संकटमा सहयोगी स्टार
कोराना भाइरसले निम्त्याएको संकटविरुद्ध बलिउडका कलाकारले सहयोगी हात अघि बढाएका छन् ।
अक्षय कुमार
अक्षय कुमारले कोरानाविरुद्धको लडाइँमा ४० करोड रुपैयाँ दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर आफूले ४० करोड रुपैयाँ सरकारलाई सहयोग गर्ने बताएका छन् । उनले लेखेका छन्– ‘अहिले मानिसको जीवन नै अप्ठ्यारोमा परेको छ । सबैले आ–आफ्नातर्फबाट गर्न सक्नेजति गर्नुपर्छ । मैले आफ्नो बचतबाट ४० करोड रुपैयाँ प्रधानमन्त्री राहत कोषलाई दिने वचन दिएको छु । आउनुहोस्, जीवन बचाऔँ ।’ यति ठूलो धनराशि सहयोग गर्ने उनी पहिलो बलिउड स्टार हुन् ।
वरुण धव
अभिनेता वरुण धवनले पनि कोरानाविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले ८८ लाख रुपैयाँ दिने बताएका छन् । यस धनराशिमध्ये उनले ४० लाख रुपैयाँ महाराष्ट्र मुख्यमन्त्री राहत कोष र ४८ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दिनेछन् । उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्– ‘म महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई ४० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु । महोदय, हामी सबै तपाईंका साथमा छौँ ।’
साथै, उनले दोस्रो ट्वीट गर्दै लेखे– ‘प्रधानमन्त्री राहत कोषमा ४८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्छु । हामी जित्नेछौँ । देश छ र हामी छौँ ।’
प्रभास
बलिउडका ‘बाहुबली’ प्रभासले कोराना संक्रमणको संकटबाट गुज्रिरहेको आफ्नो देशलाई सहयोग गर्ने बताएका छन् । उनले कोरोनाविरुद्धको लडाइँमा ६ करोड ४० लाख रुपैयाँ दिएका छन् । यसमध्ये ४ करोड ८० लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जानेछ । त्यसै गरी, ८० लाख रुपैयाँ आन्ध्र प्रदेशको मुख्यमन्त्री राहत कोषमा जानेछ भने बाँकी ८० लाख रुपैयाँ प्रभासले तेलंगाना राहत कोषलाई दिनेछन् ।
कमल हसन
वरिष्ठ अभिनेता कमल हसनले पनि देशलाई सक्दो सहयोग गर्ने बताएका छन् । उनले आफ्नो घरलाई हस्पिटलमा परिणत गर्न सरकारसँग आग्रह गरेका छन् । उनले ट्वीट गर्दै सो आग्रह गरेका थिए । उनको त्यो ट्वीट तमिल भाषामा रहेको छ । उनले लेखका छन्– ‘आफ्नो पुरानो घर अस्थायी हस्पिटल बनाउन सरकारलाई दिन तयार छु ।’