काभ्रेमा विदेशबाट फर्केका ३४९ जना सम्पर्कमा, कुन स्थानीय तहमा कति ?
काभ्रे : फागुन १ गतेदेखि चैत्र ९ गतेसम्म विभिन्न देशबाट काभ्रे जिल्ला फर्केकाहरू स्थानीय तहको सम्पर्कमा आएका छन्। काभ्रेका १३ वटै स्थानीय तहले विदेशबाट फर्केकाहरूको खोजी गरिरहेको जनाएका छन्। हालसम्म ३४९ जना सम्पर्कमा आएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्न गठित कमाण्ड पोष्टका सदस्य सचिव डा.नरेन्द्रकुमार झाले जानकारी दिएका छन्।
झाका अनुसार विदेशबाट फर्किएकामा कोरोना संक्रमण हुनसक्ने आशंकामा उनीहरूको विवरण संकलन गरिरहेका स्थानीय तहले उनीहरूको वर्ममान अवस्थाबारे जानकारी लिने र कोरोना परीक्षणका लागि तयारी गरिरहेको जनाएका छन्।
काभ्रेमा फागुन १ गतेदेखि चैत्र ९ गतेसम्म कुवेत, साइप्रस, जापान, इराक, यूएई, कोरिया, भारत, साउदी अरब, मलेसिया, बहराइन, जोर्डन, न्युजिल्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडिया लगायतका मुलुकहरूबाट आएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
त्यसमधये फर्किएका मध्ये भारतको विहार, नयाँदिल्ली, बैंग्लोर लगायतका स्थानबाट र त्यसपछि यूएईबाट फर्कनेहरूको संख्या धेरै छ। डा. झाका अनुसार सम्पर्कमा आएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न अनुरोध गर्ने काम भइरहेको र स्थानीय स्वास्थ्यकर्मीहरूले उनीहरूको दैनिक ३ पटक स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम गरिरहेका छन्। हालसम्म विदेशबाट फर्कने कसैमा स्वास्थ्य समस्या नदेखएिको झाले बताए।
शंकास्पद केहीको स्वाब परीक्षका लागि धुलिखेल अस्पतालने नमुना लिइ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ देखिएको धुलिखेल अस्पतालले जनाएको छ।
विदेशबाट फर्कनेको संख्या धेरै देखिएको पनौती नगरपालिकाले उनीहरूलाई नियमित निगरानीमा राखिएको नगर प्रमुख भीम न्यौपानेले जानकारी दिए। त्यसैगरी रोशी गाउँपालिकाका अध्यक्ष डी बी लामाले पनि स्वास्थ्यकर्मीसहित पालिकाको टिम उनीहरूको पहिचान र निगरानीमा खटिरहेको बताए। विदेशबाट फर्केकाहरूमा कोरोनासँग मिल्ने कुनै लक्षण देखा परेमा गाउँपालिकाले तुरुन्त उद्धार गरी स्वास्थ्य संस्था लैजान तयारी अवस्थामा रहेको अध्यक्ष लामाले जानकारी दिए।
स्थानीय तह र विदेशबाट फर्किएकाको संख्या (सम्पर्कमा आएका)
१.पनौती नगरपालिका : १०१
२.मण्डनदेउपुर नगरपालिका : ३८
३.पाँचखाल नगरपालिका : ३५
४.बनेपा नगरपालिका : ३४
५.धुलिखेल नगरपालिका : २३
६.रोशी गाउँपालिका : २२
७.बेथान्चोक गाउँपालिका : २२
८.तेमाल गाउँपालिका : १८
९.नमोबुद्ध नगरपालिका : १८
१०.महाभारत गाउँपालिका : १४
११.खानीखोला गाउँपालिका : ११
१२.चौंरीदेउराली गाउँपालिका : १०
१३.भुम्लु गाउँपालिका : ३ जना