भारतमा महामारी र भोकमरी
लकडाउन सुरु हुनेबित्तिकै ठूला शहर छाडेर बाहिर निस्किँदै गरेका आप्रवासी कामदारका लामा–लामा लस्कर देखिए। त्यो देख्दा धेरैले बेलायती उपनिवेशकालमा भारतले भोगेको भोकमरी स्मरण गरे।
सुप्रिया नायर
मुम्बई संसारको दोस्रो सबैभन्दा भीडभाडयुक्त शहर हो। ‘लकडाउन’ सुरु भएपछि यो नगर घरभित्रै बस्ने प्रयास गरिरहेको छ। तर, यो नगर ‘सोसल डिस्ट्यान्सिङ’ का लागि बनेकै होइन। जबदेखि मुम्बई बेलायती साम्राज्यको गोदामघर बन्यो, तबदेखि नै यो नगरलाई चलायमान राखिराख्ने प्रयास हुँदै आयो। यहाँ न श्रम रोकिन्छ, न पुँजी। गएको १५ दिनदेखि यहाँका नागरिक सार्वजनिक स्थलबाट पछि हटिरहेका छन्। यहाँका बहुसंख्यक मानिस अहिले दुई वा तीन कोठाको छाप्रामा कैद छन्। त्यस्ता घरका भित्ता टिन वा त्रिपालले छुट्याइएका र बारिएका हुन्छन्। यस्ता छाप्रा पसल, रेस्टुराँ र भीडभाड लागिरहने औषधि पसलसँगै टाँसिएका हुन्छन्। आइसोलेसनको अवधारण ती व्यक्तिका लागि मात्र सुहाउँदिलो हुन्छ, जो अट्याच्ड बाथरुम भएको आफ्नै फराकिलो घरमा बस्छन्।
मुम्बईमा कोरोना भाइरस संक्रमितको संख्या न्युयोर्कको जस्तो धेरै छैन। अहिले संसारका संक्रमितमध्ये १० प्रतिशत संख्या न्युयोर्क शहरमा छ। तर, मुम्बईमा अहिलेसम्म ७४ जना मात्र संक्रमित देखिएका छन्। केन्द्रीय सरकारले देशव्यापी लकडाउन गर्नुअघि नै मुम्बईका अधिकारीहरूले शहर ठप्प पारिसकेका थिए।
संसारका अन्य शहरमा जस्तै मुम्बईमा पनि कोरोना भाइरस सर्वप्रथम विदेश यात्रा गरेर फर्केकामा देखिएको थियो। तर, गत साता यो भाइरस पहिलो पटक मुम्बईको सुकुम्बासी बस्तीमा देखाप¥यो। यो एकदमै खतरनाक विषय हो। किनभने, सो क्षेत्रमा तत्काल भाइरसको विस्तार रोक्न सकिएन भने यसको नतिजा भयानक हुन सक्छ।
यस्तो परिस्थितिमा सवा अर्ब मानिसलाई कडाइपूर्वक क्वारेन्टिनमा राख्ने निर्णय उचित लाग्न सक्छ। किनभने, महामारीको दुःखान्तलाई रोक्ने अर्को उपाय देखिँदैन। तथापि, लकडाउनको भोलिपल्ट बिहान नै अर्को दुःखान्त आइपर्न लागेको स्पष्ट देखिइसकेको थियो।
लकडाउन सुरु हुनेबित्तिकै ठूला शहर छाडेर बाहिर निस्किँदै गरेका आप्रवासी कामदारका लामा–लामा लस्कर टेलिभिजनहरूले देखाए। उनीहरू खाली सडकमा खाली पेट लिएर चर्को घाममा पैदल आफ्ना गाउँ फर्किरहेका थिए। उद्योग र निर्माणकार्य बन्द भएपछि ज्यालादारीमा काम गर्ने मजदुरहरूको रोजगारी तत्काल गुम्यो। उनीहरू आफ्ना लागि खाना र बास धान्न नसक्ने भए। बस र रेल सेवा बन्द भएपछि उनीहरूसँग गाउँ फर्किने यातायातको साधन पनि भएन। मुम्बईबाट कन्टेनरमा लुकेर भाग्दै गरेका तीन सय कामदार पक्राउ परे। दिल्लीबाट सीमा जोडिएको उत्तर प्रदेश राज्यतिर कामदारहरूको लाइन हिँड्यो। त्यो देख्दा धेरैले बेलायती उपनिवेशकालमा भारतले भोगेको भोकमरी स्मरण गरे।
भाइरसविरुद्धको यो युद्धमा भारत कसरी बिनातयारी एकैपटक होमिन पुग्यो त ? बेलायती साम्राज्यको बुटमुनि भारत पिल्सिएको थियो। त्यो कष्टलाई कम गर्न भनेरै स्वतन्त्र भारतमा बिस्तारै कल्याणकारी राज्यको विकास भएको थियो। जहिले पनि यो राज्यको मुख्य काम हो– भोकाएकाको पेट भर्नु। देशको सबैभन्दा लोकप्रिय नेता नरेन्द्र मोदीको नेतृत्वमा अहिले भारतमा शक्तिशाली केन्द्रीय सरकार छ। त्यसमाथि फेब्रुअरी महिनादेखि विपक्षी दलका नेताहरूले जोखिम बढ्दै गएको चेतावनी सरकारलाई दिँदै आएका थिए। दक्षिणी भागमा अवस्थित केरला राज्यले व्यापक कोरोना परीक्षण र क्वारेन्टिनका उपाय लागू ग¥यो। र, आफ्नो सीमाभित्र हप्तौँसम्म भाइरसलाई अनियन्त्रित हुन दिएन।
भाइरस आउँदै छ भन्ने जान्दाजान्दै भारतजस्तो मुलुकले एकैपटक महामारी र भोकमरीको जुम्ल्याहा संकट भोग्नुपर्ने अवस्था आउनदिनु हुन्नथ्यो। तर, हामी त्यहीँ आइपुगेका छौँ। विश्वका प्रत्येक मुलुकले यो रोगलाई रोक्ने क्रममा आफूले गरेको गल्तीको सजाय भोगिरहेका छन्। त्यसैले कोभिड–१९ का लागि बाँकी विश्वझैँ भारत पनि तयार नहुनु स्वाभाविक हो। चीन र अमेरिकाबाहेक भारतमा सबैभन्दा धेरै अर्बपति छन्। तैपनि, यहाँ संसारकै सबैभन्दा धेरै क्षयरोगी छन्। यस्तो मुलुकमा यो संकट आउनुलाई आश्चर्यजनक मान्न मिल्दैन।
भारतका महामारी विशेषज्ञहरूलाई पहिले नै थाहा थियो, लकडाउनले यो मुलुकमा युरोपमा जस्तो काम गर्नेवाला छैन। युरोपमा जस्तो प्रत्येक घरमा आधारभूत आवश्यकता पूर्ति हुनसक्ने पूर्वाधार भारतमा छैन। त्यसैले खाद्यान्न आपूर्तिदेखि लिएर कृषि कार्य गर्न कफ्र्यूमा समेत छुट दिइने गरिएको छ।
त्यसैले भाइरस नियन्त्रणका लागि लकडाउनको सट्टा अन्य उपाय अपनाउनुपर्ने संक्रामक रोग विशेषज्ञ डा. जयप्रकाश मुलिलको सुझाव छ। उनले ठूलो भीडभाड नगर्न र महिनौँसम्मका लागि सोसल डिस्ट्यान्सिङको अभ्यास गर्न सुझाएका छन्। ‘भारतसँग रहेको एक मात्र विकल्प भनेको भाइरसको जोखिम न्यूनीकरण गर्नु हो न कि पूरै देशलाई सैन्यकरण,’ उनले भनेका छन्। यो सुझाव हेर्दा टेढो देखिन्छ, तर यसमा हामीलाई काम लाग्ने कुरा छ। यतिबेला भारतमा प्रहरीहरू सडकमा बर्बरता प्रस्तुत गरिरहेका छन्। बाँच्नका लागि अत्यावश्यक सरसामानको खोजीमा घरबाहिर निस्केकाहरूलाई प्रहरीले पिटिरहेको छ, बेइज्जत गरिरहेको छ। अहिलेसम्म प्रहरीको बर्बरताका यी दृश्य हामीले हेर्न पाइरहेका छौँ। किनभने, सरकारले सञ्चारमाध्यमलाई पनि ‘आवश्यक सेवा’ अन्तर्गत राखेको छ। जसले आपत्कालीन अवस्थामा पनि काम गर्नैपर्छ। तर, यही बेला टेलिभिजन र ह्वाट्सएपबाट गलत सूचना र प्रोपागान्डाको बाढी पनि आइरहेको छ। तिनले अन्धविश्वास, चिकित्सासम्बन्धी अफवाह, अल्पसंख्यकमाथि लक्षित नश्लीय घृणा जन्माइरहेका छन्, फैलाइरहेका छन्। मोदीले तीन पटक प्राइम टाइममा भाइरसको विषयलाई लिएर राष्ट्रका नाममा सम्बोधन गरिसकेका छन्, तर उनले यस्ता कुनै पनि विषयलाई सम्बोधन गरेका छैनन्।
गत साता मानिसहरूको यो आन्तरिक विस्थापन सुरु हुनुअगावै मोदीले भारतीयलाई भने– हामी विश्वयुद्धभन्दा ठूलो चुनौती सामना गरिरहेका छौँ। भारतले विश्वयुद्धमा दशौँ लाख सेना लडाइँको मैदानमा पठाएको थियो। र, युद्धबाट भारत गहिरो गरी प्रभावित पनि भएको थियो। त्यस्तो मुलुकसँग मोदीले यस्तो दाबी गर्नु निकै महŒवपूर्ण छ। तर, यसले के पनि देखाउँछ भने सरकारले जति सूचना दिइरहेको छ, भारतको अवस्था त्योभन्दा निकै नाजुक छ। यो कुरा प्रधानमन्त्रीलाई पनि राम्रोसँग थाहा छ। महामारीविज्ञ डा. रामानन लक्ष्मीनारायणले एक अन्तर्वार्तामा भनेका छन्, ‘सरकारी आँकडा र अनुमानमा मोदीलाई विश्वास भएको भए उनले यो महामारीलाई विश्वयुद्धसँग तुलना नै गर्ने थिएनन्।’
भारतको अवस्था के होला ? डा. लक्ष्मीनारायण भारतमा चार सातामै कम्तीमा १० लाख मानिस गम्भीर बिरामी पर्ने अनुमान गर्छन्। लकडाउन नगर्ने हो भने त्योभन्दा पाँच गुणा बढी मानिसलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउने उनको आकलन छ। जुन भारतजस्तो कमजोर सार्वजनिक स्वास्थ्य सेवा प्रणाली भएको मुलुकका लागि प्रलयकारी हुनेछ। विश्व स्वास्थ्य संगठनले बढीभन्दा बढी कोरोना परीक्षण गर्न सिफारिस गरेको छ। तर, सवा अर्ब जनसंख्या भएको भारतमा प्रति १० लाख मानिस बराबर १८ जनाको मात्र परीक्षण भइरहेको छ। केहीले टेस्ट किटको अभावमा यस्तो भएको बताएका छन् भने केहीले यो समस्यालाई लुकाउन सरकारले सकेसम्म कम परीक्षण गरिरहेको आरोप लगाइरहेका छन्।
मुम्बईका मानिस अरू बेला भए ठूलो शहरमा बस्छौँ भनेर गर्व गर्ने थिए। तर, यतिबेला लकडाउनले उनीहरूको सबैभन्दा ठूलो सहयोगको स्रोत नै खोसेको छ। यो नगर एकअर्काको सहयोगको भरमा चलेको थियो। त्यो अहिले उपलब्ध छैन।
थुप्रै मान्छे क्वारेन्टिनमा भान्साको अनुभव इन्स्टाग्राममा पोस्ट गर्न सक्षम छन्। विश्वका अन्य सम्भ्रान्तझैँ यहाँ पनि कयौँले जियोभानी बोकासियोका उपन्यास पढ्दै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्। तर, तिनीहरू जनसंख्याको सीमित हिस्सा मात्र हुन्। ठूलो हिस्साले त अर्को छाक खान पाइन्छ कि पाइँदैन अथवा अर्को जागिर पाइन्छ कि पाइँदैन भन्ने भय भोगिरहेको छ। अझ सबैभन्दा महŒवपूर्ण पक्ष, यो पुस्तामै पहिलो पटक आजभन्दा भोलि सुन्दर हुनेछ भन्ने आशावाद गुमेको छ।
निश्चय नै निरासामा मात्र महामारीको साइड इफेक्ट होइन। किनभने, यो क्षणमा मृत्युको भय र संसारभरको साझा दुःखले हामी सबैलाई आपसमा जोडिराखेको छ।
(‘द गार्जियन’बाट। नायर लेखक तथा मुम्बई मिररकी स्तम्भकार हुन्। अनुवादः कवि आचार्य।)