समाधिको लकडाउन स्पर्श
पछिल्लो पुस्ताले विश्वलाई आततायीहरूबाट जोगाउन युद्धमा जानुपरेको थियो। विश्वयुद्ध लड्नुपरेको थियो। महाभारत हान्नुपरेको थियो। हाम्रो पुस्ताले एकअर्काको रक्षा गर्न बाहिर ननिस्की घरैमा बसिदिए हुने भएको छ। हातमा मोबाइल लिएर, ओछ्यानमा बसेर टीभी हेर्दै, एक हातले पब्जी र अर्को हातले पपकर्न हान्दै संसारका समस्त मान्छेले एकअर्कालाई जोगाउने अवसर पाएका छन्।
तपाईं पत्रकार, स्वास्थ्यकर्मी वा प्रहरी वा यस्तै केही हुनुहुन्छ भने तपाईंले चाहिँ घर बस्न पाउनुभएको छैन। अन्य सबैले सुरक्षित घरमा बस्न पाऊन् भनेर तपाईं दौडधुप गर्दै हुनुहुन्छ। तपाईं कलाकार,लेखक, प्रकाशक, गायक, संगीतकार हुनुहुन्छ भने त झन् तपाईंलाई फुर्सद के हुँदो हो !लकडाउन सकिनासाथ संसारलाई कुनै नौलो कोसेली दिन तपाईं जुट्दै हुनुहुन्छ। त्यसका बाबजुद तपाईंको थोरै समय लिन चाहेँ। समय बितेको थाहा पाउँदै हुनुहुन्छ ? आज कुन बार हो भन्ने थाहा छ ?
अब मुख्य समाचार सुनौँ।
२) पाँच मिनेट शान्त बस्न नसक्ने, आफैंमा डुब्न नसक्ने जेनेरेसन घरभित्र बस्नु परेर छटपटीमा। सामाजिक सञ्जालका पुराना तस्बिर खोतलेर त्यसमा कपी पेस्ट गरिएका कमेन्ट हान्ने चलन लेटेस्ट ट्रेन्डिङमा। एक थरी विद्वान्हरू यो ट्रेन्डको समर्थनमा र अर्का थरी यसका विरुद्धमा स्ट्याटसहरू पोस्ट गर्दै।
३) भेनिसका नहरमा डल्फिन खेल्दैछन्। जापानका सडकमा हरिण नाच्दैछन्। मेरो झ्यालबाहिरको हावाबाट यति मीठो बास्ना कहिले आएको थिएन। फलामे बार ठोकेको, १० बाइ १० को तपाईंको झ्यालबाट बाहिर हेर्नुभयो भने १० सेकेन्डको अवधिमा १० वटा चराले गीत गाउँदै बाँकटे हानेको देख्न सक्नुहुन्छ। तपाईंले भित्र थुनिनुपर्यो भनेर नमुर्मुरिनुहोस्। धर्ती के तपाईंको मात्र हो ?
४) लकडाउनअघि यी चरा केबाट डराएर कुन दुलोमा लुकेका थिए ? के तपाईं राति सुत्नुभन्दा अघि युट्युबमा चरा कराएको वा पानी परेको सङ्गीत सुनेकै भरमा आफूलाई प्रकृतिप्रेमी भन्नुहुन्छ ? के तपाईंको फेसबुक वा इन्स्टाको बायोमा नेचर लभर, वान्डरलस्ट भनेर लेख्नुभएको छ ?
लकडाउन मुख्य समाचार यहीं समाप्त हुन्छ। स्रोत : सामाजिक सञ्जाल। थाहै छ, सामाजिक सञ्जालमा फेक न्युजको प्रतिशत दुई तिहाइ नै हुन्छ नि फेरि।
धन्यवाद। अब मेन कोर्सतर्फ लागौं।
मेरो लकडाउन यस्तो चल्दै छ, कुरा म ठूल्ठूलो गर्छु तर मलाई नुहाउन जान झ्याउ लाग्छ। बरु म ल्यापटप खोलेर इन्डियन ओसन बजाउँछु। गीतले आत्मा भिजाउँछ। शरीर भनेको त माटो हो। त्यसै फोहोर, उसै फोहोर। तन मिट्टी, मन माया। आत्मा सफा रहनुपर्छ। ‘रक्त रन्जीत गोधरा रस रुप मन्थन करे ... शाम की उडती धुल शिवका महिमा मण्डन करे ...’
मेरो आत्माको गङ्गा स्नान भयो, इन्डियन ओसन सुनेर। अघि बढौं। इन्डियन ओसन एकैछिनमा फेरि आउँछ बीचमा।
सडकमा एकअर्कालाई हेरेर मुस्कुराउँदै हिँड्न हामी किन नसकेका ? गीत गुनगुनाउँदै हिँड्न किन नसकेका ? प्रकृति त हरक्षण नाचिरहेको छ। मान्छे बाहेकका अरु जनावर त सधैं मस्तीमै देखिन्छन्।
समाधिमा समय र बारको बोध हुन्न। शिवपुरी बाबा समाधिमा जानुअघि आफूले देखेका मान्छेलाई पन्ध्र दिनपछि समाधिबाट उठेर खोज्थे रे, यहीं थियो भर्खर, कहाँ गएछ’ भन्दै। स्वर्गमा पनि समयको बोध हुन्न। जिससको स्टेटमेन्ट छ कतै, ‘मेरो पिताको राज्य अर्थात् स्वर्गमा समयको बोध हुँदैन’ भनेर। सामाजिक सञ्जालमा संसारभरका क्वारेन्टिन र आइसोलेसनमा बसेका मान्छेहरूको एक स्वर छ:
— हामीले बार बिर्सिन थाल्यौं।
— आज शनिबार हो ?
संसार अहिले स्वर्गमा छ। समाधिमा छ उसोभए। ‘यसरी बस्न अफोर्ड गर्न नसक्नेहरूको बारेमा के ? तँलाई पो पुगीसरि छ’ भनेर एक थरी कुर्लेलान्। यी तिनै हुन्, जसका घरहरू मेरो भाडाको कोठाको घाम छेक्ने गरी ठडिएका छन्। पक्कै यो अन्यौलको समय हो, गाह्रो छ। मेरो पनि बैंक ब्यालेन्स छैन। घरमा भकारी छैन। भलै अहिले खाए भरे के खाऊँ छैन, तर यो कति लम्बिन्छ कसलाई के थाहा ? बाँचुन्जेलको जोहो सायदै कसैको होला।
बाँचुन्जेलको जोहो हुनेहरू नहुनेहरूबिना बाँच्न पक्कै सक्दैनन्। डर, त्रास, गाह्रो साह्रोको कुरा अन्तै कतै गरौँला। सुरुमा हामी एक किलो चामलमा कतिवटा दाना हुन्छन् र एक बोतल बियरमा कति थोपा हुन्छ भन्दै गन्दै बसेको पुस्तालाई सम्बोधन गरौँ। भोलि फेरि यस्तो विपत्ति नआओस् अथवा आयो भने त्यसलाई कसरी ह्यान्डल गर्ने भन्नका लागि हामीले तैयार गर्नुपर्ने उनीहरूका लागि हो।
यो समयले हामीलाई आफैंभित्र यात्रा गर्ने अवसर दिएको छ। हाम्रो साहित्यमा धेरै आउटडोरको वर्णन पाइन्छ। मौसम सधैं राम्रो हुने भएकाले। पश्चिममा, धेरै जाडो हुने देशहरूमा, छ महिना रात पर्ने देशहरूमा लेखकहरूले बाहिर धेरै यात्रा गर्न पाएनन्। उनीहरूको गीतमा, साहित्यमा त्यसैले आफैंभित्रको यात्राका कुरा बढी हुन्छन्। हाम्रोमा त्यसको उल्टो।
हाम्रा गीतहरूमा फाँटमा लहलह झुलेका बालादेखि भीरहरूमा फुलेका गुराँससम्मका कुरा हुन्छ। हाम्रोतिरको साहित्यमा जस्तो आउटडोरको मीठो वर्णन मैले पश्चिमको साहित्यमा विरलै पढेको छु। अब यो लकडाउनले हाम्रो साहित्य र कलामा आफैंभित्रका यात्राको कुरा पनि उपहार दिएर जान्छ। केही नयाँ दिएर जान्छ। कवि-लेखकहरू, संगीतकार-साहित्यकारहरू आफैंभित्रको यात्रामा व्यस्त छन्, यो बेला।
जीवन यात्रा त हो नै। यात्राको विकल्प छैन। बाहिर निस्किन नपाइने यो समयमा म पनि आफैंभित्र यात्रा गर्छु। थुप्रै दृश्य चल्छन् भित्र। हेरौं, ती सबैलाई जोडजाड गर्दा एउटा सिङ्गो केही बन्छ कि?
एक थरी मान्छे हिँड्छन् नि, साइकलमा बोरा लादेर। पुराना, टुटेफुटेका कुरा जम्मा गर्दै। सट्टामा मिठाई वा पैसा वा अरु केही दिन्छन्। लेख्ने मान्छे त्यस्तै हो। समयसँग उसले स्मृतिहरू लिन्छ र सट्टामा अक्षर दिन्छ।
म बच्चा हुँदा उनी अलि ठूला थिए। हामीले दाइ भन्ने उमेरका। निकै प्रतिभाशाली मानिएका। खै, कहाँ-कता-कुन जागिरमा नाम निकाले भनेर खुब प्रशंसा भयो उनको। त्यसपछि उनी हराए। घरजम गरे।
मैले योजनाबद्ध कुलो बनाउन चाहिनँ जिन्दगीलाई। नदीको भेलमा फाल हानेँ। जे होला भुत्रैसितीभनेर। कुकुरको ‘मौत’ मर्छस् तँ, भन्दिए मलाई घर परिवारले। न जागिरको टुङ्गो, न पढाइको। झोला बोक्यो, जङ्गल जङ्गल चहार्यो। पहाड-पर्वत उक्लियो। खत्तम मृत्यु मर्छस् भनेर उदाहरण दिँदा मान्छेले आफूले सबैभन्दा प्रेम गर्छु भनेको जनावरको उदाहरण किन दिन्छ मलाई अचम्म लाग्छ। त्यसैले कसैले ‘प्रेम गर्छु’ भन्यो भने म झसङ्ग हुन्छु।
सायद उसले भित्रभित्रै आफ्ना सन्ततिलाई मजस्ता मान्छे देखाएर त्यही भन्दो हो, ‘कुकुरको मौत’ मर्छन् त्यस्ता आवारा। तिनै हुन् फेरि जो आफ्ना टमीहरूलाई ओछ्यानमा सँगै सुताउँछन्। धन्न टमीहरू मान्छेको भाषा बुझ्दैनन्। नत्र तिनको गहमा चित्त दुखाइको आँसु हुन्थ्यो पक्कै।
कति देशहरूमा त टमीहरू खाइन्छन् पनि भन्ने सुनिन्छ। मान्छेको प्रेम बुझी नसक्नुको। धेरैपछि, हालसालै तिनै दाइले मेसेज गरे। भने, ‘भाइ, जागिरे जिन्दगीदेखि वाक्क भएकाहरूको बारेमा पनि केही लेख न।’
यो लेख तिनै दाइलाई समर्पण।
खुसीका साथ। मैले कुनै दाइलाई कहिले मेसेज गरेर त्यसो भन्नु पर्दैन। ढुङ्गालाई प्रेमले सुम्सुम्याउन सिकेको छु मैले, पहाडहरू उक्लँदा। ढुङ्गाहरूलाई बैंकको लकरमा बन्द हुनुपरेको छैन अहिलेसम्म। जहीँ तहीँ पाइन्छन्। ढुङ्गालाई हेर्दा सुन वा हीरा वा जवाहरातलाई हेर्ने नजरले हेर्न सक्नेहरूका लागि आइसोलेसन समाधि हो। स्वर्ग हो।
बाहिर ईश्वर थियो। हामीले चिनेनौं। प्रकृति नै ईश्वर हो भन्ने नबुझेका, माल पाएर चाल नपाएका हामीलाई ईश्वरले त्यसैले भनिदियो, जाऊ भित्रै बस। आफैंभित्र डुबेर आऊ एक लट। तपस्या गरेर आऊ। यु गाइज डन्ट डिजर्भ मी। तिमीहरूले जे जति बिगार्यौ, म आफैं सपार्छु अब। यो वसन्तको उन्मत्तता यसपालिलाई चराहरूलाई भयो। रुखहरूलाई भयो। बतासको गति रोक्न खोज्ने धुवाँ धुलो बसोस् पहिला। अनी तिमीहरू बाहिर निस्किनू। त्यसैले हामी भित्र छौं।
कोरोना कहरको आइसोलेसन काराबासबाट बेलाबेला बाहिर चिहाउँछु म। स्तूपका पवित्र लुंगदारको गतिमा चरा उडेका छन्। निस्फिक्री। फुर्फुर। पखेटाको हरेक हम्काइ मानौं एउटा ‘माने पेमे हुँ’ हो। कतिवटा माला गन्न भ्याइसक्यौ चराहरू? भन्छन्, लुंगदारमा लेखिएका मन्त्र हावाले हल्लाउँदा स्वर्ग पुग्छन्। हाम्रो सन्देशलाई ईश्वरको कानमा पुर्याउँछन्। मेरो प्रेम तिमीहरू पुर्याइदेओ सृष्टिकर्तालाई प्यारा चराहरू। फलामे बार ठोकिएको झ्यालबाट तिमीहरूको उडान चिहाएर मेरो आजको पूजा, आजको प्रार्थना पूरा भयो।
हरेक वर्ष छ महिनाका दुईवटा भ्याकेसन चाहियो भन्ने पुस्ता उता फेसबुकमा रोइलो गर्दै छ, हामीले बाहिर जान पाउनुपर्यो। छिट्टै। अरे यार ! पर्ख। हामीले उडाएको धुवाँ धुलो बल्ल हट्दैछ। फेरि थप्दिहाल्ने ?
अरु त अरु, बूढापाका समेत भित्र बस्न गाह्रो भयो आशयका कुरा गर्दैछन्। मान्छेका लागि ‘बाहिर’ कस्तो जरुरी रहेछ ! फेरी त्यही बाहिरको कस्तो अपमान गर्न सकेका ! सडकमा पिच्च थुक्न कसरी सकेका, हुँदाहुँदैको जङ्गल मासेर त्यसमाथि कंक्रिटको सडक ठोक्नुपर्ने अनि त्यही सडकको छेउमा चार तल्ले महल ठड्याएर त्यसको छतमा एउटा गमला भने राख्नुपर्ने।
कतिका गमलाका तिनै फूल पानी नपाएर सुकेको देखेको छु मैले। चुट्किला जस्तो। कि खै के हो के जस्तो। कसरी बुझ्नु यसलाई ? आमा प्रकृतिले पनि लामो समयसम्म मान्छे भनाउँदो आफ्नो यो अद्भुत सिर्जनाले ठ्याक्कै के चाहेको बुझिनन् सायद। अथवा बुझेर पनि चुप लागिन्। जब मान्छेले गर्दा उनका अन्य सन्तानलाई गाह्रो हुन थाल्यो, चेकमेट ! जाऊ भित्रै बस। धेरै भयो तिमीहरूको चकचक। हामीलाई सडकमा, जाममा, काममा, जुनसुकै ठाममा नाच्दै-गाउँदै हिँड्न सक्ने मान्छे चाहिएको हो। जस्तो चाहिएको हो, त्यस्तो हामी आफैं किन नबन्ने ?
सडकमा एकअर्कालाई हेरेर मुस्कुराउँदै हिँड्न हामी किन नसकेका ? गीत गुनगुनाउँदै हिँड्न किन नसकेका ? प्रकृति त हरक्षण नाचिरहेको छ। मान्छे बाहेकका अरु जनावर त सधैं मस्तीमै देखिन्छन्। चरा, पुतली, रुखहरू। बतास। मान्छेलाई कुन कालो दैत्यले के झुट सुनाइदियो ? मेरो मात्र, म मात्र, मलाई मात्र। अझै। यतिले पुगेन। चार तल्ला। पाँच तल्ला, पाँच तल्लाका दुईवटा। यति धेरै गीत छन्। जति गीत छन्, त्यति नै किसिमका नाच हुँदा हुन्।
जिन्दगीका हरेक दिन एउटा नयाँ गीतमा नाच्छु भन्दा पनि नसकिने गीत हुँदाहुँदै हामी सडकमा नाच्दै हिँड्न किन नसकेका ? अनिनाच्दै, मस्तीमा हिँडेका जनावर र चराहरूलाई चाहिँ हामीले किन थुनेका ? उनीहरूको बस्ने ठाउँ किन खोसेका ? प्रकृतिले हामीलाई सायद त्यसैले जाऊ भित्र बस भनेर पठाएको हो।
अनि जनावर र चराचुरुङ्गीलाई नाच्ने मौका दिएको हो। मैले एउटा रहस्य थाहा पाएँ यसैबीच। बाहिर जुनसुकै बेला नाच्दै-गाउँदै हिँड्न सक्नेहरू काराको बन्द कोठाभित्र पनि त्यही मस्तीमा बाँच्न सक्ने रहेछन्। नदीको आरती गथ्र्यौं हामी। नदीमा फोहोर मिल्काउनेहरूले भनिदिए, तिमीहरूको धर्म अन्धविश्वास हो।
उनीहरूले लोभका आफ्नै गीत रचे, ‘म तिम्रो बन्छु, तिमी मेरो बन्नु ल ...।’ मान्छे कसरी ‘मात्र’ कसैको बन्दो हो ? त्यसरी नै सायद, जसरी सबैको साझा जङ्गल मासेर कसैको कंक्रिटको निजी महल ठडिँदो हो। जिन्दगी कति वर्षको हो ?
एउटा पुस्ताले बनाएको घर एउटा पुस्तालाई मात्र हुन्थ्यो। यस्तो घरमा न पंखा चाहिन्थ्यो, न हिटर। एउटा पुस्ताले भोग गरेपछि घर आफैं माटोमा मिल्न थाल्थ्यो। नयाँ पुस्ताले आफ्नो घर आफैं बनाउँथ्यो। कुन कालो दैत्यले यो झुट सुनाइदियो ? हजार वर्षको हो तेरो जिन्दगी। जे कुरामा पनि ग्यारेन्टी खोज्नु। कमसेकम हजार वर्षको। अचेलका गीतहरू कस्ता ? विज्ञापन जस्ता। फलानो कुरा, फलानो मान्छे सधैं मेरै मात्र हुनुपर्छ भन्ने ग्यारेन्टी खोज्ने भाकाका।
म दिल्लीमा थिएँ, साँझपख नेहरू पार्कमा एउटा कन्सर्ट हुन लाग्दै थियो। सेतै फुलेको लामो कपाल, टाउकोमा रातो फेटा बाँधेको जोगी जस्तो देखिने एउटा बूढो स्टेजमा चढ्यो। साथै चढे अरु तीन जना। एउटा, तबला बजाउन बस्यो। एउटाले एकतारे बजाउन थाल्यो। टाउकोमा रातो फेटा बाँधेको बूढोले हातमा बोकेको बास गितार खेलाउन थाल्यो र सुरु गर्यो, ‘माँ रेवा ... थारो पानी निर्मल खल खल बहतो जाय ...’ एकतारे बजाउने, आफ्नो बाजासँग यसरी जिस्किँदै थियो मानौं, त्यो बाजा नभएर उसकी प्रेमिका हो।
मान्छेले के भन्छन् भन्ने कुराको पर्वाह नगरी खेलेका बच्चा जस्तो मस्तीमा उनीहरूले त्यो साँझ गीत गाए। ब्यान्डको नाम मैले थाहा पाएँ, इन्डियन ओसन रहेछ। उनीहरूका सबै गीत प्रकृतिका, क्रान्तिका। ‘तिमी मेरो म तिम्रो, दुई आनामा बनेको हाम्रो सानो एक तल्ले घर, बाँकीको दुनियाँ भाडमा जाओस्’ टाइपका गीतै रहेनछन् उनीहरूका।
मैले सोचें, यो बुढेसकालसम्म यस्तो मस्तीमा नाच्न-गाउन सम्भव हुने जीवन मलाई पनि चाहियो। गीतहरूमा जब प्रकृतिको वर्णनभन्दा मान्छेको लोभ छचल्किन थाल्छ, मान्छे प्लास्टिक बन्दैछ भन्ने बुझ्नू। यो लेख्दै गर्दा मेरो ल्यापटपमा त्यही गीत बज्दैछ। मलाई मेसेज गरेर फ्रस्ट्रेसनका बारेमा लेख भनेका दाइले पनि जवानीमा इन्डियन ओसन सुन्न पाएका भए सायद आत्माको आवाज सुनेर त्यसले जे भन्यो त्यही गर्थे। जङ्गलमा हिंड्थे। झरेका पात नियाल्थे। प्रकृतिमा धेरै समय बिताउँथे। जिन्दगीमा खुसी हुन्थे।
हामीले देखिहाल्यौं, यो समयमा कस्ता काम महत्वपूर्ण हुँदा रहेछन् भनेर। हामीलाई ब्यांकमा पैसाको कुन्यु थुपार्ने ‘सफल’ मान्छेहरू चाहिएका हैनन्। जङ्गल मासेर कंक्रिटका सडक ठोकी त्यही सडक छेउमा चार तल्ले घर ठड्याउनुलाई सफलता ठान्नेहरू चाहिएका हैनन्। आइसोलेसनमा बस्न गाह्रो भयो भन्दै ट्वीट गर्ने ‘सेलेब्रेटी’ चाहिएका हैनन्। यो समयका नायक सफाइ कर्मचारीहरू, ग्रोसरी भेन्डरहरू, प्रकृतिको महिमा गाउनेहरू, थाकेका हृदयलाई शीतल बनाउने ‘हिलरहरू’, चिकित्सकहरू, प्रकृतिलाई बुझेका अन्वेषकहरू हुन्।
बाबुआमाले आफ्ना केटाकेटीलाई आफ्ना सपना नथोपर्नु। उनीहरूले आफ्ना सपना आफैं देखून्। सफल हुनुपर्छ, तेरो घर छिमेकीको भन्दा अग्लो हुनुपर्छ भनेर उनीहरूलाई नसिकाउनू। यो समयले हामी सबैलाई सिकाएको छ, छिमेकी सुरक्षित भए मात्र आफू पनि सुरक्षित भइन्छ। छिमेकी प्रतिद्वन्द्वी हैनन्। एकै धर्तीका, एकै हावामा सास फेर्ने बन्धु हुन्। बोर्डरका पर्खाल जति अग्लो बनाए पनि, भिसा अफिसरहरू जति रुखा भए पनि उनीहरूले कोरोनालाई छेक्न नसक्ने रहेछन्। वसन्तलाई, चराहरूलाई, बतासलाई छेक्न नसक्ने रहेछन्। मान्छे प्रकृतिको एउटा सानो अंश मात्र रहेछ।
मान्छेले अब प्रकृति प्रेम सिक्नुको विकल्प छैन। प्रकृतिका गीत लेख्नुपर्छ अब उसले। नदीको आरती, वसन्तको स्वागत सुन्नुपर्छ। प्रकृति प्रेम मात्र यस्तो प्रेम हो, जसले कहिल्यैडिसपोइन्ट गर्दैन। धोका दिँदैन। यो आइसोलेसन र क्वारेन्टाइनको कोकोहोलो सकियोस्। वसन्त ऋतु हामीलाई स्वागत गर्न तत्पर छ। हामीले गरेको फोहोर सबै सफा गरेर। चराहरू कन्सर्ट हान्न तैयार छन्। उनीहरूको रियाज आइसोलेसनबाट हामीले सुनेकै छौं।
प्रकृतिमा जाऔँ। ट्रेक ‘नहानौं।’ नेचरमा चिल ‘नहानौं।’ प्रकृतिलाई प्रेमले सुम्सुम्याऔँ। फोहोर कम फालौं। धुवाँ कम उडावौं। हामीले खनेका नहरमै बाँकटे हान्न आइपुग्छन् डल्फिन। तिनलाई हेर्न चिडियाखानामा थुनेर राख्नै पर्दैन। प्रकृतिले चाहेको प्रेम हो। यसलाई प्रेम गर्न जान्नेका लागि आइसोलेसन पनि समाधि। क्वारेन्टाइन पनि स्वर्ग। त्यसो गर्न नजान्नेहरू हुन्, क्वारेन्टाइनबाट सुरुङ खनेर भएपनि भाग्नुपर्नेहरू। अब फेरि अर्को यस्तै अवस्था नआओस्। प्रकृति हामीसँग नरिसाऊन्। प्रकृतिको चित्त नदुखाउनू।