सुनौलीदेखि ६८ घन्टा हिँडेर धादिङ, क्वारेन्टाइन खोज्दै भारतबाट आएका युवाको अनुभव

सुनौलीदेखि ६८ घन्टा हिँडेर धादिङ, क्वारेन्टाइन खोज्दै भारतबाट आएका युवाको अनुभव

धादिङ : आपत विपतमा आफू जन्मेको गाउँठाउँ कत्ति प्यारो हुन्छ भन्ने कुरा भारतदेखि हिँडेर नेपाल आएका धादिङका ५ जना युवाको कष्टपूर्ण यात्राले बताएको छ । भारतको उत्तर प्रदेश गोरखपुर नजिकैको माउ भन्ने बजारमा होटल व्यवसाय गरिरहेका युवाहरु भारतमा कोराना भाइरसको त्रास बढेपछि निकै कष्टपूर्ण यात्रा पार गरेर गाउँ आइपुगेका छन्।

रोजगारीको लागि एकै ठाउँमा रहेका धादिङका ५ जना युवाहरु र चितवनका ५ जना युवासँगै नेपाल फर्किएका थिए । नेपाल भारत सीमा नाका सुनौलीदेखि ६८ घण्टाको पैदल यात्रा पार गरेर नीलकण्ठ १४ धुवाँकोट पात्लेका विशाल लामा, नेत्रावती ४ सेल्लेका वीरबहादुर गल्देन, पूर्ण गल्देन, विरेन लामा र मदन लामा धादिङवेशी आइपुगेका हुन्।

हाल डिभिजन वन कार्यलयको नवनिर्मित भवनमा नीलकण्ठ नगरपालिकाले संचालन गरेको क्वारेन्टाइनमा बसिरहेका मध्ये एक युवा नेत्रावती डापजोङ  गाउँपालिका ४ सेल्लेका विरेन लामाले अन्नपूर्णकर्मीसँग बताएको कष्टपूर्ण यात्राको बयान जस्ताको तस्तै :

म १२ कक्षाको सकिएपछि रोजगारी खोज्दै भारत पुगे । गोरखपुरमा गाउँकै दाइको व्यापार व्यवसायमा काम गरे । पछि आफैले केही गर्नुपर्छ भन्ने लाग्यो र एउटा फास्ट फुड संचालन गरे । होटल सुरु गरेको ६ महिना जति भएको थियो, कोरोनाको विपत्ती सुरु भइहाल्यो।

कोरोना भाइरस चाइनाबाट सुरु भएको थियो । भारतमा पनि कोरोनाको संक्रमण सुरु हुने वित्तिकै हामी निकै चेपुवामा पर्‍यौँ । हाम्रो मंगोलियन अनुहार भएकाले चाइनिज जस्तो लागेर व्यवहार  नै फरक देखिन थाल्यो। पुलिसले तेरै देश फर्कि जा भन्ने, स्थानीयले पनि भेदभाव गर्ने, पसलमा सामान किन्न नदिने जस्तो व्यवहार देखिन थाल्यो।

कोरोनाको संक्रमण बढ्दै गएको थियो।हाम्रो एरियामा भने कोरोनाले भेटिसकेको थिएन। भारतले पनि पुरै देश लक डाउन गर्ने निणर्य गरेपछि भने झनै हाम्रो अवस्था बिग्रियो । हामीलाई १÷२ महिना कोठाभित्रै बसेर खानाका लागि कुनै समस्या थिएन। तर भारतीयको हेपाहा प्रवृत्तिले यो विपत्तीमा गाउँ नै जानुपर्छ भन्ने लाग्यो ।

बजार र गाडीहर पुरै बन्द भएपछि हामीले त्यहाँको पुलिसलाई सुनौलीसम्म जाने व्यवस्था मिलाइदिन अनुरोध गर्‍यौ। तर उनीहरुले हामीलाई चाइनिजजस्तो ठानेर वरपर समेत आउन नदिइ हाम्रो कुरै सुनेनन् । 

भारतमा कोरोना लागिहाल्यो भने मर्ने बाच्ने ठेगान हुन्न। कोरोनै लागेर मरिएछ भने पनि गाउँमै मरुम भनेर व्यापार व्यवसायमा ताल्चा मारेर एम्बुलेन्समा सीमासम्म आउने निर्णय गरियो ।

गोरखपुरदेखि सुनौलीसम्म आउनको लागि ६० हजार आइसी बुझाएर हामी दुईवटा एम्बुलेन्समा १० जना सुनौली नाका आइपुगियो । देश भित्रिने ठाउँ आइपुगियो भनेर धेरै खुसी लागेको थियो । तर, हामीलाई नाकाबाट प्रवेशै गर्न दिइएन ।

सुरक्षाको लागि कडाइ गर्नुसम्म त ठिकै थियो।चेकजाँच गरेर सुरक्षित तरिकाले भित्राउनु त कता हो कता कुनैपनि हालतमा छिर्न पाउने अवस्था नदेखेपछि हामीले एउटा जुक्ती लगायौं। सामान बोकेका कन्टेनर भने नेपाल भित्रिरहेका थिए, त्यसका चालकलाई भनेर एउटा एउटा कन्टेनरमा खलासी बनेर हामी नेपाल प्रवेश गर्‍यौं।'

नेपाल आएपछि हामीलाई बास बस्नैको सकस भयो । भारतबाट आएको भनेपछि हामीले कोरोनालाई झोलामा हालेर ल्याएको जस्तो गरी कुनै होटलमा बास दिइएन । प्रहरीको सहयोगमा एउटा होटलमा बस्यौँ । घर धादिङ आउनको लागि कुनै सवारी साधन पाइने आसमा ५ दिनसम्म त्यही बसियो । सवारी साधन पाउने छाँटकाँट नदेखिएपछि सबैको सल्लाहमा हिँडेर जाने कुरा भयो र पैदल यात्रा सुरु गरियो धादिङसम्मका लागि ।

सुनौलीबाट हिँडेको ६८ घण्टापछि हामी धादिङवेशी आइपुगियो । बीचमा सुनवलबाट केही घण्टा हिँडेपछि १५ किलोमिटर जति दाउन्ने आइपुग्ने बेलासम्म एउटा ट्रकमा चढ्यौ । बाँकी सबै ठाउँमा हिँडेरै आइयो । रातमा बास पनि बसेनौँ, हिँड्दै केहीबेर थकाइ मार्दै फेरी हिडेर धादिङवेशीसम्म आइपुगियो ।

बाटोमा खाजा र पानी समेत खान नपाउँदा भने साह्रै दुःख लाग्यो । पानी समेत किनेर खान नपाउँदा खोलाको पानी खाएर पनि प्यास मेटाइयो । कताकति खुलेका पसलमा भारतबाट आएको भनेपछि छिछि दुरदुर गरे । कोराना संक्रमण हुन नदिन अरुबाट सुरक्षित त रहनुपर्छ तर साह्रै अपमान हुने व्यवहार त देखाउनु हुँदैन नी । भारतमा त्यस्तो व्यवहार हुँदा त पराइको ठाउँ भनेर चित्त बुझाइएको थियो, नेपालमै त्यस्तो व्यवहार  हुँदा भने नमिठो लाग्यो । 

बाटो आउँदा विदेशबाट आउनेहरु सिधै गाउँमा नजाउ क्वारेन्टाइनमा बसौँ भन्ने समाचार सुनिएको थियो । धादिङवेशी आइपुगेपछि सिधै क्वारेन्टाइन खोज्दै हामी पाँचैजना यहाँ बसिरहेका छौँ । यहाँ बस्न खासै कुनै समस्या छैन। खानपान र बस्ने व्यवस्था ठीक छ।

कोरोनाको महामारी साम्य भएपछि फेरी भारत जानुपर्छ । त्यहाँ लाखौको सम्पती छ। व्यवसाय छ। गाउँमा त्यत्तिकै बस्नुभन्दा केही आम्दानी पनि हुने भएकाले महामारी साम्य भएपछि फेरी फर्किने हो ।

हाम्रो एउटा अनुरोध छ। भारतमा हामी बसेकै क्षेत्रमा काम गर्ने हाम्र गाउँका केही साथी अहिले पनि गाउँमै छन् भन्ने सुनेको छु। उनीहरुलाई पनि वडा कार्यालय र प्रशासनले गाउँमा खुल्लम खुल्ला हिँड्न नदेओस। यदि कोरोना संक्रमण भएको छ भने सबैलाई उनीहरुले सार्न सक्छ । बेलैमा ध्यान दिएर भारतबाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन पर्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.