आफूखुसी राहत नबाड्न प्रशासनको चेतावनी
बेंसीसहर : कोभिड -१९ को बहानामा जथाभावी सहायता संकलन र वितरण नगर्न जिल्ला प्रशासन कार्यालय लमजुङले चेतावनी दिएको छ। विपन्न र मजदुरी गर्दै आएकाहरुका लागि खाद्यान्नलगायत राहत सामग्री एकद्वार प्रणालीमार्फत संकलन तथा वितरण गर्न प्रशासनले आग्रह गरेको छ। सबैखाले सहायता वडा कार्यालयमार्फत बाड्नुपर्ने र आफूखुसी सहायता सामग्री संकलन तथा वितरण गरेको पाइए कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कुनै पनि निकाय, संघसंस्था, व्यक्तिले सहायता दिन चाहे सम्बन्धित स्थानीय तहको समन्वयमा दिनुपर्ने बताए। स्थानीय तहले तोकेको मापदण्डअनुसारको सहयोग सामग्री भए मात्र स्थानीय तहले स्वीकार गरी वडास्तरीय समितिमार्फत वितरण गर्न प्रशासनले आग्रह गरेको छ। राहात सामग्री वितरणको विवरण भने जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्छ।
सरकारले वडाध्यक्षको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समिति गठन गर्न निर्देशन दिइसकेको छ। समितिले आफ्नो वडामा रोजगारी नभएका परिवारको लगत संकलन गर्नेछ। आवश्यकताअनुसार चार जनासम्मको परिवार र चार जनाभन्दा बढीको परिवारलाई दुई प्रकारको प्याकेजमार्फत खाद्यान्न वितरण गर्न समितिलाई प्रशासनले आग्रह गरेको छ।
गण्डकी प्रदेश सरकारले राहत प्याकेजअन्तर्गत हरेक नगरपालिकाका लागि १० लाख रुपैयाँ र गाउँपालिकाका लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ। स्थानीय तह आफैंले पनि राहत प्याकेज घोषणा गरेर वितरण थालिसकेका छन्।