कोरोना जोखिम :क्वारेन्टाइन रित्तै, विदेशबाट आएका घरभित्रै
गुल्मी : विदेशबाट फर्किएकालाई सुरक्षित स्थानमा राख्नका लागि बनाइएका गुल्मीका क्वारेन्टाइन रित्तै छन् । विदेशबाट आएका घरभित्रै बसेका छन् । जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले बनाएका क्वारेन्टाइन खाली छन्।विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा थप जोखिम हुने खतरा देखिएको छ । गाउँलेले उजुरी गरेपछि कतिपय स्थानीय तहले विदेशबाट आएकालाई घरभित्रै बस्न भनेका छन् । तर उनीहरु क्वारेन्टाइनमा गएर बस्न मानेका छैनन् ।
क्वारेन्टाइनमा बस्दा समाजले हेपाहको दृष्टिले हेर्न थालेपछि विदेशबाट घर आएकाहरु बस्न नमानेको स्थानीय तहका पदाधिकारीले प्रतिक्रिया दिएका छन् । गुल्मीका १२ स्थानीय तहले अहिलेसम्म ७ सय ८७ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेका छन् । ती क्वारेन्टाइनमा ४९ जना मात्र बसेका छन् । स्थानीय तहले दिएको तथ्यांक अनुसार हालसम्म १ हजार ९ सय ३ जना भारतसहित तेस्रो मुलुकबाट गुल्लीमा फर्किएका छन् ।
स्थानीय तहले बनाएका अधिकांश क्वारेन्टाइन बेञ्चका छन् । रेसुंगा नगरपालिकाले १ सय ५० बेड क्षमताको क्वारेन्टाइन बनाएको छ । त्यस्तै, मुसीकोट नगरपालिकाले १ सय ८०, चन्द्रकोट गाउँपालिकाले १३ बेड, सत्यवती गाउँपालिका २८, कालीगण्डकी गाउँपालिका १ सय १७ बेड, रुरुक्षेत्र गाउँपालिका २५ बेड, छत्रकोट गाउँपालिका १० बेड, गुल्मीदरवार गाउँपालिका ३५ बेड, धुर्कोट गाउँपालिकाले १ सय ३८ बेड, मदाने गाउँपालिका ११, इस्मा गाउँपालिका १५ र मालिका गाउँपालिकाले ६५ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
भारत लगाएत तेस्रो मुलुकबाट फर्किएकाहरु क्वारेन्टाइनमा नरहेको छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी गराए । ' खाट र बेञ्चबाट क्वारेन्टाइन बनाएका छौँ,'उनले भने,‘तर ती क्वारेन्टाइनमा मान्छे छैनन् ।'
गाउँ आएकाहरु घरमै बसिरहेको उनको भनाई छ । पन्तका अनुसार क्वारेन्टाइनमा नबसने पनि घरमा बसेकालाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ । रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले विद्यालयहरुमा भएका बेञ्च प्रयोग गरेर क्वारेन्टाइन निर्माण गरिएको जानकारी गराए । कोरोनाको त्रास हटिसकेपछि खरिद गरिएका खाटहरु पुनः प्रयोगमा ल्याउन नमिल्ने भएपछि विकल्पको रुपमा विद्यालयका बेञ्च प्रयोग गरिएको बताए । मरासिनीका अनुसार फर्निचर बाहेक अन्य सामग्रीहरु स्वास्थ्य क्षेत्रमा प्रयोगमा आउने खालका छन् ।
क्वारेन्टाइन निर्माणका लागि साधन स्रोतको समेत समस्या भइरहेको गुल्मीदरवार गाउँपालिका स्वास्थ्य संयोजक नारायण अर्यालले बताए । उनका अनुसार कतिपय क्वारेन्टाइन भुँइमा गुन्द्री ओछ्याएर समेत बनाइएको छ । उनले गाउँपालिकाका सवै स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि प्रयोग गर्ने पिपिइ समेत उपलव्ध गराइएको जानकारी गराए । विदेशबाट आएकाहरु मध्ये एक जना पनि क्वारेन्टाइनमा बसेका छैनन् ।
जिल्लाका मुसीकोट नगरपालिकामा ६ जना, कालीगण्डकी गाउँपालिकामा ८ जना, मालिका गाउँपालिकामा १० जना, धुर्कोट गाउँपालिकामा १० जना र इस्मा गाउँपालिकामा १५ जना क्वारेन्टाइनमा बसेका छन् । भारतसहित तेस्रो मुलुकबाट आएकाहरु क्वारेन्टाइनमा नबस्दा गाउँमा थप त्रास फेलिएको छ ।
विदेशबाट आएकाहरुलाई सिमानाबाटै चेकजाँच गरी प्रदेश ५ सरकारले नै आफ्नै क्वारेन्टाइनमा राख्नुपर्ने इस्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले सुझाब दिए । 'सबैजना गाउँ आउँदा झनै जोखिम देखियो,उनले भने, 'भारतबाट आएका सीमानाकाबाट घरसम्म आउँदा कोरोना भएको भए धेरैमा फैलिने डर हुन्छ ।' उनले घरमा आएकालाई स्थानीय तहले बनाएका क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन्।