स्वास्थ्यकर्मी नै असुरक्षित
सुर्खेत : कर्णालीमा कोरोना रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी नै जोखिममा छन्। आवश्यक स्वास्थ्य उपकरण र सामग्री नहुँदा दुर्गममा खटिएका स्वास्थ्यकर्मी जोखिम मोलेर कोरोना नियन्त्रणमा जुटेका हुन्। स्वास्थ्य उपकरण उपलब्ध नहुँदा आफूहरू नै जोखिममा परेको स्वास्थ्यकर्मीले गुनासो गरेका छन्।
कोरोना भाइरसको त्रासका कारण कर्णालीका अधिकांश स्थानीय तहले नाकामा हेल्थडेस्क सञ्चालन गरेका छन्। तर, दुर्गममा स्थापना गरिएका ती हेल्थडेस्क नाम मात्रका छन्। सामान्य ज्वरो नाप्ने उपकरण र मास्कसमेत उपलब्ध छैन। सदरमुकाममा रहेका अस्पतालमा पनि चिकित्सकले आफ्नो सुरक्षाका लागि लगाउने पीपीई पाएका छैनन्। यसकारण पनि आफूहरू जोखिम मोलेर उपचारमा खट्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ।
दैलेखको महावु गाउँपालिकाले चारवटा नाकामा हेल्थडेस्क राखेको छ। तर, ती हेल्थडेस्कमा ज्वरो नाप्ने थर्मल गन छैन। त्यहाँ टाढाबाट सुरक्षित रूपमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मीले थर्मोमिटरले नै चेकजाँच गरिरहेका छन्। मानिसको काखीमुनि च्यापेर ज्वरो नापिने थर्मोमिटरबाट भाइरस एक व्यक्तिबाट अर्कोमा संक्रमण सजिलै सर्ने सम्भावना हुन्छ। तैपनि, जोखिम मोलेर थर्मोमिटरले चेकजाँच गरिरहेको हेल्थडेस्कमा खटिएका स्वास्थ्यकर्मी प्रेम विष्टले बताए। उनका अनुसार गाउँपालिकाका कुनै पनि हेल्थडेस्कमा ग्लोब्स र स्यानिटाइजर छैनन्।
दुर्गम जिल्ला डोल्पाको अवस्था पनि उस्तै छ। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाले कोरोनाको संक्रमण रोक्न सात स्थानमा हेल्थडेस्क स्थापना गरेको छ। तर, त्यहाँ पनि थर्मल गन, मास्क र स्यानिटाइजर उपलब्ध छैन। त्रिपुराकोट हेल्थडेस्कका अहेव शेरबहादुर कठायतले भने, ‘थर्मल गनका लागि नगरपालिकासँग अनुरोध गरेका थियौं तर उपलब्ध नहुँदा थर्मोमिटरबाटै काम चलाउनुपरेको छ। यसले ज्वरो नाप्दा छालाका रोग र कोरोनाको संक्रमण सजिलै सर्ने खतरा छ, यसले हामी पनि असुरक्षित छौं।’
दुर्गममा कार्यरत स्वास्थ्यकर्मीले मास्ककै भरमा हेल्थडेस्क सञ्चालन र बिरामीको उपचार गर्दै आएका छन्। जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले उपकरण र सामग्री नहुँदा स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेको बताए। हेल्थडेस्क सुरु गरेको साता बितिसक्दा पनि थर्मल गन पाउन नसकेको अध्यक्ष शाहीले बताए। विश्वलाई नै त्रसित तुल्याएको कोरोनाको संक्रण फैलिन नदिन गाउँ–गाउँमा हेल्थडेस्क स्थापना गरिएका छन्। अधिकांश हेल्थडेस्क र स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण छैनन्। यसबाट सबैभन्दा त्रसित स्वास्थ्यकर्मी नै बनिरहेका हुन्। स्वास्थ्यकर्मीलाई संक्रमण नहोस् भन्नका लागि पीपीई सेट, ग्लोब्स र स्यानिटाइजरजस्ता सामग्री अनिवार्य मानिन्छ। तर, दुर्गममा आधारभूत सामग्रीबिनै स्वास्थ्यकर्मी काम गर्न बाध्य छन्।
स्वास्थ्यकर्मीले आधारभूत स्वास्थ्य सामग्री माग गरे पनि स्थानीय तहले भने हेल्थडेस्कलाई हल्का रूपमा लिएका छन्। स्थानीय तहले प्रदेश सरकारले स्वास्थ्य सामग्री उपलब्ध नगराएको गुनासो गरिरहेका छन्। ‘प्रदेश सरकारले दिएन, हामी आफैंले किन्न खोज्दा बजारमा पाएनौं’, जुम्लाको हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले भने, ‘मास्क नै नपाउने अवस्थामा पीपीई सेट र स्यानिटाइजर त असम्भव नै भयो।’ स्थानीय तहले प्रदेशको मुख ताकिरहँदा प्रदेश सरकार भने केन्द्रकै भरमा छ। ‘प्रदेश सरकारसँग स्वास्थ्य सामग्री छैन, हामीले पनि केन्द्रसँग मागेका छौं’, कर्णाली प्रदेश सरकारका प्रवक्तासमेत रहेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘अब केन्द्र सरकारले पठाउनेबित्तिकै स्थानीय तहमा पठाउनेछौँ।’