी, बिहान र राति उनलाई सास फेर्न गाह्रो हुन्थ्यो। पीडाले उनको शरीर प्रायः बटारिन्थ्यो। एक्लोपनले शारीरिक पीडा झनै बढेको उनको भनाइ छ। उनको उपचारमा खटिएका डाक्टर र नर्सबाहेक कसैले पनि उनलाई भेट्न पाएनन्।

‘हे ईश्वर, मलाई चाँडो निको बनाइदेऊ भनेर म प्रार्थना गरिरहेको हुन्थेँ,’ उनी भन्छन्, ‘म आफ्नो परिवारलाई फेरि भेट्न पाउने दिनको कल्पना गरिरहेको थिएँ, उनीहरूलाई अँगाल्न पाएको क्षणको कल्पना गरिरहेको थिएँ।’

नौ दिनपछि बल्ल उनका लक्षण कम हुँदै गए। त्यसको एक सातापछि उनका सबै लक्षण गायब भए र उनी डिस्चार्ज भए। ‘त्यो क्षण म मान्छेहरूलाई एउटै कुरा भन्न चाहन्थेँ,’ उनी भन्छन्, ‘त्यो हो, यो निकै गम्भीर रोग हो, तर यसबाट निको हुन सकिन्छ।’ 

स्वास्थ्य राम्रो भएसँगै उनका नयाँ चिन्ता थपिँदै गए। अब परिवारको खर्च कसरी धान्ने, उनी केही सोच्न सकिरहेका छैनन्। कोठाभाडा र अरू खर्च गरेर मासिक १५ सय डलर लाग्ने उनको भनाइ छ। 

‘बाहिर जागिर खोज्दा केही पाइँदैन,’ उनले निराशापूर्वक भने, ‘सबैथोक बन्द छ।’

घाइते योद्धाजस्ता डाक्टर 

न्युयोर्क क्विन्सकै एक अस्पतालको इमर्जेन्सी विभागमा काम गर्छन्, डा. फ्रेड मिलग्रिम। उनले हालै ‘दी एट्लान्टिक’मा कोरोना भाइरस संक्रमितहरूको उपचार अनुभवबारे एक आलेख लेखेका छन्। 

‘यो अस्पतालमा मृत्युको मुखमा नपुगिसकेकाले डाक्टरलाई भेट्न पनि छ, आठ वा १० घण्टा पर्खिनुपर्ने हुनसक्छ,’ उनी लेख्छन्, ‘अस्पतालमा भर्ना भइसकेकाले बेड पाउन एक दिन कुर्नुपर्ने हुनसक्छ। हामी अत्यन्त व्यग्र र थकित भइसकेका छौँ।’ 

बाहिरका मानिसलाई कोराना भाइरस अदृश्य भय भए पनि अस्पतालभित्र भाइरसको आतंक प्रस्ट रुपमा देख्न सकिने उनको भनाइ छ। 

हरेक दिन कोभिड–१९ युनिटमा आइपुगिसकेपछि उनी गाउन लगाउँछन्। एन–९५ मास्क र तीन वटा पञ्जा पनि खप्ट्याएर लगाउँछन्। बीचमा एक पटक खाजा खानका लागि मात्र उनी मास्क खोल्छन्। हरेक दिन १२ घण्टा मास्क कस्सिँदा उनको नाकको डाँडीबाट रगत आउलाजस्तो भइसकेको छ। त्यति स्वास्थ्य सामग्री पाउँदा पनि उनी आफूलाई भाग्यमानी ठान्छन्। 

उपचारमा खट्दाखट्दा थकित भएका उनी खोकी लाग्दैमा वा ज्वरो आउँदैमा अस्पताल नआउन मानिसहरूलाई सुझाउँछन्। केही दिनपछि दुई जना बिरामी एउटै भेन्टिलेटरमा जोड्नुको विकल्प नभएको उनको भनाइ छ। ‘अर्को सातादेखि हामीसँग दुई जनामा एउटै भेन्टिलेटर प्रयोग गर्नुको विकल्पै नहुन सक्छ,’ उनी भन्छन्, ‘हामीले अहिले घर पठाएका तुलनात्मक रूपमा स्वस्थ सयौँ बिरामी सास फेर्न नसकेर अस्पताल फिर्ता आउन सक्छन्।’ 

कोरोना भाइरस संक्रमित पहिलो बिरामीको मृत्यु भएपछि उनलाई निकै ठूलो मानसिक चोट लाग्यो। जसलाई उनका निम्न पंक्तिले प्रस्ट पार्छन्ः  

‘गत साता डायलाइसिस गराइरहेकी एक वृद्ध महिलाको मैले जाँच गरेँ। उनलाई सामान्य खोकी लागेको थियो। ज्वरो थिएन। एक्सरेमा फोक्सो राम्रो देखिएपछि हामीले उनलाई घर पठाउने निर्णय ग¥यौँ। तर, ट्याक्सी नआइपुग्दै उनको ज्वरो १ सय २ डिग्रीभन्दा माथि पुग्यो। तत्काल योजना परिवर्तन भयो। उनको उमेर र जटिल रोगका कारण हामीले उनलाई भर्ना ग¥यौँ।  

‘भोलिपल्ट राति मेरो छेउबाट एउटा स्ट्रेचर गुड्दै पार भयो। चिकित्सकहरूले स्ट्रेचरको बिरामीको छाती थिचेर सास फेराउने प्रयास गरिरहेका थिए। 

‘उनलाई मृत घोषित गरिसकेपछि मात्रै मैले उनको नाम थाहा पाएँ। तिनी अघिल्लो रात मैले हेरेकै बिरामी थिइन्। वार्डमा उनले बेड पाउनुअघि नै उनलाई हृदयाघात भएको थियो। कोभिड–१९ का कारण मृत्यु भएको उनी मेरो पहिलो बिरामी थिइन्। त्यसयता यो संख्या निरन्तर बढिरहेको छ। 

‘म र मेरा सहकर्मीहरू यो महामारीका विषयमा असहायपूर्वक कुराकानी गर्छौं। हामीमध्ये केही बिरामी भइरहेका छन्। हाम्रा लागि क्षणमै संसार बदलिन सक्छ। हामीले हेर्नुपर्ने बिरामीको मात्रा र तरिका दिनदिनै परिवर्तन हुन्छ। जुनसुकै दिन मास्क सकिन सक्छ। हामी थुप्रै कुरा सोच्छौँ, तर एकअर्कासँग भन्न डराउँछौँ।’

इमर्जेन्सीमा बिरामीको ज्यान बचाउन नसकेर हरेस खाएका स्वास्थ्यकर्मीका लागि कसलाई कोरोना लागेको छ, कसलाई छैन भन्ने कुराले केही फरक नपार्ने उनको भनाइ छ। ‘म तपाईंलाई आफ्नो अस्पतालमा देख्न चाहन्नँ,’ उनी भन्छन्, ‘अमेरिकाको कुनै पनि अस्पताल गएको देख्न चाहन्नँ। तपाईं आफ्नो घरबाट निस्केको म देख्न चाहन्नँ। अस्पताल भर्नाको आवश्यकता नपरुञ्जेल तपाईं कोरोना भाइरसको परीक्षण गर्न नजानुहोस्। कसलाई कोरोना लागेको छ, कसलाई छैन भन्ने जान्दैमा हामी अग्रभागमा भएका स्वास्थ्यकर्मीलाई केही फरक पर्दैन। त्यसले बिरामीलाई उपचार गर्ने हाम्रो क्षमता वा अक्षमता परिवर्तन गर्दैन।’

‘चीनले इटालीलाई चेतावनी दिएको थियो, इटालीले हामीलाई। तर, हामीले सुनेनौँ। अब अमेरिकाको एउटै कर्तव्य भनेको न्युयोर्कलाई सुन्नु हो,’ उनी भन्छन्।

वास्तवमा युद्धमा ज्यान गुमाउने र घाइते हुने सैनिकले जस्तो पीडा भोग्छन्, अहिले विश्वभरका कोरोनासँग जुधिरहेका स्वास्थ्यकर्मीको मानसिक अवस्था त्यस्तै नै छ। 

इटनली, स्पेन, अमेरिकाजस्ता सबैभन्दा बढी प्रभावित मुलुकमा आवश्यक सुरक्षा सामग्रीबिनै चिकित्सकहरू मानिसको ज्यान जोगाउन संघर्षरत छन्। इटालीमा मात्र हालसम्म ६१ चिकित्सकको कोरोना भाइरसबाट मृत्यु भइसकेको छ। स्पेनमा १२ हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यो स्पेनको जम्मा संक्रमितको १४ प्रतिशत हिस्सा हो। यसअघि चीनको वुहानमा पनि दर्जनौँ स्वास्थ्यकर्मीले ज्यान गुमाएका थिए।

अझ बिरामीको उपचारका लागि अत्यावश्यक सामग्रीकै अभाव छ। संक्रमितको संख्या चुलिँदै जाँदा डाक्टरहरूले कसलाई बचाउने र कसलाई मृत्युको मुखमा छोडिदिने भन्ने कठोर र अमानवीय निर्णय लिनुपर्ने अवस्था छ। यसले चिकित्सकहरूको मानसिक स्वास्थ्यमा निकै गम्भीर असर पारिरहेको छ। आफूले बिरामीको ज्यान बचाउन नसक्दा उनीहरू निरीह महसुस गरिरहेका छन्। 

तर, संसार निकै क्रूर छ। त्यसको उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन। महामारी नफैलिँदै नेपालमै स्वास्थ्यकर्मीलाई भाडाको घरबाट निकालिएका घटना बाक्लै भइरहेका छन्। उनीहरूले दुव्र्यवहार बेहोरिरहेका छन्। मंगलबार मात्र सिन्धुलीका स्वास्थ्यकर्मीलाई घरबेटीले निकालेको समाचार प्रकाशित भएका छन्। आफ्ना २२ स्वास्थ्यकर्मीलाई घरबाट निकालिएपछि सिन्धुली अस्पतालले उनीहरूका लागि अस्पतालमै बस्ने व्यवस्था मिलाएको छ।

यस्तै दृश्य संसारका अन्य स्थानमा पनि देखिएका छन्। भारतका विभिन्न स्थानमा चिकित्सकहरू भाडाको कोठाबाट मात्र होइन, आफ्नो घर र अस्पतालबाटै बाहेक गरिएका छन्। उनीहरू अस्पतालकै बाथरुम र भुइँमा सुतेर बिरामीको उपचार गरिरहेका छन्। 

मर्नेको संख्या एक लाखमा रोक्नु ठूलो सफलताः ट्रम्प

बिहीबार बिहान ११ बजेसम्मको ‘वल्र्डाेमिटर’को तथ्यांकअनुसार कोरोना भाइरसबाट संक्रमितको संख्या विश्वभर ९ लाख ३६ हजार नाघेको छ। ४७ हजारभन्दा बढी मान्छेको मृत्यु भइसकेको छ। त्यसै गरी, निको हुने संख्या १ लाख ९४ हजार नाघेको छ। चीनबाट सुरु भएको यो महामारीको नयाँ एपिसेन्टर अमेरिका बनेको छ। चीनलाई यसअघि मृतक र संक्रमितको संख्यामा इटाली र स्पेनले उछिनेका थिए। तर, यही साता अमेरिकाले यी सबै मुलुकलाई उछिनेको छ। 

अमेरिकामा भाइरसबाट संक्रमितको संख्या २ लाख १५ हजार पार भइसकेको छ भने मृतक संख्या ५ हजार १ सयभन्दा बढी पुगेको छ। अर्थात्, ११ सेप्टेम्बर २००१ को आतंकवादी हमलामा भन्दा बढी अमेरिकी कोरोना भाइरसबाट मारिइसकेका छन्। अझ भियतनाम र कोरिया दुवै युद्धमा भन्दा धेरै कोरोनाबाट मारिने आकलन गरिँदै छ। भियतनाम युद्धमा ५८ हजारभन्दा बढी अमेरिकीको ज्यान गएको थियो भने कोरिया युद्धमा ४० हजार। 

सोमबार मात्र अमेरिकामा पाँच सय मानिसको ज्यान गयो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्प भने मृतकको संख्या वृद्धि भएकामा भन्दा अर्थतन्त्र डुब्ला कि भनेर बढी चिन्तित देखिन्छन्। उसो त ट्रम्पको प्राथमिकतामा मानव जीवन र यथार्थभन्दा अन्यत्र चिज नै बढी देखिन्छ। कोरोना भाइरसविरुद्धको तयारी तीव्र बनाउनुपर्ने बेलामा ट्रम्प यसलाई ‘चिनियाँ भाइरस’ पुष्टि गर्न कम्मर कसेर लागे। धेरै दिनसम्म उनको हरेक वक्तव्य र ट्वीटमा यो पदावलीले स्थान पायो। तर, महामारीको कहरले थिचेपछि भने हतारहतार उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवाद गरे। सीले पनि सक्नेजति सहयोग गर्ने वचन दिए। त्यसयता ट्रम्पले ‘चिनियाँ भाइरस’ शब्द उच्चारण गरेका छैनन्। अमेरिका कति तयारीविहीन अवस्थामा थियो भने इटाली चरम संकटमा परेका बेलासमेत उसले इटालियन कम्पनीबाटै कोरोना टेस्ट किट किनेको थियो। रुससँग पनि अमेरिकाले सहयोग लिएको छ। 

तर, यो विपत्तिले ट्रम्पलाई कुनै असर गरेको देखिँदैन। उनले त मुलुकमा जारी ‘सटडाउन’ र ‘सोसल डिस्ट्यान्सिङ’को निर्देशनलाई पनि समाप्त गर्ने योजना बनाएका थिए। तथापि, विज्ञहरूको दबाबमा अन्ततः त्यसलाई अप्रिलको अन्तिमसम्म लम्ब्याउने घोषणा गरिएको छ। 

सोमबार मात्र ट्रम्पले कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाखभित्र सीमित गर्न सकिए आफ्ना लागि त्यो ठूलो सफलता हुने दाबी गरे। ह्वाइट ह्वाइसको रोज गार्डेनमा बोल्दै ट्रम्पले यस्तो निराशाजनक भविष्यवाणी गरेका थिए। ‘सटडाउन नगरिएको भए २२ लाख मानिसको मृत्यु हुनेवाला थियो,’ ट्रम्पले भने, ‘त्यसैले त्यो संख्यालाई एक लाखभन्दा तल राख्नसके अथवा दुई लाखभन्दा तल राख्नसके त्यो निकै राम्रो काम हुनेछ।’

अमेरिकाका शीर्ष संक्रामक रोग विज्ञ डा. एन्थोनी फौकीले पनि अमेरिकामा एक लाखको ज्यान जानसक्ने चेतावनी दिएका छन्। 

अर्को बम भारत ?

कोरोना भाइरसको महामारी विश्वभर फैलिँदै जाँदा भारत सबैभन्दा जोखिमपूर्ण मुलुकका रूपमा उभिएको छ। सवा अर्ब जनसंख्या भएको यो विशाल देशले महामारी धान्न नसक्ने विज्ञहरूको भनाइ छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन घोषणा गरेका छन्। यसले भाइरस विस्तारको जोखिम केही कम गरे पनि अझै भारतले ठूलो विपत्तिको सामना गर्नुपर्ने हुनसक्छ। सेन्टर फर डिजिज डाइनामिक्स, इकोनोमिक्स एन्ड पोलिसीका निर्देशक डा. रामानन लक्ष्मीनारायणले भारतमा तीनदेखि पाँच करोड मानिस संक्रमित हुनसक्ने चेतावनी दिएका छन्। कम्तीमा १० लाखलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने उनको भनाइ छ। 

तर, उनका अनुसार भारतसँग जम्मा एक लाखभन्दा कम आईसीयू बेड र २० हजार भेन्टिलेटर मात्र छन्। तीमध्ये बहुसंख्यक ठूला शहरमा छन्। भारतमा इटालीको भन्दा भयानक दृश्य देखापर्नसक्ने चेतावनी उनले दिएका छन्। उसो त भारतको जनस्वास्थ्य सूचक पनि खराब छ। भारतको जनसंख्याको झण्डै एकतिहाइ उच्च रक्तचापबाट पीडित छ। त्यस्तै १० वयस्कमध्ये एक जनामा मधुमेह छ। केटाकेटी कुपोषित छन्। भारतमा क्षयरोग, निमोनिया, धूम्रपान र वायु प्रदूषणको समस्या पनि बढी छ। यी समस्याले ग्रस्त व्यक्तिमा कोरोनाले जटिलता निम्त्याउने गरेको छ। 

उसो त भारतको सामाजिक चेत र आर्थिक अवस्था पनि कमजोर छ। मुम्बईजस्ता ठूला शहरमा सयौँ मानिस एउटै ट्वाइलेट प्रयोग गरिरहेका छन्। जहाँ आइसोलसनको मापदण्ड पूरा गर्न सम्भव नै छैन। बिनातयारी गरिएको लकडाउनका कारण दशौँ लाख मजदुर खानेपिउनेजस्ता आधारभूत आवश्यकता पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन्। दिल्ली, मुम्बईजस्ता ठूला शहर छोडेर पैदल गाउँ फर्किने कामदारहरूको ताँती लागेको छ। प्रहरीले उल्टै त्यस्ता मानिसमाथि ज्यादती गरिरहेको छ। 

उत्तर प्रदेशको बरेलीमा घर फर्किरहेका कामदारहरूलाई सरकारी अधिकारीहरूले रासायनिक झोलले नुहाइदिएका छन्। यो घटनाको भिडियो सार्वजनिक भएपछि त्यसबारे अनुसन्धान हुने जनाइएको छ। 

भारतमा हालसम्म १२ सयभन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन्। मृत्यु हुनेको संख्या ३० नाघेको छ। 

–एजेन्सीको सहयोगमा कवि आचार्य 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.