बोलेरो दुर्घटना हुँदा एकै गाउँका पाँच घाइते, दुईको अवस्था गम्भीर
दोलखा : उत्तरी दोलखाको गौरीशंकर गाउँपालिका-५ सुरीको घामतारामा बोलेरो दुर्घटना ५ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। शुक्रबार मध्यान्ह १२ बजे घामताराबाट सोही वडाको इविथान आउँदै गरेको बा १८ च ५१४८ नम्बरको बोलेरो दुर्घटना हुँदा ३५ वर्षीय बोलेरो चालक प्रेमबहादुर गुरुङ र २५ वर्षीय पवन गुरुङ गम्भीर घाइते भएका दोलखा प्रहरीले जनाएको छ।
दुर्घटनामा ५५ वर्षीय रमेश गुरुङ, ४० वर्षीय गोविन्द गुरुङ, ४० वर्षीया दाङिमा शेर्पा घाइते भएको इलाका प्रहरी कार्यालय सिंगटीका इन्चार्ज प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए। घाइते ४ जनालाई प्राथमिक स्वास्थ्य चौकी सुरीमा प्राथमिक उपचार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
बोलेरो सडकबाट करिव ५ मिटर तल पल्टेको थियो। घाइते सबै एकै गाउँका रहेका छन्। दुर्घटनास्थल सदरमुकाम चरिकोटबाट करिब ८५ किलोमिटर उत्तरमा पर्दछ।