विपद्मा नेपाली टापु एक्लै
झापा : ‘घरअगाडि भारत छ। भारतीय प्रहरी सीमामा तैनाथ छन्। घरपछाडि मेची नदी २४ सै घण्टा सुसाएर बग्छ। मेचीपारि नेपालतिर सशस्त्र प्रहरी छन्। नेपाली हौँ तर न नेपाल छिर्न सक्छौँ न भारत जान।’ कोरोनाबारे सुनिराख्दा मेचिपारिका नेपाली भन्छन्, ‘अत्यावश्यक काममा जाँदा नागरिकता देखाएर मात्र नेपाल छिर्न पाइन्छ।’
मेचीपारिका एक मात्र जनप्रतिनिधि अरुण राजवंशी भन्छन्, ‘यो ठाउँ भारतसँग पानी–पधेँरो जोडिएकाले अति संवेदनशील छ। सीमामा बस्ने प्रहरीले भारततिर जान–आउन कडाइ गरे पनि कतिपयले भारतीयले नेपालमा आएर मकै लगाएका छन्। कतिपयले तरकारी खेती गरेका छन्।
भारतीय सीमा प्रहरी (एसएसबी) को आँखा छलेर मकैबारीमा काम गर्न आउने गर्छन्। अरुण भन्छन्, ‘यसले यहाँका बासिन्दामा झन् खतरा छ। न भारतबाट त्यसरी छिर्नेले स्वास्थ्य संवेदनशीलता अपनाएका हुन्छन् न त नेपालबाट भारत जानेले।’
अर्कोतिर मेचीपारिको गाउँमा एउटा पनि क्वारेन्टाइन छैन। भारतबाट आउनेहरू निष्फिक्री डुलिरहेका हुन्छन्। भद्रपुर नगरभित्र सुविधासम्पन्न क्वारेन्टाइन सञ्चालनमा ल्याएको नगरले खुला सीमा जोडिएको नेपाली टापुमा मास्कसम्म पुर्याउन सकेको छैन।
जब देशमा विपद् सुरु हुन्छ तब मेचीपारिको टापु सधैँ एक्लिन्छ। एक सय ६० घरपरिवार रहेको उक्त टापुका कतिपय नेपाली कोरोनाबारे अभैm बेखबर छन्। खेती किसानमा आबद्ध उनीहरू दैनिक खेतबारीमै व्यस्त देखिन्छन्। नेपालतर्पm सयौँ संघसंस्थाले मास्क, स्यानिटाइजर उपलब्ध गराइरहँदा मेचीपारिको उक्त टापुमा भने कसैले केही वितरण गरेका छैनन्।
स्थानीय श्यामलाल गणेश भन्छन्, ‘हामी टुहुरा नेपाली हौँ। वडाध्यक्ष (वडा नं. ३) एकपटक माइकिङ गर्दै आउनुभएको थियो। नत्र यतिका दिनसम्म सरकारका प्रतिनिधि कोही यो टापुमा आएका छैनन्।’
मेचीपारिका सबै बासिन्दा खेती किसानी गर्छन् र आर्थिक हिसाबमा कमजोर छन्।। मजदुरी गर्न हिँड्न नपाएपछि यहाँका अधिकांशमा आर्थिक संकट सुरु भएको छ। खाद्यान्न किन्न जान पनि सजिलो छैन। नेपाल जान पनि समस्या भारत जान झनै समस्या छ। यतिसम्म कि मेचीपारि पुगेका गाईवस्तु लिन जाँदा मेची खोला छेउमा बसेका नेपाली प्रहरीले थर्काउँछन्।
स्थानीय दीपा गणेश भन्छिन्, ‘हामीलाई भारततिर खाद्यान्न किन्न जान बरु परिचय खोज्दैन। अनुरोध गर्दा पनि हुन्छ। नेपाल आफ्नै देश जाँदा नागरिकता खोज्छ। यसले अत्यावश्यक काममा निस्कन पनि समस्या भएको छ।’
मेचीपारि सुरक्षार्थ बसेका प्रहरी प्रमुख मदन बस्नेत भन्छन्, ‘यहाँका नेपालीको नुन, मसला सरसापट पनि भारततिर चल्छ। जति ठप्पै पार्न खोज्दा पनि लुकिछिपी नेपाल–भारत जाने–आउने हुन्छन्। यद्यपि, हामीले भेटेसम्म सुरक्षा सचेतनामा कमी गरेका छैनौँ। अधिकांशको आर्थिक अवस्था नाजुक छ। यस्तो अवस्थामा खेतीपाती गर्न पनि रोक्ने कुरा भएन।’
मेचीपारिकालाई आफ्नै देश (वारि) आउन पनि स्थानीयले ठाउँठाउँमा बार लगाएर रोक्ने गर्छन्। मेचीपारिकालाई वारि आउन प्रहरीले मात्र होइन, आपूmहरूले नै सकेसम्म दिने नगरेको स्थानीय सनत राजवंशी बताउँछन्। ‘उनीहरूको आँगन पनि भारतसँगै जोडिएको छ। केही समय हामीले तपार्इंहरू यो गाउँको बाटो नहिँड्नुहोस् पनि भनेका छौँ,’ उनले भने, ‘उनीहरूलाई पनि खतरा, हामीलाई पनि खतरा। यसमा अरू कुनै उद्देश्य नभई स्वास्थ्यप्रति सजगता अपनाइएका हो।’
भद्रपुर नगरपालिका–३ की वडाध्यक्ष कमला थुलुङ भन्छिन्, ‘नगरपालिकाले वडालाई छुट्ट्याइदिएको राहतबाट वडाभरि सबैलाई बाँड्ने हो। तैपनि, अन्यत्र दिने राहत पनि कटौती गरेर मेचीपारि अति निम्न आय अवस्था हुनेलाई नछुटाउने पहल गर्छौं। अब १÷२ दिनमा राहत लिएर जाँदै छौँ।’
थुलुङले पनि अत्यावश्यक काम र बिरामीबाहेक आवत–जावत नगरिदिन अनुरोध गरिएको बताइन्। अत्यावश्यकमा आउनुपर्दा सुरक्षाका लागि पनि परिचयपत्र देखाएरै आउनुपर्ने उनले बताइन्।